+
आहरारा पोखरा गोल्डकप :

ऐतिहासिक खेलमा पुलिसले मारेको बाजी

२०८१ माघ  ३० गते २२:३३ २०८१ माघ ३० गते २२:३३

पुलिस आहारारा पोखरा गोल्डकपमा ११औं पटक फाइनल पुगेको हो । यसअघि १० पटक फाइनल खेल्दा पुलिसले ६ पटक उपाधि जितेको थियो भने ४ पटक उपविजेतामा सीमित भएको थियो ।

ऐतिहासिक खेलमा पुलिसले मारेको बाजी

३० माघ, पोखरा । आहरारा पोखराको गोल्डकपको ऐतिहासिक २५०औं खेल अनि प्रतियोगितामा आफ्नो ५०औं खेल । नेपाल पुलिस क्लबका लागि २४औं संस्करणको पहिलो सेमिफाइनल खेल विशेष रह्यो ।

पोखरामा भइरहेको यस संस्करणको पहिलो सेमिफाइनलमा खेलमा संयोगवश पुलिस चर्च ब्वाइज युनाइटेडसँग खेल्दै थियो। ऐतिहासिक खेल हुनु आफैंमा विशेष क्षण थियो अझ त्यसमा जित नै हात पार्नु अझै विशेष बन्यो ।

बुधबार पोखरा रंगशालमा भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर नेपाल पुलिस क्लब फाइनल पुग्यो । त्यो ऐतिहासिक खेलमा निर्णायक गोल गर्ने खेलाडी बने सन्जिव लामा ।

उनले दोस्रो हाफमा दर्शनीय गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पुलिसका प्रशिक्षक चेतन घिमिरेले आजको खेल फाइनल पुग्न महत्वपूर्ण भएको र ऐतिहासिक खेल भएकोले पनि जित्नुपर्ने बताएका थिए । ‘आजको खेल हाम्रो लागि महत्वपूर्ण थियो । आहाराराको २५०औं म्याच अनि हाम्रो ५०औं म्याच । त्यसमा पनि फाइनल पुग्ने दबाब पनि थियो’ उनले भने ।

पहिलो हाफमा दुवै टोलीले खासै आक्रमण बुन्न नसक्दा निराश बनेका थिए । तर ५८औं मिनेटमा पुलिसले गोल गर्‍यो । चर्च ब्वाइजका राज भुषालले क्लियर गर्ने खोजेको बल सन्जिवले भेटे अनी करिब २५ यार्डबाट उनले प्रहार गरेको भली सिधै गोलमा परिणत भयो । चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रले उक्त बल रोक्ने कुनै अवसर नै पाएनन् ।

उक्त गोलपछि पुलिसले सेलेब्रेसन पनि मजैले गरेको थियो । प्रशिक्षक चेतन घिमिरेले पनि सेलेब्रेट गरे । अनी उनले गोलकर्ता सन्जिवलाई आफूतिर बोलाए । सन्जिवले पनि प्रशिक्षकसँग अंकमाल गरेर सेलेब्रेसन गरे ।

पूरा खेल अवधिभर पुलिसले खासै मुभ बनाउन सकेको थिएन । तर त्यही एक अवसरमा गोल हुँदा पुलिस उपाधिनजिक पुगेको छ । पुलिसका लागि ऐतिहासिक खेल स्मरणीय बनेको छ ।

पुलिसलाई जित निकाल्न भने सहज भएन । यसअघि पहिलो रोजाईँमा खेलिरहेका आशिष राई र सुजन मगर युनान युथ टिमविरूद्धको मैत्रीपूर्ण खेलका लागि काठमाडौं गएपछि पुलिसले दुई खेलाडी परिवर्तन गरेको थियो । ‘हामीभन्दा चर्च ब्वाइज राम्रो टिम पनि थियो । दुई खेलाडी नेपाल युथ टिममा गएपछि केही कठिन भएको हो’ पुलिसका प्रशिक्षक चेतन घिमिरेले भने ।

दोस्रो हाफमा चर्च ब्वाइजले पुलिसमाथि लगातार दबाब सिर्जना गर्दा पुलिसलाई डिफेण्ड गर्न कठिन भइरहेको थियो । तर त्यस्तो अवस्थामा पनि पुलिसले अग्रतालाई भने कायम राख्यो । पुलिसले आहारारामा ५० खेल खेल्दा ३४ खेल जितेको छ भने १६ खेलमा पराजित भएको थियो ।

११औं पटक फाइनलमा
पुलिस आहारारा पोखरा गोल्डकपमा ११औं पटक फाइनल पुगेको हो । यसअघि १० पटक फाइनल खेल्दा पुलिसले ६ पटक उपाधि जितेको थियो भने ४ पटक उपविजेतामा सीमित भएको थियो ।

पुलिस पोखरामा धेरै फाइनल पुग्नेमा दोस्रो स्थानमा छ । मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक १२ फाइनल खेलेको छ । मनाङ र पुलिसले समान सर्वाधिक ६ पटक उपाधि जितेका छन् ।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरू भएको यस प्रतियोगिताको सुरुवाती पाँच संस्करणमा पुलिस फाइनल पुगेको थियो । सुरूको दुई संस्करणको उपाधि जितेको पुलिस त्यसपछि लगातार तीन संस्करण उपविजेता बन्यो ।

२०६३ सालमा पुलिस सहभागी भएन । त्यसपछि भने पुलिसले २०६४ देखि २०६६ सम्म लगातार उपाधि जित्दै ह्याट्रिक नै गर्‍यो । त्यही जेनेरेसनका तीन खेलाडी चेतन घिमरे, भोला सिलवाल र सुमन सुवेदी नै अहिले पुलिसको टिमको कोचिङ स्टाफमा छन् ।

त्यसैले उनीहरूका लागि आहाराराको २५०औं खेल जितेर फाइनल पुग्नु अझ विशेष बनेको छ ।

अब पुलिसले आउने शनिवार थ्री स्टार र ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । थ्री स्टार र ब्ल्याक बुल्सको खेल बिहीबार हुनेछ । शुक्रबार ग्याप हुनेछ ।

पुलिसले फाइनलअघि दुई दिन रेस्ट पाउनेछ । पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलअघि दुई दिन आराम हुने र फाइनलका लागि योजना बनाएर मैदान उत्रने बताए । उनले फाइनलमा जुन टिम आएपनि फरक नहुने पनि बताए ।

आहारारा पोखरा गोल्डकप नेपाल पुलिस क्लब
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय