+
+
Shares
विचार :

ग्यास सिलिन्डर आफैं पड्किँदैन

सिलिन्डर निर्माण गर्दा यसको वर्किङ प्रेसरभन्दा दुई गुणा अर्थात् २ सय प्रतिशत बढी क्षमताको पाताले सिलिन्डर बनाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने सिलिन्डर आफैं पड्कदैन ।

किशोरकुमार भट्टराई किशोरकुमार भट्टराई
२०८१ माघ २९ गते ८:०५

नेपालमा खाना पकाउने एलपी ग्यास (तरलीकृत पेट्रोलियम ग्यास) को आधिकारिक आयातकर्ता नेपाल आयल निगममात्र हो । निगमले ग्यास उद्योग व्यवस्थित गरी ग्यास सर्वसुलभ बनाउन ‘एलपी ग्यास विक्रेता विनियमावली २०६५’ जारी गरी आधिकारीक विक्रेता मार्फत नेपालमा ग्यास बिक्री वितरण गर्दै आएको छ ।

यसको अनुगमन र नियन्त्रण आयल निगम आफैंले गर्छ । नेपालमा प्रयोग गरिने एलपी ग्यासमा ‘प्रोपेन’ र ‘बुटेन’ को मात्रा मिश्रण हुन्छ । बुटेन गर्मी ठाउँमा राम्रोसँग बल्छ । प्रोपेन चिसो ठाउँमा पनि राम्रोसँग बल्छ । चिसो र तातो दुवै मौसममा समान किसिमले बल्न यसमा यी दुवै पदार्थको सम्मिश्रण गरिएको हुन्छ ।

ग्यास सिलिन्डरको ८५ प्रतिशत भागमा तरल पदार्थ अर्थात् तरल ग्यास भरिएको हुन्छ । १५ प्रतिशत भाग ग्यास बन्न छुट्याइएको हुन्छ । सिलिन्डरमा ग्यास उत्पादनभन्दा बढी खपत गरेको अवस्थामा सिलिन्डरको बाहिरी भागमा आइस जम्छ ।

नेपालका सहर तथा ग्रामीण भेगमा समेत खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने गरेको पाइन्छ । यसको बजार दिनहुँ बढ्दै गइरहेको छ । पछिल्लो १० वर्षयता ग्यास आयात तीन गुणाले बढेको आयल निगमको तथ्यांकले देखाउँछ । नेपालमा हाल करिब ६२ ग्यास रिफिलिङ प्लान्ट सञ्चालनमा छन् । तीमध्ये ४६ ले मात्र नेपाल गुणस्तर प्रमाण चिह्न पाएका छन् ।

ग्यास अत्यधिक प्रज्वलनशील पदार्थ हो । हरेक घरको भान्सा पुग्ने ग्यास सुरक्षाबारे धेरै कमलाई मात्र जानकारी छ । प्रायः सबै उपभोक्ताको मनमा रहेको डर ग्यास सिलिन्डर पड्किन्छ भन्ने हो । ग्यास सिलिन्डर आफैं पड्किँदैन । असुरक्षित प्रयोग गरियो भने वा अन्य कुनै विशेष अवस्था आएमात्र यो विस्फोट हुन सक्छ ।

विशेष अवस्था भन्नाले सिलिन्डरमा अत्यधिक दबाब परे, ग्यास चुहावट भए वा सिलिन्डरलाई आगोले भेटेको अवस्थालाई बुझिन्छ । यसलाई अग्रेजीमा ‘बीएलईभीई’ भनिन्छ । बी भनेको बोइलिङ (उम्लिनु), एल भनेको लिक्विड (तरल), ई भनेको एक्स्पान्डिङ (विस्तार), भी भनेको भेपोर (वाष्प) र ई भनेको एक्स्प्लोजन (विस्फोट) हो । यसको अर्थ उम्लिँदो तरल विस्तारबाट हुने वाष्प विस्फोट हो ।

यसको प्रयोग, ढुवानी (ओसार पसार) र भण्डारणमा गरिने लापरबाही अझ भनौं सिलिन्डरप्रति गरिने दुर्व्यवहारका कारणमात्र सिलिन्डर पड्किन्छ । हामी हाम्रो असावधानी, लापरबाही, गल्ती र सुरक्षा मापदण्ड पालना नगरी उपयोग, ढुवानी र भण्डारणका कारण पड्किएको ग्यासको दोष सिलिन्डरलाई दिएर आफू पानीमाथिको ओभानो भइराखेका छौं ।

आयल निगमको तथ्यांक अनुसार नेपालमा हालसम्म १ करोड २५ लाख हाराहारी ग्यास सिलिन्डर छ । सिलिन्डर आफैं पड्किने हो भने यत्रो संख्यामा भएको सिलिन्डर दिनहुँ पड्किनुपर्ने हो । किन हामी कहिलेकाहीँ मात्र सिलिन्डर पड्केको समाचार सुन्छौं । किनकि, सिलिन्डर निर्माण गर्दा नै दोहोरो सुरक्षा अवधारणा अपनाइएको हुन्छ ।

सिलिन्डर सुरक्षाका लागि निर्माता कम्पनीले नै ग्यारेन्टी गरेको हुन्छ । जुन कुरा सिलिन्डरमा उल्लेख गरिएको हुन्छ । सिलिन्डरमा भएको रिङ तीन वटा पातामा अडिएको हुन्छ । यो पातालाई डाटा प्लेट भनिन्छ । यस प्लेटमा सिलिन्डर सम्बन्धी विवरण उक्त पातामा कुँदिएर लेखिएको हुन्छ । सिलिन्डर बनेको वर्ष, सिलिन्डर प्रयोग अवधि म्याद उल्लेख गरिएको हुन्छ ।

त्यसैगरी सिलिन्डर उत्पादक कम्पनीको नाम र लोगो हुन्छ । यसमा ग्यास भर्ने कम्पनीको नाम र लोगो । सिलिन्डरको सिरियल नम्बर । सिलिन्डर जाँच गरिएको मिति । सिलिन्डरको खाली तौल । यसमा भरिने ग्यासको तौल । सिलिन्डरमा पानी अट्ने क्षमता जसबाट सिलिन्डरमा कति ग्यास अट्छ भन्ने हिसाब निकाल्न सकिन्छ । काम सकिएपछि रेगुलेटर बन्द गर्नुपर्ने आदि ।

ग्यास सिलिन्डर सुरुमा १० वर्ष प्रयोग गर्न सकिन्छ । त्यसपछि कम्पनीले सिलिन्डरको ‘हाइड्रो स्ट्याटिक्स टेस्ट’ (सिलिन्डरमा पानी सहित हावाले प्रेसर दिएर फुलाएर गरिने परीक्षण) गर्दा सिलिन्डर पड्किएन भने पुनः ५ वर्षका लागी यो सिलिन्डर प्रयोग योग्य हुन्छ ।

सिलिन्डरको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसार जुनसुकै प्रकारको सिलिन्डर एक ठाँउमा मात्र ‘ज्वाइन्ट’ (जोडेको) हुनुपर्दछ । हाई प्रेसर ग्यास स्टोर गर्ने सिलिन्डरमा विनाज्वाइन्टको सिलिण्डर हुनुपर्दछ । जस्तै, अक्सिजन र कार्बनडाइअक्साइड सिलिन्डरमा कही पनि जोडाइ हुँदैन । ग्यास सिलिण्डर ‘सबमज्र्ड आर्क वेल्डिङ प्रोसेस’ बाट वेइल्डिङ गरिएको हुन्छ । यो वेल्डिङ सिलिन्डरको पाताभन्दा पनि बलियो हुन्छ । जुन अटोमेटिक वेल्डिङ विधिबाट गरिन्छ ।

हामीकहाँ ग्यास उपभोक्तालाई यसको सुरक्षा सम्बन्धी कुनै पनि प्रकारको जानकारी ग्यास विक्रेताले दिने गरेको पाइँदैन । ग्यास विक्रेता आफैं पनि ग्यास सुरक्षा सम्बन्धी तालिम प्राप्त छैनन् ।

सुरक्षाका लागि सिलिन्डरको प्रेसरलाई वर्किङ प्रेसर, टेस्टिङ प्रेसर र ब्रस्टिङ प्रेसर गरी तीन भागमा बाँडिएको हुन्छ । ग्यास सिलिन्डरले जति प्रेसरमा काम गर्छ, त्यसको १ सय ५० प्रतिशत बढी क्षमताको प्रेसरमा सिलिन्डर टेस्ट गरिन्छ । सिलिन्डर निर्माण गर्दा यसको वर्किङ प्रेसरभन्दा दुई गुणा अर्थात् २ सय प्रतिशत बढी क्षमताको पाताले सिलिन्डर बनाइन्छ ।

यसबाट के प्रष्ट हुन्छ भने सिलिन्डर आफैं पड्किँदैन । हामीले प्रयोग गर्दा सुरक्षा सावधानी नअपनाउँदा आगलागी हुन्छ । सिलिन्डर आगलागी भएको स्थानमा रहँदा आगोका कारण सिलिन्डरभित्र रहेको तरल ग्यासको तापक्रम बढ्छ र सिलिन्डर पड्किन्छ ।

हामीकहाँ ग्यास उपभोक्तालाई यसको सुरक्षा सम्बन्धी कुनै पनि प्रकारको जानकारी ग्यास विक्रेताले दिने गरेको पाइँदैन । ग्यास विक्रेता आफैं पनि ग्यास सुरक्षा सम्बन्धी तालिम प्राप्त छैनन् । ग्यास बिक्री स्थलमा अग्नि नियन्त्रण औजार उपकरण ‘फायर एक्सटिन्गुइसर’ सहित सुरक्षा व्यवस्था छैन । ग्यास डिपो राख्ने मापदण्ड पनि छैन । घना बस्तीबीच आवासीय घरमा ग्यास डिपो हुन्छन् ।

घरको भुइँ तलामा ग्यास गोदाम र माथिल्लो तलामा मान्छे बस्ने गरेको पाइन्छ । यसबाट ग्यासको सुरक्षा संवेदनशीलता र हाम्रो चेतनास्तर प्रष्ट हुन्छ । कुन स्थानीय तहमा कहाँ कति वटा ग्यास डिपो छन्, ती ग्यास डिपोले कति संख्यामा सिलिन्डर भण्डारण गर्छन, मासिक कति खपत हुन्छ, यसबाट त्यस क्षेत्रमा कस्तो अग्नि जोखिम हुन्छ, यस्तो जोखिम न्यूनीकरण गर्न के कस्तो कार्यक्रम ल्याउनुपर्छ भन्ने तथ्यांक र योजना हामीसँग छैन ।

संसारभरि नै एलपी ग्यासलाई सुरक्षित ग्यास मानिन्छ । यो ग्यास हावाभन्दा गह्रुँगो हुन्छ । सिलिन्डरमा भएको ‘सेफ्टी क्याप’ ले १८ किलो प्रेसर थेग्न सक्छ । जबकि, सिलिन्डरमा ८ देखि १० किलोमात्र ग्यास भरिन्छ ।

सुरक्षाका लागि उपभोक्ताले सिलिन्डर खरिद गर्दा सिलिन्डरको म्याद तथा यसको भौतिक अवस्थाको सूक्ष्म जाँच गर्नुपर्छ । आगलागी जोखिमबाट बच्न भान्सामा खाना पकाउने काम सकिएपछि अनिवार्य रेगुलेटर बन्द गर्नुपर्छ, जुन कुरा सिलिन्डरमा नै लेखिएको हुन्छ । अधिकांश उपभोक्ताले रेगुलेटर बन्द गर्ने गरेको पाइँदैन । यसका कारणबाट पनि आगलागी हुने गरेको छ ।

