
२९ माघ, काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफू काठमाडौंका गरिब जनताको पक्षमा भएको बताउँदै मेयर बालेन शाहको विरोधमा नभएको बताएका छन् ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यसअघि हिजो (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर शाहलाई हिटलरको संज्ञा दिँदै उनले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको आरोप लगाएका थिए ।
सोही प्रसंगमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै सांसद सिंहले भनेका छन्, ‘कानुन सबैका लागि बराबर हो । कानुनी राज्यको खोजीमा छु । त्यसकारण म जनताको पक्षमा उभिएको हुँ । बालेनको विरोधमा होइन ।’
साथै, उनले गरिबलाई भएको बेथितिको विरुद्धमा बोल्दा आफूले सधैं साथ दिने पनि बताए ।
‘चाहे जुम्ला, जाजरकोट वा मधेशको गरिब होस् म त्यसको पक्षमा हुन्छु । पीडितको पक्षमा म हुन्छु,’ सांसद सिंहले भने, ‘गरिबलाई भएको बेथितिको विरुद्धमा बोल्दा म साथ दिन्छु । बालेनको राम्रो कामको साथ दिन्छु, गरिबलाई पिट्ने, तरकारी र फलफूल फाल्नेको विपक्षमा म लडिरहन्छु ।’
प्रतिक्रिया 4