+

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

२०८१ माघ  २८ गते १२:४४ २०८१ माघ २८ गते १२:४४
Shares
भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

अनुहारको चमक त्यसै बढ्दैन । त्यसका लागि छालालाई पोषण चाहिन्छ । पोषण प्राप्त खानपानबाट हुनसक्छ । खानपानमा पनि छालालाई पोषण दिने भनेको त्यसमा पाइने भिटामिनले हो। भिटामिन हामी खानेकुराबाट प्राप्त गर्छौं । कतिपय भिटामिन शरीरले आफैँ पनि बनाउँछ ।

हामीले दिनहुँ भिटामिनयुक्त खानेकुरा सन्तुलित रुपमा खाएमा छाला स्वस्थ रहन्छ । त्यसबाट निखार पनि आउँछ । भिटामिन ‘ए’, ‘बी कम्पलेक्स’, ‘सी’, ‘डी’ र भिटामिन‘ई’को सेवनले छाला सफा, स्वस्थ र चम्किलो हुन्छ । यी मध्ये सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने भिटामिन ‘ई’ पनि एक हो।

कतिपयले त अनुहारको चमक बढाउन भिटामिन ‘ई’ को सप्लिमेन्ट पनि लिने गर्छन् । यस्तोमा प्रश्न उठ्छ, यस्ता सप्लिमेन्टले वास्तवमै अनुहारमा चमक बढाउँछ ? भिटामिन ‘ई’ ले कसरी छालालाई राम्रो पार्छ ? जथाभावी खाँदा साइड इफेक्ट त हुँदैन ?

पहिला बुझौँ, भिटामिन ‘ई’ के हो ?

भिटामिन ‘ई’ एक प्रकारको बोसोमा घुलिने एन्टिअक्सिडेन्ट हो । जसको का ८ फरक-फरक रुप हुन्छन् । यी अलग-अलग रुपले शरीरको संयन्त्रसँग मिलेर अनेकौं काम गर्छन्।

जस्तो कि, शरीरका कोशिकाहरूलाई हानिकारक अणुहरुबाट जोगाउँछ। कोशिकाहरूले एक–अर्कासँग प्रतिक्रिया जनाउनका लागि भिटामिन ‘ई’ को उपयोग गर्छन् । यसले शरीरको रोगप्रतिरोधक क्षमतालाई बलियो बनाएर राख्छ।

यसले कोलेस्टेरोल नियन्त्रणमा राख्न प्रमुख भूमिका खेल्छ ।

भिटामिन ‘ई’ ले छालाको आर्द्रता कायम राख्ने, छालाको पुनर्निर्माण गर्ने, आर्द्रता कायम राख्ने, घाउ निको पार्ने र उमेरका कारण आउने चाउरीपन हटाउन र शरीरलाई एलर्जीबाट बचाइराख्न पनि मद्दत गर्छ ।

यसले समयभन्दा अगाबै बुढो हुने तथा सूर्यको हानिकारक अल्ट्रा भ्वायलेट किरणहरुबाट बचाउँछ ।

यो भिटामिन शरीरले आफैँ बनाउदैन । यो खानेकुराहरुबाट मात्रै शरीरले ग्रहण गर्छ ।

कस्ता खानेकुरामा पाइन्छ  भिटामिन ‘ई’ ?

पालुंगो, बन्दा, ब्रोकाउली, चम्सुर लगायतका सागसब्जीमा भिटामिन ‘ई’ पाइन्छ । साथै बादाम, ओखर, सूर्यमुखीको बीउ, आलस, घिउ, जैतुन तेल, सूर्यमुखी तेल, नरिवल तेल, किवी, आँप, मेवा र  एभोकाडो लगायतका फलफूलमा पनि पाइन्छ । सालमन, सिपी, झिंगे माछा लगायतका समुन्द्री खानेकुरामा भिटामिन ‘ई’ बढी पाइन्छ ।

भिटामिन ‘ई’ ले छाला कसरी स्वस्थ र चम्किलो बनाउँछ ?

