+
+
Shares

अफिस-घर आउजाउ गर्दा हरेक दिन हवाईजहाज चढ्छिन् यी महिला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ८:३३

काठमाडौं । अफिस आउ–जाउ गर्दा तपाईं के चढेर जानु हुन्छ ? टाढा भए बस, कार, जिप, मोटरसाइकल, स्कुटर वा साइकल चढ्नुहुन्छ होला । नजिकै भए पैदल हिँडेरै आउ-जाउ गर्नुहुन्छ होला ।

तर, कुनै व्यक्ति हरेक दिन अफिस–घर आउ–जाउ गर्दा हवाईजहाज चढ्ने गरेको थाहा पाउनु भएको छ ? यो पढिरहँदा वा सुनिरहँदा तपाईंलाई अचम्म लाग्यो होला तर अचम्म मान्नु पर्दैन । यो साँचो कुरा हो ।

मलेसियामा बस्दै आएकी भारतीय मूलकी एक महिला हरेक दिन अफिस–घर आउजाउ गर्दा हवाईजहाज चढ्ने गरेकी छन् । ती महिलाको नाम रेचेल कौर हो । उनलाई अफिस–घर आउ–जाउ गर्दा हरेक दिन करिब चार सय किलोमिटर लामो यात्रा गर्नुपर्छ । त्यसैले उनी हवाईजहाज प्रयोग गर्छिन् ।

द इण्डियन एक्सप्रेसले लेखेको एक समाचार अनुसार रेचेल कौर मलेसियाको पेनाङ्ग शहरमा आफ्ना परिवारका सदस्यहरुसँग बस्छिन् । उनको अफिस भने क्वालालम्पुरमा छ । उनी एयर एसियाको लेखा शाखामा एसिस्टेन्ट म्यानजेरको रुपमा काम गर्छिन् । त्यसैले उनी हरेक दिन पेनाङ्गबाट क्वालालम्पुर आउ–जाउ गर्नुपर्छ ।

द इण्डियन एक्सप्रेसले लेखेको छ, ‘उनी बिहानै चार बजे उठ्छिन् र साढे ६ बजे हवाईजहाज उड्ने तालिका भएकाले ५ बजे नै आफैं गाडी चलाएर घरबाट एयरपोर्ट प्रस्थान गर्छिन् । पेनाङबाट क्वालाम्पुरसम्म पुग्न करिब ३०–४० मिनेट लाग्छ । उनी ७ बजेर ४५ मिनेटमा अफिस पुगिसक्छिन् । दिनभर काम गरेर साँझ करिब ७ः३० बजे घर फर्किन्छिन् ।’

सुरु–सुरुमा उनले क्वालम्पुरमा डेरा लिएकी थिइन् र हप्ताको एक दिन पेनाङ्गस्थित घर आउँथिन् । उनका दुई बच्चा छन् । उनीहरु ११ र १२ वर्षका छन् । बच्चाहरु ठूला हुँदै गएकाले उनीहरुलाई समय दिनु आवश्यक छ । त्यसैले सन् २०२४ को सुरुवातदेखि हवाईजहाज चढेर भए पनि दिनहुँ अफिस–घर आउ–जाउ गर्ने गरेको उनको भनाइ छ ।

सीएनए इन्साइडरसँगको अन्तर्वार्तामा रिचेलले भनेकी छन्– बिहान चार बजे नै उठेर, अफिस गएर, दिनभर काम गरेर घर फर्किंदा निकै थकाइ लागेको हुन्छ । तर जब घरमा आफ्ना बच्चाहरुलाई भेट्छु तब सबै थकाइ मेटिन्छ । यो क्षण अदभूत छ ।

उनका अनुसार एकतर्फी हवाई भाडामा ११ डलर (करिब १ हजार ५२४ रुपैयाँ) खर्च हुन्छ ।

उनका अनुसार डेरा भाडा, खाना, खाजामा लाग्ने खर्चको तुलनामा हवाईजहाजमा आउ–जाउ गर्दा हुने खर्च कम हुन्छ । उनका अनुसार पहिले उनको मासिक खर्च ४७४ डलर (करिब ६५ हजार ७०२ रुपैयाँ) हुन्थ्यो । तर हवाईजहाजबाट आउजाउ गर्न थालेपछि मासिक खर्च घटेर ३१६ डलर (करिब ४३ हजार ८०१ रुपैयाँ) भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?