
३० माघ, बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस-एमालेको गठबन्धन सरकार परिस्थितिको उपज भएको बताएका छन् ।
बुधबार बुटवलमा पार्टी निकट मुस्लिम संघको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
‘कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो । हामीले गरेको होइन । त्यो आफैं निर्माण भएको हो । कांग्रेससँग एक्लै सरकार चलाउन बहुमत छैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ । यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो ? फेरि अर्को पार्टीसँग मिलेर जानुपर्यो,’ थापाले भने ।
कांग्रेस नेतृत्व पंक्तिले एउटै अठोट गरी तीन वर्षको समयलाई अधिकतम सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो ।
‘आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ । निश्चित समयपछि कांग्रेस सभापति नेतृत्वमा सरकार बन्छ । हामीले सात बुँदै सहमति गरेका छौं । त्यही सहमतिको आधारमा तीन वर्ष सरकार चलाउँछौं,’ थापाले भने ।
सरकारले ल्याएका अध्यादेशतर्फ इंगित गर्दै महामन्त्री थापाले विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हक तलमाथि हुने गरी पार्टीले कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताए ।
संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सहित सबै दलसंग छलफल गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने दायित्व कांग्रेसको भएको थापाले बताए ।
महाधिवेशन २०८४ चुनाव अघि नै हुन्छ
महामन्त्री थापाले पार्टीको महाधिवेशन २०८४ को आम चुनाव अघि नै हुने बताए ।
महामन्त्री थापाले २०८४ को चुनाव अघि जति सक्दो छिटो महाधिवेशन हुनुपर्ने बताएका हुने । विगतमा थापाले २०८२ सालभित्रै महाधिवेशन हुनुपर्ने चर्को आवाज उठाउँदै आइरहेका थिए ।
चैत मसान्तसम्म सदस्यता नवीकरण सक्नुपर्ने बताएका थापाले महाधिवेशन आम चुनावको मुखमा गर्दा निर्वाचन परिणाम प्रभावित हुनसक्ने बताए । उनले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि नेता कार्यकर्तालाई आग्रह गरे ।
‘चैतभित्र सदस्यता नवीकरण सक्नुपर्नेछ, २०८४ को चुनाव अघि नै पार्टीको महाधिवेशन हुन्छ । त्यसका लागि जतिसक्दो छिटो अरू काम गर्नुपर्छ, नत्र चुनाव प्रभावित हुन्छ, ’ थापाले भने ।
प्रतिक्रिया 4