
२८ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउने काम गरिरहेको छ ।
महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाइरहेको छ ।
महानगर सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म हुनेछ । फुटपाथजमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ ।
‘त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ । त्यसभन्दा माथि पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ । यो १६ मिलिमिटरसम्मको हुनेछ,’ शाक्यले भने ।
महानगरले सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिलाई ठेक्का दिएको छ । गत वर्ष ६ चैतमा महानगरले निर्माण पक्षसँग सम्झौता गरेको थियो । चालु आव माघ मसान्तसम्म सक्काउनुपर्ने सम्झौता रहेकाले अहिले धमाधम काम भइरहेको हो ।
ग्रेनाइट बिछ्याउने कामको महानगर अनुगमन समिति संयोजक रहेकी उपप्रमुख सुनिता डंगोलले अनुगमन गरिन् । फुटपाथमा गरिएको ग्रेनाइट सेटिङ निरीक्षण गर्दै उनले पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुख संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राखेकी थिइन् ।
त्यस्तै सहरी योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रिया निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।
प्रतिक्रिया 4