+
+
Shares

कमजोरले मात्रै विधि मान्छन्, शक्ति भएकाले पर्दैन : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १६:४५

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो संसद्‌मा हामी आफैंले विधि नमान्दा समस्या आयो भने अनेक प्रवृत्ति कसरी लागू गर्ने ?,’ शर्माले भने, ‘विधि भनेको पावरले मान्ने कुरा होइन । निर्धाले मान्ने कुरा हो । जो सँग शक्ति र पावर हुन्छ उसले विधि मान्न पर्दैन ।’

आजकै संसद्‌मा देखिएका दृश्यका कारण आफूले अन्य विषयमा बोल्ने तयारी गरेको भए पनि संसद्कै विषयमा बोल्न आवश्यक रहेको बताए ।

‘यहाँका बहसहरू, आजको कारबाही हेर्दा मलाई संसद्कै बारेमा बोल्न मन लाग्यो । यहाँ विषय उठ्यो, समितिले पास गरेका कुराहरूलाई फेरि अर्कातिर भत्काइयो । प्रक्रिया, विधि मिचियो भनियो । समस्या आयो भनियो,’ शर्माले भने।

तर, जनताले कसरी हेरिरहेका छन् भन्ने विषयलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रा कुरा जनताले हेरिरहेका छन् । बरु आजका आवश्यकता हामीले कसरी उठान गर्ने, डेटाहरूको व्याख्या गर्ने कुरा हो,’ शर्माले भने ।

जनताले परिणाम हेर्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?