
२८ माघ, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार भएको देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ पहिलो त्रैमास (साउन–असोज) सम्म प्रतिसेयर आम्दानी १९.९५ रुपैयाँ थियो । दोस्रो त्रैमास पुग्दा यस्तो आम्दानीमा सुधार भई २२.१९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
गत आव २०८०/८१ मा समग्र अर्थतन्त्रमा आएको मन्दी, उद्योगमा निरन्तरको विद्युत् कटौती लगायत कारण प्रतिसेयर आम्दानी खस्किएकोमा चालु आव पहिलो त्रैमासबाटै यसमा उल्लेख्य सुधार हुँदै गएको देखिएको छ ।
सिमेन्ट सहित अन्य उत्पादक कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष पनि सुधार हुन सकेको छैन । रिलायन्सले भने यस वर्ष निरन्तर सुधार गर्दै गएको देखिएको छ ।
सुनसरी इटहरी–१२ खनारस्थित रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट निर्यातकर्ताका रूपमा सम्मानित हुँदै आएको छ । २०८०/८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएको भन्दै रिलायन्सले अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
रोजगारदाता उद्योगका रूपमा रिलायन्सलाई समुद्रपार निकासी पैठारी संघले उक्त सम्मान गरेको थियो । रिलायन्सले औद्योगिक व्यवसाय ऐन २०४९ बमोजिम चैत २०५१ मा दर्ता भई साउन २०५४ देखि उत्पादन थालेको थियो । गोल्यान र एमएस गु्रपको संयुक्त लगानी तथा सुपरीवेक्षणमा सञ्चालित उद्योगले यस आवमा निर्यात वृद्धि हुने अपेक्षा राखेको छ ।
कम्पनीले उच्च आत्मविश्वास साथ औद्योगिक इमान्दारिता कायम राख्दै ग्राहक माग अनुसार उच्च गुणस्तरीय धागो उत्पादन गरिरहेको जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दै उद्योगले आफ्नो उत्पादन र सेवा स्तरमा सुधार ल्याइरहेको समेत जनाएको छ । रिलायन्स स्पिनिङ मिल्सले ग्राहकको आवश्यकता र सन्तुष्टिलाई प्राथमिकता दिएको उल्लेख गरेको छ । विश्व बजारमा प्रभावकारी प्रतिस्पर्धा गर्न कम्पनीले पछिल्ला प्रविधिमा जोड दिएको जनाएको छ ।
रिलायन्सले व्यावसायिक गतिविधि र सामाजिक जिम्मेवारी सँगसँगै चलाएर देशको औद्योगिक क्षेत्रमा महत्त्वपूर्ण स्थान हासिल गरेको जनाएको छ । रिलायन्सको वार्षिक उत्पादन क्षमता करिब ४८ हजार ९ सय ६० टन बराबर छ ।
उद्योगले २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष श्रमिक–कर्मचारीले करिब चार महिनाको पारिश्रमिक बोनस पाएका थिए ।
आव २०७८/७९ मा यो नाफा १ अर्ब ४ करोड पुगेको थियो । उक्त वर्ष कम्पनीले श्रमिकलाई ५.३० महिनासम्मको बोनस दिएको थियो । २०७९/८० मा १ अर्ब १ करोड नाफा कमाउँदा श्रमिकले ४.५ महिनाको बोनस पाएका थिए ।
उद्योगमा अहिले ४ हजार कर्मचारी प्रत्यक्ष काम गर्दै आएका छन् । जसमा १ हजार ५ सय ५० महिला छन् । यो उद्योग नेपालमा सबैभन्दा बढी रोजगार प्रदान गर्ने प्रतिष्ठान हो । कम्पनीले एकै छतमुनि हजारौं श्रमिकलाई सामूहिक तथा पारिवारिक आवास सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।
रिलायन्सबाट उत्पादन भएको वस्तु स्वदेश र विदेशका बजारमा निर्यात हुन्छ । यस उद्योगको उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा स्वदेशमा खपत हुने गर्छ । ७० देखि ७५ प्रतिशत हिस्सा भारत, टर्की लगायत देश निर्यात गर्छ ।
यो उद्योगले नेपालको कुल निर्यातमा उल्लेखनीय योगदान पुर्याउँदै २०७७/७८ मा ४ प्रतिशत, २०७८/७९ मा ३ प्रतिशत र २०७९/८० मा ४.६१ प्रतिशत योगदान गरेको थियो ।
रिलायन्सले विद्युत् शुल्क मासिक सरदर ६ करोड तिर्दै आएको छ । श्रमिक कर्मचारीको तलब भुक्तानी मासिक करिब साढे ६ करोड रहेको कम्पनीले जनाएको छ ।
रिलायन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि समेत गर्दै आएको छ । मिल्समा कार्यरत श्रमिकका करिब २ सय जना छोराछोरीलाई पठनपाठन सामग्री वितरण गर्ने गरिएको छ ।
साथै, वार्षिक छात्रवृृत्ति कार्यक्रम सञ्चालन गरिन्छ । यस कार्यक्रम मार्फत करिब १ सय श्रमिकका छोराछोरीलाई मासिक १ हजार रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरिन्छ । यसले कम्पनीमा कार्यरत श्रमिकका परिवारका लागि ठूलो राहत पुर्याएको कम्पनीको भनाइ छ ।
रिलायन्सका श्रमिकका लागि क्यान्टिनको व्यवस्था गरिएको छ । जहाँ सहुलियत मूल्यमा गुणस्तरीय खानपान उपलब्ध गराइएको छ । विभिन्न तालिम कार्यक्रम आयोजना गर्दै श्रमिकको दक्षता वृद्धिका लागि कम्पनीले पहल गर्दै आइरहेको छ ।
सीटीईभीटी मार्फत नेपाल धागो उत्पादनसँग सहकार्य गरेर तालिम कार्यक्रम सञ्चालन गरेर श्रमिकलाई प्राविधिक दक्षता र मेसिन अपरेटरका रूपमा विकास गर्ने समेत कम्पनीले जनाएको छ ।
श्रमिकका लागि सामाजिक सुरक्षा व्यवस्था पनि गरिएको छ । मिल्सले उत्कृष्ट श्रमिकलाई नगद पुरस्कार र प्रमाणपत्र समेत दिने गरेको छ । मिल्सका श्रमिकको जीवनस्तर सुधार्न पारिवारिक आवासको पनि व्यवस्था गरिएको छ । करिब २ हजार कामदारका लागि परिसरभित्रै आवासको व्यवस्था मिलाउने काम गरी रिलायन्सले श्रमिकका परिवारलाई स्थिरता र सुरक्षा प्रदान गरेको जनाएको छ ।
स्थानीय स्तरमा पनि उद्योगले निरन्तर सहायता उपलब्ध गराएको जनाएको छ । मिल्स आसपास बस्तीमा शुद्ध पिउने पानी सुविधा उपलब्ध गराइएको र स्थानीय रेडक्रस खनार शाखालाई नयाँ एम्बुलेन्स खरिद गरी दिइएको उद्योगले जनाएको छ ।
त्यस्तै स्थानीय विद्यालय भवन निर्माणमा आर्थिक सहयोग, शिक्षक व्यवस्थापनमा मासिक सहयोग र स्थानीय क्लबहरूको भवन निर्माणमा मद्दत गरिएएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4