
२९ माघ, काठमाडौं । जेठ पहिलो साता आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मोदी र लीलाई निमन्त्रणा गरेका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा यसबारे छलफल भएको थियो ।
सरकारी उच्च स्रोतका अनुसार दुवै प्रधानमन्त्री काठमाडौं आउने लगभग पक्कापक्की छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार २ जेठदेखि ४ सम्म संवाद तीन दिन चल्ने छ ।
पाँच वर्षअघि कोभिड १९ महामारीका कारण रोकिएको सगरमाथा संवाद सरकारले अघि बढाउन लागेको हो । यसअघि चैतका लागि तयारी थालिएको संवाद तयारी पर्याप्त नपुगेका कारण जेठका लागि सारिएको हो, जहाँ मोदी र ली दुवै अतिथिका रुपमा निम्त्याइएका छन् ।
जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पर्ने देशहरुको जीवन, संस्कृति सभ्यतासमेतलाई गम्भीर क्षति पारिरहेको सन्दर्भमा भारत र चीनसँग नेपालले प्रभावकारी संवादको पहल लिनुपर्ने ठान्दै सरकारले दुई प्रधानमन्त्रीलाई नै सहभागी गराउन चाहेको हो । भारत र चीन नेपालका छिमेकी मात्र नभई दुई ठूला औद्यागिक शक्तिराष्ट्रसमेत भएकाले जलवायु सन्तुलनमा उनीहरुको योगदान अनिवार्य हुने सरकारी निष्कर्ष छ ।
यसपल्टको संवादमा जलवायु न्यायको मुद्दालाई प्रमुखतासाथ स्थापित गर्न प्रयास हुने छ । ‘जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई प्रमुखताका साथ उठाउँछौं,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, ‘दुई छिमेकीले गर्ने रेस्पोन्स हाम्रा लागि महत्वपूर्ण छ, त्यसका अलावा दक्षिण एसियाका देशहरु, अनि विश्वका विभिन्न मुलुकसँग नेपालले पृथ्वी र विश्वभरिका जनताको सामूहिक चिन्ता साझा गर्नेछ । कुनै एक दुई देश नभई सबैले मिलेर समाधान गर्नुको विकल्प छैन भन्नेमा तयारी गर्दैछौं ।’
भारत र चीनले साझा निष्कर्ष ननिकाल्दासम्म हिमालय क्षेत्रको जलवायु संकट समाधानमा उल्लेख्य प्रगति कठिन हुने भन्दै सरकारले मोदी र लीसँग एकैसाथ छलफल गर्न लागेको हो ।
दुवै देशका प्रधानमन्त्री सहित विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा सम्बन्धित मन्त्रीहरुलाईलाई सरकारी तहबाट पत्र गइसकेको छ । सगरमाथा संवादको मिति तोक्नुअघि दुवै प्रधानमन्त्रीहरुको फुर्सद निक्र्यौल गरिएको समेत स्रोतले बतायो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतिपय कुटनीतिकसँग संवाद समेत अघि बढाएकी छन् ।
यसअघि ०७७ मा ओली नै प्रधानमन्त्री रहेका बेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवादको पहल लिएका थिए, तर कोभिड महामारीका कारण अन्तिम घडीमा संवाद स्थगित भएको थियो ।
परराष्ट्र मन्त्रालय प्रवक्ता कृष्णप्रसाद ढकालले जलवायु परिवर्तन र यसले छाडेका प्राकृतिक तथा मानवीय असर निकै गम्भीर रहेकाले विभिन्न देशमा शीर्षस्थ तहमै आमन्त्रण गरिएको बताए । ‘शीर्षस्थ तहमा नै छलफल हुन सक्यो भने अहिलेको साझा चुनौती मिलेर हल गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ,’ उनले भने ।
सगरमाथा संवादका लागि कुन कुन देशका प्रतिनिधि बोलाइएको छ भन्नेबारेमा परराष्ट्रले विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन ।
अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधि, सेलेब्रिटी, आर्थिक र वातावरण क्षेत्रमा काम गर्ने संस्था र व्यक्ति, प्रकृति तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा काम गरिरहेका अभियन्तालाई समेत संवादमा आमन्त्रण गरिएको सरकारी स्रोतले बताएको छ ।
जलवायु संकटमा भोगिरहेको क्षतिलाई समाधानमुखी गर्ने प्रयासलाई नेपालले आफ्नो सफ्टपावरमार्फत् समेत अघि बढाउनुपर्ने आइतबारको बैठकमा कुरा उठेको थियो ।
सगरमाथा संवादको मुख्य तयारी सचिवालयमा प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री आरजु राणालाई संयोजक तोकेका छन् । सदस्यमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडालगायत सामेल छन् ।
सन् २०२५ अन्तर्राष्ट्रिय हिमनदी वर्ष समेत रहेकाले यो वर्ष नेपालले सम्मेलन आयोजना गर्दा दक्षिण एसिया र समस्त विश्वमा प्रभावशाली सन्देश जाने सरकारको विश्वास छ ।
सरकारले दुई वर्षको अन्तरमा यस्ता छलफल आयोजना गर्ने योजना समेत बनाएको छ ।
प्रतिक्रिया 4