+

फागुन महिनाभर नसर्ने रोगको निःशुल्क परीक्षण हुँदै, कहाँ जाने ?

२०८१ माघ  ३० गते १२:३३ २०८१ माघ ३० गते १२:३३
फागुन महिनाभर नसर्ने रोगको निःशुल्क परीक्षण हुँदै, कहाँ जाने ?

३० माघ, काठमाडौं । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले एक महिना नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । फागुन महिनाभर स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको विभिन्न स्वास्थ्य परीक्षण हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

डा.बुढाथोकीका अनुसार मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिनेछ । फागुन महिनामै पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।

निरोधात्मक विधिबाट रोगहरूविरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले घोषणा गरेका थिए । मन्त्री पौडेलले गत मंसिर १६ गते यस सम्बन्धी निर्देशिका स्वीकृत गरेका थिए ।

सोही अनुसार मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारको लक्ष्य राखी फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सञ्चालन गर्न लागेको प्रवक्ता डा.बुढाथोकीले बताए।

देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । परीक्षणमा यी नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ।

प्रवक्ता डा.बुढोथोकीका अनुसार स्थानीय स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, स्थानीय तहमा रहेका आधारभूत अस्पताल, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलगायतमा निःशुल्क स्वास्थ्य परीक्षण हुनेछ । यो परीक्षणमा कुनै रोग देखिएर उपचारका आवश्यक परेमा प्रादेशिक र संघीय अस्पतालहरूमा रिफर गरिने उनको भनाइ छ ।

निःशुल्क परीक्षणकै लागि संघले यो वर्ष छुट्टै बजेट छुट्याएको छैन्। आगामी आर्थिक वर्षदेखि भने संघले बजेट बिनियोजन गर्ने गरी तयारी भएको डा.बुढाथोकीले जानकारी दिए।

‘यसपाली सम्बन्धित स्वास्थ्य संस्थाकै बजेटले गर्ने भन्नेछ’ डा.बुढाथोकीले भने, ‘अर्को वर्ष यसरी फागुन महिनामा गरिने परीक्षणकै लागि भनेर संघले बजेट बिनियोजन गर्ने गरी तयारी छ।’

फागुन महिनाभर स्थानीय स्वास्थ्य संस्थाहरुमा कार्यालय समयमा गएर परीक्षण गर्न सकिनेछ । परीक्षणका लागि जाँदा उमेर खुल्ने कुनै सरकारी कागजात लिएर जानुपर्ने बुढाथोकीले बताए।

नसर्ने रोग परीक्षण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय