
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’को शीर्षमध्येको अभिनेतामा जितु नेपाल अनुबन्धित भएका छन् ।
निर्माता कम्पनी हरिओम सिने मेकर्ससँग उनले लिखित सम्झौता गरेका छन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि मर्म नबिग्रने सर्तमा फिल्म निर्माणको मन्जुरी दिइसकेको छ ।
‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । निर्माताका अनुसार फिल्मका दुई शीर्ष अभिनेतामध्ये एकमा जितुले अभिनय गर्नेछन् । अर्का लिड एक्टर पनि चाँडै फाइनल गर्ने तयारी छ ।
कथाका प्रमुख पात्र चामे, गौंथली, जुठे दमाइ छन् । जितुले चामे र जुठेमध्ये एक भूमिका निर्वाह गर्नेछन् । फिल्मको शीर्ष भूमिका गौंथलीको रोलमा यससअघि सुहाना थापा अनुबन्धित भैसकेकी छन् ।
संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य र सत्य-स्वरुप आचार्यको संगीत हुनेछ । यो फिल्मको प्रदर्शन लक्ष्य २०८२ सालमा राखिएको छ । ‘परालको आगो’ शीर्षकमा यसअघि प्रताप सुब्बाले फिचर निर्देशन गरेका थिए । फिल्मलाई भने लक्ष्मण सुनारले निर्देशन गर्नेछन् ।
प्रतिक्रिया 4