एलपी ग्यासको आफैंमा कुनै रङ र गन्ध हुँदैन । ग्यास लिक (चुहिएको) थाहा पाउन सुरक्षाका लागि ग्यासमा ‘इथाइल मर्काप्टन्स’ गन्ध आउने रसायन मिसाइन्छ । संसारभरि नै एलपी ग्यासलाई सुरक्षित ग्यास मानिन्छ । यो ग्यास हावाभन्दा गह्रुँगो हुन्छ । सिलिन्डरमा भएको ‘सेफ्टी क्याप’ ले १८ किलो प्रेसर थेग्न सक्छ । जबकि, सिलिन्डरमा ८ देखि १० किलोमात्र ग्यास भरिन्छ ।

सिलिन्डरको भल्भ लिक भए यो क्याप प्रयोग गरी लिक रोक्न सकिन्छ । पर्याप्त मात्रामा अक्सिजन नपाइ एलपी ग्यास बल्दैन । घरमा ग्यास लिक भएको थाहा पाउनासाथ बिजुली बत्ती, सलाइ, लाइटर बाल्नु हुँदैन । कोठाको झयाल ढोका खुला गरी हावा आउने जाने व्यवस्था गर्नुपर्छ । हावामा ५ प्रतिशतभन्दा बढी एलपीजी मिसिए आगो बल्छ ।

ग्यास सिलिन्डरको म्याद (एक्सपाइरी डेट) कसरी थाहा पाउने ?

ग्यास सिलिन्डरको रिङ तीन वटा पातामा जोडिएको हुन्छ, जसलाई डाटा प्लेट भनिन्छ । ती पातामध्ये एउटामा अंगे्रजी अक्षर एबीसीडी मध्ये एक र अंग्रेजीको दुई अंक लेखिएको हुन्छ, जसले अंग्रेजी महिनाको क्वार्टर अर्थात् तीन महिना र ईस्वी सम्वत् वर्ष संकेत गर्दछ ।

एलपी ग्यासमा खाना पकाउने क्रममा सिलिन्डरको भल्भ, रेगुलेटर, पाइप र चुल्होसम्मको कुनै पनि भागमा ग्यास चुहिएर आगलागी हुन सक्छ । आगलागी भए आत्तिनु हुँदैन । संयम अपनाइ आगोसँग प्रतिकार्य गर्नुपर्छ ।

बाँकी दुई पातामा सिलिन्डर निर्माताको नाम र लोगो, ग्यास भर्ने उद्योगको नाम र लोगो, सिलिन्डरको सिरियल नम्बर, सिलिन्डर जाँच गरिएको मिति लगायत प्राविधिक जानकारी उल्लेख गरिएको हुन्छ ।

एलपी ग्यासमा खाना पकाउने क्रममा सिलिन्डरको भल्भ, रेगुलेटर, पाइप र चुल्होसम्मको कुनै पनि भागमा ग्यास चुहिएर आगलागी हुन सक्छ । आगलागी भए आत्तिनु हुँदैन । संयम अपनाइ आगोसँग प्रतिकार्य गर्नुपर्छ ।

सुरुवाती आगोमा आत्तिएर भागदौड गर्दा अर्को दुर्घटना पनि हुन सक्छ । त्यही आगो फैलिएर ठूलो मात्रामा जनधन क्षति हुन्छ । त्यसैले यस्ता आगो निभाउने विधिबारे जानकार हुनुपर्छ । आगलागी विपद्पूर्व नै आफूलाई आगलागीसँग लड्न सक्ने गरी तयारी गर्नुपर्छ । विपद् सम्बन्धी ज्ञान नै विपद्को समाधान हो ।

ग्यास सिलिन्डर लडाएर वा घोप्टाएर कहिल्यै प्रयोग गर्नु हुँदैन । एलपी ग्यास अत्यधिक चाप दिई सिलिन्डरमा भरिएको हुन्छ । चापका कारण ग्यास तरलमा परिणत हुन्छ । यदि सिलिन्डर लडाएर वा घोप्टाएर प्रयोग गरे चुल्होमा ग्यास होइन तरल पदार्थ नै जान्छ, जसले गर्दा रेगुलेटरले तरल ग्यासलाई नियन्त्रण गर्न सक्दैन । हाई प्रेसरमा तरल ग्यास जाँदा आगलागी हुन्छ ।

