+
+
Shares

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा १७ वर्षपछि बन्यो पुल

हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा १७ वर्षपछि पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण भएको स्थान झापातर्फ प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरीगञ्जमा (झापा क्षेत्र नम्बर-५) मा पर्छ भने मोरङतर्फ सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको क्षेत्र (मोरङ क्षेत्र नम्बर २) पर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १७:५१

२९ माघ, विराटनगर। हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा पुल निर्माण भएको छ । यो पुलले झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल तयार भएको हो ।

पुल निर्माण भएको स्थान झापातर्फ प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरीगञ्जमा (झापा क्षेत्र नम्बर-५) मा पर्छ भने मोरङतर्फ सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको क्षेत्र (मोरङ क्षेत्र नम्बर २) पर्छ ।

पुल निर्माणको काम पूरा भएपनि आसपासको सडक कालोपत्रेको काम बाँकी छ । निर्माण सम्पन्नको समयसमीमा असारसम्मको छ । समय अगाडि नै निर्माण पूरा हुने हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए ।

उनका अनुसार  उक्त पुलको निर्माण  वि.स.२०६४/६५ मा सुरु भएको थियो । तर, बीचमा अधुरै भएपछि दोस्रो पटक निर्माणका लागि २०७९ सालमा ठेक्का लागेको थियो ।

पुल नहुँदा स्थानीयबासी वर्खामा डुङ्गा र हिउँदमा बासको पुलबाट यात्रा गर्न बाध्य थिए । यात्रुले साइकलमा बासको पुलबाट खोला वारपार गर्दा १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ तिर्नपर्थ्यो।

पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । ‘पुल निर्माण भएपछि सवारी आवागमान भइरहेका छन्,’ पोखरेलले भने,‘पुलको पूर्व पश्चिमको सडक निर्माण भइरहेको छ।’

पुल पूर्ण रुपमा बन्नुअघि मोरङतर्फ खाली देखिएको भुभाग र साइकल डोर्‍याएर गन्तव्‍यमा जाँदै स्थानीय महिला र बालक ।

मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीले १० करोड ३२ लाख ठेक्का पाएको थियो । त्यसबेला २०४.८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बीच भागमा थियो।

हुलाकी राजमार्ग कार्यालयका अनुसार ७६.३ मिटर थप पुलको संरचना निर्माणाका लागि देव एन्ड सायर/समता/आशिषदीप जेभीसँग २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यसपछि मोरङ तर्फ ५० मिटर र झापा तर्फ २६ मिटर पुलको लम्बाई थपिएको छ । निर्माण सम्पन्न भएपछि पुलको लम्बाई २८२.५ मिटरको छ ।

रतुवा खोलाको अधुरो पुल निर्माण भएपछि झापाका दक्षिण क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ– जाउ गर्न सहज भएको छ ।
तत्कालिन ठेकेदार कम्पनीले पुल अधुरै छाडेपछि १५ वर्षपछि सोही पुलका लागि नयाँ ठेक्का लागेको थियो ।

पुलको सुरक्षाका लागि झापातर्फ ६ सय ५० र मोरङतर्फ १४ सय मिटरको तटबन्ध पनि निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?