
२८ माघ, काठमाडौं । सरकारले निजी क्षेत्रको लगानीमा बन्ने सिक्लेस अन्नपूर्ण केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेको छ ।
राष्ट्रिय योजना आयोगको २४ माघमा बसेको बैठकले उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कास्कीको मादी गाउँपालिका वडा नम्बर १ र २ मा बन्ने प्रस्ताव गरिएको ६.४१६ किलोमिटर लम्बाइको सिक्लेस अन्नपूर्ण केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न आयोगमा अनुरोध गरेको थियो ।
आयोजनालाई वन क्षेत्रको जग्गा भोगाधिकारका लागि यस्तो आयोजनामा समावेश गरिएको समेत आयोगले जनाएको छ । यो आयोजनालाई औद्योगिक व्यवसाय ऐन २०७६ ले नियमन गर्ने र सोही अनुसार केबुलकारलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिएको समेत आयोगको भनाइ छ ।
सिक्लेस अन्नपूर्ण केबुुलकार प्रालिले सिक्लेसमा केबुलकार बनाउँदै छ । केबुलकारको तल्लो स्टेसन कास्की मादी गाउँपालिका–१ र माथिल्लो स्टेसन सोही गाउँपालिका–२ मा रहने भएको छ ।
सिक्लेस गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँ हो । यहाँ झन्डै ७ अर्ब लागतमा केबुलकार बनाउने योजना छ । वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अनुसार यो आयोजनामा झन्डै ३ हजार ८ सय १ वटा रुख र पोल काट्नुपर्छ ।
प्रतिक्रिया 4