
२९ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गरेका छन् ।
मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धि गरेको बताए ।
उनले सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दाबी गरे । उद्योगमन्त्री भण्डारीले विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय नभएको बताए ।
उनले उद्योगको लागत मूल्यांकन गर्ने गरी समिति बनाएको बताए । उनले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताए ।
उनले सरकारले उद्योग जोगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको बताए ।
घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने भन्दै उनले सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यवसायीहरूसँग यस विषयमा छलफल गरेको बताए ।
सरकारको लगानीमा सञ्चालनमा रहेका उदयपुर र हेटौंडा सिमेन्ट उद्योग पनि सरकारले पूर्णरूपमा सञ्चालन गर्न नसकेको भन्दै उनले भने, ‘सिमेन्ट उद्योगसँग १ सय १५ रुपैयाँ भन्दा बढी मूल्य नबढाउने सहमति हो ।’
‘सिमेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले पनि भयो । तामाकोशी बाढीले क्षति हुँदा उत्पादन कम भयो भनेर प्राधिकरणले स्वीकार गरेको छ । उद्योगीहरूले आफूखुसी मूल्य बढाएको होइन,’ उनले भने, ‘उद्योग जोगाउने र मूल्यवृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने समितिले निर्देशन गरोस् । सरकारले मान्छ । घाटा खाएर कुनैपनि उद्योगले व्यापार गर्दैन । घरबाट पैसा हालेर सिमेन्ट उत्पादन गरेर बिक्री गर्दैन ।’
समितिमा उद्योगमन्त्री र सांसदहरूबीच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले सिमेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो ।
समिति बैठकमा सांसदहरूले सिमेन्ट उद्योगीहरूले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।
प्रतिक्रिया 4