+
+
Shares

भ्वाइसमा पछिल्लो सप्ताहन्त दमदार प्रस्तुति, कसले चारै कुर्सी घुमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १७:४०

काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ रोचक बनिरहेको छ । पछिल्लो सप्ताहन्त पनि ब्लाइन्ड अडिसनको एपिसोड ७ र ८ मा ट्यालेन्टले उत्कृष्ट प्रस्तुति दिए ।

एपिसोड ७ को सुरुवात झापाका ३० वर्षीय सुशील खड्काबाट सुरु भयो । उनले कालीप्रसाद बास्कोटाको गीत ‘हेरी रहन देऊ’ प्रस्तुत गरे, जसले कोच उदय सोताङलाई कुर्ची घुमाउन बाध्य तुल्यायो ।

सो एपिसोडमा ८ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिए, जसमा २ जना बाहिरिए भने ५ जना छनोट भए । चारै कोचको कुर्ची घुमाउन सफल भएका झापाका २७ वर्षीय आलम आदेश थिए, उनले जोन राईको चर्चित गीत ‘के गरुँ’ प्रस्तुत गरेर सबैको मन जिते ।

आफू संगीतको लागि बनेको भनेर अगाडी बढी रहेका आलम भन्छन, ‘मैले अरु ठाउँमा पनि काम गर्ने कोसिस गरेँ ,संगीतजस्तो आनन्द कहिँ आएन । संगीतमै लागेको कारण ७ वर्षको प्रेमसम्बन्ध पनि छोड्नु प¥यो । त्यसैले जसरी भएपनि केही गर्नु छ ।’ संगीतमा भविष्य बनाउने सोचले लागेका आलमले कोच खेमको टिमलाई रोजे ।

भोजपुरका २३ वर्षीय प्रतीक राईले सविन राईको ‘आफ्नो कथा’ गीत प्रस्तुत गर्दै चारै कोचको मन जिते । यद्यपि, कोच मेलिनालाई ब्लक गरिएकोले उनी कुर्सी घुमाउनबाट बञ्चित भइन् । अन्ततः प्रतिकले कोच उदयको टिम रोजे । यस एपिसोडमा अन्य छनोट हुने प्रतिस्पर्धीमा झापाका अभिषेक राई, काभ्रेपलाञ्चोककी योजना खड्गी र महोत्तरीकी रेश्मी कुमारी मगर परे ।

शनिबार प्रसारित एपिसोड ८ कोच खेम सेन्चुरीको पक्षमा रह्यो । एपिसोड सुरुवात झापाकी जस्मिन बरालको प्रस्तुतिबाट भयो । उनले रचना दाहालको गीत ‘आज्ञा’ गाएर दमदार प्रस्तुति दिइन् । कोच खेम सेन्चुरीको टिममा स्थान सुरक्षित गरिन् ।

यो एपिसोडमा पनि ८ प्रतिस्पर्धीले प्रस्तुति दिए, जसमा २ जनाले चारै कोचको कुर्ची घुमाउन सफल भए । १ जना बाहिरिए । चारै कोचको कुर्ची घुमाउन सफल प्रतिस्पर्धीमध्ये धनगढीका २२ वर्षीय आशिष चापागाईं थिए । उनले एड्रिन प्रधानको गीत ‘पहिलो जुनीमा’ गाएर सबैको मन जिते ।

केही सेकेन्डमै कोच राजु लामाले कुर्ची घुमाएका थिए, जसलाई उत्कृष्ट प्रस्तुति मानियो । आशिषले अन्ततः कोच उदयको टिम रोजे ।

डडेल्धुराका २१ वर्षीय प्रज्वल कार्कीले कालीप्रसाद रिजालको ‘वनै खायो डढेलोले’ गीत गाएर चारै कोचको कुर्सी घुमाए । सानैदेखि संगीतमा रुचि राख्ने प्रज्वल कोच खेम सेन्चुरीको टिम रोजे । छनोट हुने अन्य प्रतिस्पर्धीमा बाजुराकी प्रबिन्धा सुनार, भारतको जलपाईगुडीकी भारतकी प्रियंका थापा, सुनसरीका नविन दर्नेल र पाल्पाका प्रनिप बराल मगर छन् ।

अबका एपिसोडमा झन् रोमाञ्चक प्रस्तुति आउने देखिएको छ, जसले दर्शकलाई अझ उत्साहित बनाउनेछ । ‘द भ्वाइस अफ नेपाल सिजन ६’ हिमालय टिभी एचडीमा प्रसारण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?