
३० माघ, काठमाडौं । पछिल्लो २४ घन्टामा बागमती प्रदेशको चितवनमा भएका फरकपरक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय, बागमतीले उपलब्ध गराएको तथ्यांकअनुसार चितवनमा मात्रै एकै दिन ६ वटा सवारी दुर्घटना भएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार चितवनको भित्री सडक खण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मंगलबार भएको उक्त दुर्घटनामा चालक २८ वर्षीय आलोक महतोको मृत्यु भएको छ ।
चितवन नगरपालिका-५ का महतोको दुर्घटनामा गम्भीर चोट लागेको थियो । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा राति करिब साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यस्तै, चितवनमै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । ध्रुवचोकबाट ढकाल चोकतर्फ आउँदै गरेको ना ५ त ७३०७ नम्बरको ट्याक्टरले भट्ट चोकबाट टेकलाल चोकतर्फ जाँदै गरेको ना २५ प ७१३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा चितवन कालिका नगरपालिका-७ बस्ने ४६ वर्षीय रामहरि थापा घाइते भएको र उनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक रत्ननगर न.पा.१५ बस्ने वर्ष-२५ को इश्वर परियार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
चितवनकै रामपुरमा मंगलबार साँझ करिब ७ बजेको समयमा स्कुटरले साइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना २५ प ८३०९ नम्बरको स्कुटर ले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको थियो ।
स्कुटरको ठक्करबाट साइकलमा सवार २३ वर्षीय भीमप्रसाद दराई, उनकी श्रीमती र ५ वर्षीय छोरा घाइते भएका छन् भने स्कुटर चालक चितवन भरतपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय नरेन्द्र मल्ल पनि घाइते भएका छन् । स्कुटरको पछाडि बसेका मल्लका ६ वर्षीय छोरा पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मंगलबार नै चितवनकै धर्मचोकबाट टाइगरचोकतर्फ जाँदै गरेको ना ३५ प ५४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीया मनकुमारी गौतम घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-५ नारनपुरका ३५ वर्षीय अर्जुन रिमाल सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।
चितवनमै ना.४५ प ८१०५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक जिल्ला बारा घर भइ हाल जिल्ला चितवन भरतपुर-९ स्थितमा डेरा गरी बस्ने २२ वर्षीय २२ को सबिर मियाँ घाइते हुन पुगेका छन् । मंगलबार करिब सवना ९ बजेको समयमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक भरतपुर-७ का ४८ वर्षीय कमल पण्डित पनि घाइते भएका थिए ।
चितवनमै रोकिराखेको कारमा स्कुटर ठोक्किँदा मंगलबार स्कुटर सवार एक जना महिला घाइते भएकी छन् । बा १६ च ८०७७ नम्बरको रोकीराखेको कारको अगाडी बा.प्र.०६-००१प २५१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।
उक्त दुर्घटनामा स्कुटरको पछाडि बसेकी भरतपुर-६, ईन्द्रपुरी बस्ने ७० वर्षीय सीता लामिछाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4