+
+
Shares

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ८:०६

३० माघ, बुटवल । तिलोत्तमा नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स-रे सेवा शुरु गरेको छ ।

नगरपालिकाको वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं १०को सेमराबजार स्वास्थ्य चौकीबाट नगरका १७ वटै वडाका गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा दिन सुरु गरेको हो ।

आनन्द वन स्वास्थ्य चौकीमा एक समारोहबीच नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले निःशुल्क भिडियो एक्स-रे सेवाको उद्घाटन गरे ।

नगर प्रमुख खाणले निःशुल्क भिडियो एक्स-रे सेवाले विशेषगरी आर्थिक रुपमा विपन्न परिवारका गर्भवतीलाई राहत मिल्ने बताए । नगरलाई लैंगिकमैत्री बनाउने गरी अघि बढेको सन्दर्भमा नि:शुल्क भिडियो एक्सरे सेवाले थप टेवा पुग्ने उनले बताए ।

उपप्रमुख चौधरीले रकम अभावमा विपन्न परिवारका गर्भवतीले भिडियो एक्स-रे नै नगरी बच्चा जन्माउने गर्दा आमा र बच्चाको स्वास्थ्य जोखिममा परेकोमा अब जोखिम कम हुने बताइन् ।

तिलोत्तमा-६ का वडाध्यक्ष गणेश पाठकले आफ्नै पहलमा दुई वर्ष अघिबाटै सशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको र अहिले संघीय स्वास्थ्य मन्त्रालयबाट १७ लाख रुपैयाँ मूल्यको पोर्टेबल अत्याधुनिक मेशिन प्राप्त भएपछि निःशुल्क भिडियो एक्सरे सेवा समावेश गरेको बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गर्भवती महिलाले ४ पटक भिडियो एक्सरे गरी आमा र बच्चाको स्वास्थ्य अवस्था जानकारी लिनुपर्ने भएकाले यो सेवाले बाल तथा मातृ मृत्यु दर कम हुने बताए । भिडियो एक्सरे गर्ने मेशिन पोर्टेबल भएकाले १७ वटै वडामा घुम्ती शिविर चलाएर समेत गर्भवतीलाई सेवा दिने तयारी रहेको बताए ।

लुम्बिनी प्रदेशमा प्रति एक लाख जना गर्भवतीमा २०७ जना आमाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद चुदालीले देवदह मेडिकल कलेजकी रेडियोलोजिस्ट सुम्निमा आचार्यले गर्भवतीको भिडियो एक्सरे गर्ने गरी करार सम्झौता गरिएको बताए ।

गर्भवती वाहेकका नगरवासीले एकपटकको ६५० रुपैयाँ तिरेर भिडियो एक्सरे सेवा लिन सक्ने चुदालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?