
काठमाडौं । गायक रामकृष्ण ढकालले २ दशकपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । यसपटक भने उनी निर्माताको रुपमा फिल्ममा फर्किन लागेका हुन् ।
उनले निर्माण गर्न लागेको फिल्मको शीर्षक ‘मालती मंगले’ राखिएको छ । छोरी रानी ढकालको नाममा राखिएको रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा फिल्म बन्न लागेको हो ।
प्रकाश पाण्डेले निर्देशन गर्ने यो फिल्मको बजेट १ करोड तय छ । स्रोतका अनुसार ढकालले यो फिल्मका लागि निर्माण इजाजत समेत लिएका छन् । जसमा रामकृष्ण र नीलम शाह ढकाललाई निर्माताको रुपमा राखिएको छ ।
ढकालले २ दशकअघि गोपाल कर्माचार्यले निर्माण गरेको फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए । यो फिल्मलाई उनकै बायोपिक फिल्म समेत बताइएको थियो । यसमा उनको सांगीतिक करिअरको यात्रालाई चित्रण गरिएको थियो ।
उनको नयाँ फिल्म ‘मालती मंगले’को कास्ट एण्ड क्रूबारे विस्तृत बताइएको त छैन तर, यो निकै रोचक हुने पक्का छ । ‘मालती मंगले’ माधव घिमिरेले लेखेको चर्चित काव्य हो । तर, यसबारेमा फिल्म बन्न लागेको हो कि होइन, त्यो चाहिँ खुलेको छैन ।
प्रतिक्रिया 4