भिटामिन ‘ई’ मा हुने एन्टिअक्सिडेन्ट गुणले छालाको बुढ्यौली प्रक्रिया ढिलो गराउन मद्दत गर्छ। एन्टिअक्सिडेन्टले छालालाई क्षति पार्ने हानिकारक पराबैजनी किरणहरु सजिलै पस्नबाट रोक्छ । धुलो-धुवाँ र अन्य प्रदूषणजन्य तत्वको सम्पर्कबाट सक्दो बचाउँछ।

त्यस्तै, यसले छालाको कोषहरुको निमार्णमा भूमिका खेल्छ । शरीरले निकाल्ने प्राकृतिक तेलको सन्तुलन कायम राख्छ । जसले छाला सुख्खा हुन दिँदैन । छालालाई हाइड्रेट गरी अनुहार तथा शरीरको छाला चम्किलो बनाउँछ।

यसमा हुने अर्को गुण भनेको यसमा एन्टिइन्फ्लामेटरी गुण हुन्छ। जसले चोटपटक लागेमा वा कुनै कारणले शरीरको कुनैपनि अंग सुन्निएमा कम गर्छ । घाउ भर्ने र निको पार्ने काम पनि गर्छ।

छालाको दाग, डण्डीफोरका दाग हटाउन पनि भिटामिन ई उपयोगी हुन्छ।

केही अध्ययनहरूले छालामा आउने समस्या कम गर्ने, सेतो दुवीको मात्रा घटाउने, छालाको क्यान्सरबाट बचाउने गरेको देखाउँछ ।

कतिपयले अनुहारको चमक बढाउन भन्दै भिटामिन ‘ई’ को सप्लिमेन्ट पनि लिने गरेको पाइन्छ ।

वास्तवमै, भिटामिन ‘ई’ को सप्लिमेन्टले अनुहारमा चमक ल्याउँछ ?

भिटामिन ‘ई’ को सप्लिमेन्ट लिँदैमा मात्र अनुहार चम्किलो हुने ग्यारेन्टी हुँदैन । सन्तुलित आहार, पर्याप्त पानी सेवन, राम्रो सुत्ने बानी, सनस्क्रिनको प्रयोग र स्वस्थ जीवनशैली अपनाउनु नै छालालाई चम्किलो बनाउनका लागि उत्तम उपाय हो। यद्यपि, यसमा हुने गुणले छालाको चमक भने ल्याउन सघाउँछ ।

के सबैलाई यो सप्लिमेन्ट आवश्यक हुन्छ ?

सन्तुलित खानेकुराबाट पर्याप्त मात्रामा भिटामिन ‘ई’ प्राप्त गर्न सकिन्छ । त्यस्तै, आजभोलि मोश्चोराइजर र सनस्क्रिनमा पनि भिटामिन ‘ई’ मिसिएको हुन्छ । यसले पनि छालालाई सुरक्षा पनि दिन्छ । छालाको चमक पनि बढाउँछ । यस्तोमा सबैलाई भिटामिन ‘ई’को जरुरी हुँदैन ।

तर, केही अवस्थामा चिकित्सकले सप्लिमेन्टको सिफारिस गर्न सक्छन् ।

जस्तो-: अत्याधिक घाममा बस्ने व्यक्ति जसको छाला घामले डढेको छ । त्यस्तै, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिका लागि पनि भिटामिन ‘ई’ को सप्लिमेन्ट दिन सकिन्छ । परिवारमा क्यान्सरका बिरामीको इतिहास, छालामा दाग, एलर्जी र बिमिरा आइरहने, सनस्क्रिन लगाउन सम्भव नहुने, प्रदूषण र घाममा बढी काम गर्ने व्यक्ति र भिटामिन ‘ई’ को कमी भएकाले सिफारिसमा लगाउन सक्छन् । यसले उनीहरुको छालालाई क्षति हुनबाट बचाउँछ । सप्लिमेन्टले छालाको सन्तुलन मिलाउन सके पक्कै पनि छालामा चमक आउँछ ।

सप्लिमेन्ट लिनुअघि चिकित्सकको सिफारिस आवश्यक छ ?