ग्यास सिलिन्डरलाई कहिल्यै पनि लडाउन, गुडाउन वा अनावश्यक हल्लाउन हुँदैन । सिलिन्डर ढुवानी गर्दा सिलिन्डरमा बल पर्ने गरी वा कुच्चिने गरी फ्याँक्नु हुदैन । यसो गर्दा सिलिन्डरको प्रेसर थेग्ने क्षमता घट्छ ।

ग्यास आगलागी हुने क्षेत्र भनेको सिलिन्डरदेखि चुल्होसम्मको भाग हो, जसमा आगोको स्रोतका रूपमा सिलिन्डर हुन्छ । सिलिन्डरमा ‘प्रेसर रिलिज भल्भ’ (पीआरभी) । यसबाट रेगुलेटर जोडेर पाइपका माध्यमबाट चुल्होसम्म ग्यास पुग्छ । सिलिन्डरदेखि चुल्होसम्म ६ वटा बिन्दुमा आगलागी हुने सम्भावना रहन्छ । त्यो बिन्दु भनेको भल्ब, रेगुलेटर, पाइप र चुल्होको भाग हो ।

त्यसैले आगलागीबाट बच्न ‘एनएस चिह्न’ प्राप्त वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय रेगुलेटर र तीन लेयर पाइप प्रयोग गर्नुपर्छ । ग्यासको पाइप ६/६ महिनामा जाँच गर्ने र दुई वर्षमा पाइप अनिवार्य फेर्नैपर्छ । ग्यासको पाइप १.५ मिटरभन्दा लामो प्रयोग गर्नु हुँदैन । रेगुलेटर प्रत्येक पाँच वर्षमा फेर्नुपर्छ । चुल्हो अनुसार हाई वा लो प्रेसरको रेगुलेटर प्रयोग गर्नुपर्छ ।

ग्यास दुर्घटनाबाट बच्न उपभोक्ताले कुच्चिएको, खिया लागेको, रङ खुइलिएको र म्याद नाघेको सिलिन्डर भए अस्वीकार गर्नुपर्छ । जुन कुरा उपभोक्ताको अधिकार र सुरक्षाको सवाल हो । सुरक्षाका लागि सिलिन्डर चुल्होभन्दा माथि राखेर प्रयोग गर्नु हुँदैन । ग्यास आगलागी हुनुपूर्व पाइप रेगुलेटर वा चुल्होको ‘नब’ ले केही संकेत गर्छ । त्यस्तो संकेत बुझ्न ग्यास डिपोवालासँग सोध्नुपर्छ । तालिम प्राप्त डिपोवालाले मात्र सही सल्लाह दिन सक्छन् ।

सिलिन्डर लिँदा तौल गर्नुपर्ने कानुनी प्रावधान भए पनि हालसम्म डिपोवालाले सिलिन्डर जोखेर दिने गरेको पाइँदैन । उपभोक्ताले पनि जोखेर मागेको देखिँदैन । सिलिन्डरमा उल्लेख भएको मात्रामा ग्यास छ कि छैन भन्ने कुरा थाहा पाउन अनिवार्य जोख्नुपर्छ ।

ग्यास विक्रेता विनियमावली २०६५ मा ग्यास उपभोक्ताका लागि तेस्रो पक्ष बीमाको व्यवस्था गरेको भए पनि हालसम्म ग्यास दुर्घटनामा परेका व्यक्तिले बीमा रकम प्राप्त गर्ने कुनै कार्यविधि नभएका कारण बीमा रकम प्राप्त गर्न सकेका छैनन् । ग्यास दुर्घटना बीमा रकम उपभोक्ताले सरल र सहज पाउने व्यवस्थाका लागि आयल निगम, ग्यास विक्रेता संघ आमउपभोक्ता र सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

(लेखक भट्टराई आगलागी नियन्त्रण विज्ञ तथा प्रशिक्षक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?