२८ माघ, काठमाडौं । पोखराको सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट सहिद स्मारक बी डिभिजन लिग खेल्ने भएका छन् ।
एन्फाको आयोजनामा आगामी फागुन अन्तिम सातादेखि काठमाडौंमा बी डिभिजन लिग सुरु हुँदैछ । त्यही लिगमा लागि सोमबार पोखरा रंगशालमा आयोजित एक कार्यक्रमकाबीच सहारा क्लबले ब्रिगेड ब्वाइजलाई खेलाडी हस्तानतरण गरेको हो ।
अब सहारा एकेडेमीका विशाल नेपाली, सन्तोष शाही, मुकुन्द कुमार निउरे, भागवत चौधरी, अभिषेक राना र अशोक रेग्मीले ब्रिगेड ब्वाइजबाट बी डिभिजन लिग खेल्नेछन् । सहाराका अध्यक्ष केशब राज बरालले बीबीसीका अध्यक्ष धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे ।
६ खेलाडी मध्ये अशोक गोलकिपर, विशाल र सन्तोष डिफेन्डर, मुकुन्द कुमार निउरे र भागवत मिडफिल्डर तथा अभिषेक फरवार्ड हुन् । उनीहरुले अहिले भइरहेको २४औं आहारारा पोखरा गोल्डकप सहारा क्लबबाटै खेलेका थिए । तर सहारा पहिलो खेलमै नेपाल पुलिस क्लबसँग पराजित हुँदै बाहिरिएको थियो ।
खेलाडी हस्तानतरण सम्बन्धी दुई क्लबले सम्झौता गरेका छन् । सम्झौताअनुसार खेलाडी दिएबापत ब्रिगेड ब्वाइजले सहारालाई नगद २ लाख रुपैयाँ दिने छ । यस्तै लिगका अवधिमा ब्रिगेड ब्वाइजले खेलाडीहरुलाई सेवा सुविधा दिनेछ भने खेलका दौरान खेलाडी घाइते भए त्यसको उपचार पनि ब्रिगेड ब्वाइजले नै व्यहोर्नेछ ।
सहाराका उपाध्यक्ष पूर्ण बहादुर गुरुङले एकेडेमीका खेलाडीले बी डिभिजन लिग खेल्न पाउनु राम्रो भएको भन्दै यसले खेलाडी उत्पादनमा आफूहरुलाई अझ हौसला मिल्ने बताए ।
यसैगरी अखिल नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एकेडेमीले उत्पादन गरेको खेलाडीले बी डिभिजन लिग खेल्न पाउनु खुसीको कुरा भएको बताए ।
प्रतिक्रिया 4