यो भिटामिन ‘ई’ मात्र होइन हरेकको सप्लिमेन्ट लिनुअघि चिकित्सको सिफारिस लिनै पर्छ । जहाँसम्म छालाको चमक र स्वस्थ राख्न भिटामिन ‘ई’ को सप्लिमेन्ट लिने कुरा छ, अन्य सप्लिमेन्टजस्तो कति मात्रा खाने ? कति समयसम्म खाने ? कति खाएमा निको गर्छ ? भन्ने ठोस कुरा मापदण्डमा अहिलेसम्म उल्लेख भइसकेका छैनन् । यसबारे अझै अध्ययन, अनुसन्धान हुन बाँकी छ ।

त्यसैले, मनलाग्दी अरुले खाएको देखेकै भरमा अनावश्यक भिटामिन ‘ई’ को सप्लिमेन्ट खानुहुँदैन । कहिलेकाहीँ जथाभावी लगाउँदा वा शरीरलाई आवश्यक भन्दा बढी मात्रामा भिटामिन ‘ई’ लिँदा रक्तस्राव वा अन्य साइड इफेक्टको जोखिम हुनसक्छ ।

साइड इफेक्ट

-छालामा रातो रगतजस्तो देखापर्नु

-श्वास फेर्न कठिन हुनु

-छाती दुख्नु,

-टाउको दुख्नु वा रिँगटा लाग्नु

-पसिना आउनु

-थकान हुनु

माथि उल्लेखित साइड इफेक्ट सबैमा देखिन्छ भन्ने हुँदैन । तर सप्लिमेन्ट लिँदा यस्तो अनुभव भएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

कस्तो अवस्थामा यो सप्लिमेन्ट लिन हुँदैन ?

-दीर्घ कलेजो रोग वा मिर्गौलासम्बन्धी समस्या भएका व्यक्ति।

-रगत पातलो बनाउने औषधिहरू खाइरहेको अवस्थामा खान मिल्दैन।

-गर्भवती वा स्तनपान गराइरहेका महिलाले बिना सल्लाह सप्लिमेन्ट लिनु हानिकारक हुनसक्छ।

-रक्तचाप र रक्तस्रावसम्बन्धी समस्या भएका ।

-शल्यक्रिया अघि र पछाडि दुई हप्ता भिटामिन ‘ई’ सप्लिमेन्ट लिनुहुँदैन ।

भिटामिन ‘ई’ सप्लिमेन्ट
डा. प्रज्ज्वल पुडासैनी
लेखक
डा. प्रज्ज्वल पुडासैनी
छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : १७६०७ एमबीबीएस, एमडी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती  कर्मचारी अस्पताल र भक्तपुरस्थित बीएससीसी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

के हो ‘साइक्लोट्रोन’ प्रविधि ? क्यान्सर बिरामीलाई के फाइदा ?

के हो ‘साइक्लोट्रोन’ प्रविधि ? क्यान्सर बिरामीलाई के फाइदा ?

जाडो मौसममा किन बढ्छ महिनावारी पीडा  ?

जाडो मौसममा किन बढ्छ महिनावारी पीडा  ?

आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

क्यान्सर रोकथाम र व्यवस्थापनमा खानपानको भूमिका

क्यान्सर रोकथाम र व्यवस्थापनमा खानपानको भूमिका

गर्भावस्थामा स्विस बल व्यायाम गर्दा नर्मल डेलिभरीको सम्भावना बढ्छ ?

गर्भावस्थामा स्विस बल व्यायाम गर्दा नर्मल डेलिभरीको सम्भावना बढ्छ ?