
२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहेपनि त्यसको फाइदा उठाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका हुन् ।
‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरूको योगदान छ । त्यसप्रति सम्मान छ । तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैपटक दरबार कसरी बन्यो ? व्यापार कहाँ गरियो ? व्यवसाय त कुनैपनि थिएन,’ सांसद झाले भने, ‘जेल बसेर बाहिर आएको केही महिनामै नेताहरूको दरबार बन्न थाल्यो यहाँ । त्यसको छानबिन गर्नुपर्दैन ?’
वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ? भन्दै प्रश्न समेत सांसद झाले गरे ।
‘हामीले हाम्रो नगर भनेकै छैनौं तर सुशासनको अभ्यास सबैतिर गरौं । होइन नगर्ने भए केही दिनको लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुस् कृपया । त्यो अध्यादेश के होस् भने– अमुख अमुख पार्टीमो तद् तद् नेताको कहिले पनि हुँदैन, आजीवन हुँदैन । त्यसमा कसैले आवाज उठाउन पाउँदैन किनकि उहाँहरू जेल बस्नुभएको छ ।’
संसद संख्याको आधारमा नभई सिद्धान्तको आधारमा चल्ने उल्लेख गर्दै संख्याको धाक नलगाउन समेत सत्तापक्षको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया 4