+
+
Shares

एक वर्षमा कर्णाली प्रदेशबाट ४ अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी   

कर्णाली प्रदेशबाट गत आवमा चार अर्ब रुपैयाँ बढीको खाद्यान्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको छ ।

रासस रासस
२०८१ माघ २८ गते १२:४८

२८ माघ,  सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब रुपैयाँ बढीको खाद्यान्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका १० जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यान्न, फलफूल तथा खसी बोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यान्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तु निकासी हुने गरेको छ ।

यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौं, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।

उनका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा बर्सेनि करिब दुई अर्ब रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्रयाएको थियो । भने गत आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको उनले बताए ।

यसैगरी, पशुपन्छीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपन्छी अन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपन्छी निर्देशनालयले जनाएको छ ।

वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्यांक छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेको छ ।

दूधमा अनुदान दिएपछि उत्पादनमा वृद्धि    

कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई दूधमा अनुदान दिँदै आएको छ । माथिल्लो कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले उत्पादन गर्ने दूधको लागि लिटरमा १० रुपैयाँ र तल्लो कर्णालीका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दूधमा लिटरमा ५ रुपैयाँ अनुदान दिँदै आएको छ । जसले गर्दा किसान पशुपालन व्यवसाय आकर्षित हुन थालेका हुन भने दूधको उत्पादनमा समेत वृद्धि भएको छ ।

अहिले कर्णालीमा खपत भएर पनि वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता कठायतले भने, ‘विगतमा माथिल्लो कर्णालीमा पाउडर दूधको प्रयोग हुने गरेको थियो । जव प्रदेश सरकारले दूधमा अनुदान दिन थाल्यो अहिले दूध उत्पादनमा वृद्धि भएको छ, अब प्रदेश करिब दूधमा आत्मनिर्भर हुँदै गएको छ ।’

प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै व्यवसाय गर्ने किसानका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको कठायतले जानकारी दिए । प्रदेश सरकारले व्यवसाय गर्ने किसानको लागि ब्याज अनुदानदेखि उत्कृष्ट किसान पहिचान गरी पुरस्कृत गर्ने गरेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?