
२९ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँशक्ति पार्टीमा आज नेतृत्व चयन गरिँदै छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज नेतृत्व चयन गर्न लागिएको हो ।
अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो तीन बजेदेखि मतदान सुरु गर्ने तयारी छ । आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने भनिए पनि राति अबेरसम्म मनोनयन दर्ताको कार्यक्रम भएकाले समय संशोधन गरिएको हो ।
अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ ।
पार्टीका संस्थापक सदस्य चापागाईं अन्नपूर्ण गाउँपालिका-६ कास्कीका हुन् । उनको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी प्रस्तावक र कास्की-२७, पोखराका विशाल तिमिल्सिना समर्थक छन् ।
महाधिवेशनको उद्घाटन सत्रपछि आयोजित सचिवालय बैठकमा भट्टराई आफैंले नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्ने र आफू वैचारिक नेताको भूमिकामा बस्ने प्रस्ताव गरेका थिए । तर उनलाई अध्यक्ष नै रहन पार्टीका नेताहरुले सुझाव दिने गरेका छन् । त्यसैले भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिएको एक नेताले बताए ।
‘राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा अध्यक्षमा डाक्टरसाबको विकल्प छैन । त्यसैले उहाँले पनि उम्मेदवारी दिनुभएको हो,’ एक नेताले अनलाइनखबरसँग भने ।
उपाध्यक्षमा दूर्गा सोब र मानुषीको एकल उम्मदेवारी
नेसपा नयाँशक्तिको संशोधित विधान अनुसार केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चुनिने छन् । ९ जना भने मनोनीत हुनेछन् । पदाधिकारीको संख्या ११ हुनेछ ।
उपाध्यक्ष ५ जनामध्ये महिला, खसआर्य, आदिवासी जनजाति, मधेशी/थारू, दलित कोटाबाट चुनिने छन् ।
दलित उपाध्यक्षमा दूर्गा सोब र महिला उपाध्यक्षमा मानुषी यमी भट्टराइको एकल उम्मेदवारी परेको छ ।
आदिवासी जनजाती उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । जसमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बु छन् ।
मधेशी/थारु उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ ।
महासचिवमा ३ र सचिवमा ७ जनाको उम्मेदवारी
महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपाको मनोनयन दर्ता भएको छ ।
खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ । महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजाल नेपालले उम्मेदवारी दिएका छन् ।
नेसपाको विधानमा तीन सचिवमध्ये दुई खुला र एक महिलाबाट चुनिने व्यवस्था रहेको छ ।
कोषाध्यक्ष पदमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।
दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली प्रकाशित गरिने छ । त्यसपछि दिउँसो मतदान सुरु हुने अध्यक्ष मण्डलकी सदस्य दुर्गा सोबले जानकारी दिइन् ।
नेसपा नयाँ शक्तिले समावेशी समानुपातिक सिद्धान्तको आधारमा दलित, आदिवासी जनजाति, खस/आर्य, मधेशी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरेको जनाएको छ ।
प्रतिक्रिया 4