+
+
Shares

मधेशमा रेडियोको उतारचढाव

नेपालमा विभिन्न प्रकारका असमानता, शोषण र विभेदका स्वरूपहरू रहेको पृष्ठभूमिमा एफएम रेडियोले उनीहरूको आवाजलाई मूलधारमा ल्याउन थोरबहुत प्रयास गरेको भए पनि अपेक्षा अनुसार सारथि बन्न सकेको छैन ।

निमेष कर्ण निमेष कर्ण
२०८१ फागुन १ गते १०:२६

नेपालमा सञ्चार क्षेत्रको विकासमा रेडियोहरूको भूमिका अति विशिष्ट र महत्वपूर्ण रहेको छ । २ करोड ९१ लाख ९२ हजार जनसंख्या रहेको नेपाल भौगोलिक र सांस्कृतिक विविधताले सम्पन्न देश हो । यहाँ १२६ जात/जाति, १२३ भाषिक र १० वटा धार्मिक समूह, आदिवासी/जनजाति, खस–आर्य, मधेशी, दलित र मुस्लिम लगायत सामाजिक समूहहरू मिलेर बसेका छन् । यसै सन्दर्भमा विशेषतः नेपालमा एफएम रेडियोहरू स्थानीय समुदायको आवाजलाई सरोकारवाला पक्ष समक्ष पुर्‍याउने सशक्त माध्यम बन्दै आएका छन् ।

नेपालमा रेडियोको सुरुवात

२० चैत २००७ मा नेपालमा रेडियो नेपालको स्थापना भयो । यही दिनलाई नेपालमा रेडियोको औपचारिक सुरुवात भएको मानिन्छ । राज्यबाट सञ्चालित रेडियो नेपालले सबै समुदायको आवाज बन्न नसक्दा सरकारको हातबाट नागरिकले आफ्नो हातमा रेडियोको तरङ्ग ल्याइपुर्‍याउन ४७ वर्ष पर्खनु पर्‍यो । अर्थात्, २०५४ सालमा मात्र नेपालमा नागरिक तहबाट रेडियो सञ्चालन सुरु भएको हो ।

नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा १०२ थोप्लो ४ मेगाहर्जले आफ्नो इजाजत पत्र प्राप्त गरेर प्रसारण शुरु गरेको पनि २७ वर्ष पुगिसकेको छ । पछिल्लो तीन दशकमा नेपालका सबै जिल्लामा रेडियो प्रसारणको पहुँच विस्तार भइसकेको छ ।

स्थानीय स्तरमा सञ्चालित रेडियोहरूले समाचार, सांस्कृतिक कार्यक्रम, संगीत, नाटक र बहस मार्फत जनचेतना अभिवृद्धि, शिक्षा तथा सामाजिक परिवर्तनका महत्वपूर्ण विषयहरूलाई उजागर गरिरहेका छन् । यी रेडियोहरूले समुदायको आवाजलाई सरोकारवालासमक्ष पुर्‍याउँदै सूचनाको पहुँच वृद्धि गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

लोकतन्त्रमा फले–फुलेको रेडियो

त्यसैगरी २०६२/६३ सालको जनआन्दोलनपछि नेपालमा रेडियो सञ्चालनको लहर नै चल्यो । यसै क्रममा आर्थिक वर्ष २०७८/७९ सम्म सूचना तथा प्रसरण विभागबाट करिब ९३१ वटा रेडियो सञ्चालनको लागि अनुमति प्राप्त भएको छ । यीमध्ये कतिपय रेडियोहरू बन्द पनि भएका छन् ।

प्रदेशगत रूपमा हेर्दा बागमतीमा सबैभन्दा बढी १९५ र कर्णालीमा सबैभन्दा कम ७५ संस्थाले रेडियो सञ्चालनको अनुमति लिएको देखिन्छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको तथ्यांक अनुसार, प्रदेशगत रूपमा एफएम रेडियो सञ्चालनको अनुमति प्राप्त रेडियोहरूको संक्षिप्त विवरण :

प्रदेश सञ्चालन अनुमति प्राप्त रेडियो
कोशी प्रदेश १४५
मधेश प्रदेश १५२
बागमती प्रदेश १९५
गण्डकी प्रदेश ९३
लुम्बिनी प्रदेश १५९
कर्णाली प्रदेश ७५
सुदूरपश्चिम प्रदेश ११२

मधेशमा एफएम रेडियो

मधेशमा एफएम रेडियो त्यहाँका समुदायहरूको आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने सञ्चारमाध्यमको अभावको पृष्ठभूमिमा खुलेका थिए । प्रिन्ट मिडिया र काठमाडौंकेन्द्रित मिडियाले मधेशी समुदायको मुद्दालाई पर्याप्त स्थान दिन नसकेको अवस्थामा एफएम रेडियोले सरल र सहज माध्यमको रूपमा आफूलाई स्थापित गरेको थियो ।

एफएम रेडियोको प्राविधिक सरलताका कारण न्यून लागतमा स्थापना र सञ्चालन गर्न सकिने भएकाले मधेशमा यसतर्फ सञ्चारकर्मी र सञ्चार उद्यमीहरूको ध्यान आकर्षित भएको थियो । सामाजिक, जातीय र लैंगिक विविधतायुक्त मधेशी समाजका दलित, जनजाति, महिला र उत्पीडित समुदायको आवाजलाई मुखरित गर्न एफएम रेडियो एउटा प्रभावकारी माध्यम बन्यो ।

२०६२/६३ सालको जनआन्दोलनपछि मधेशका मुद्दाहरूलाई प्राथमिकताका साथ उजागर गर्ने रेडियो स्टेशनहरूले समुदायमा चेतना र जागरण फैलाउन महत्वपूर्ण भूमिका खेलका थिए । ती रेडियोहरूका कार्यक्रमहरू मार्फत मधेशको पहिचान, अधिकार, सामाजिक–राजनीतिक विषयहरू तथा समसामयिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइएको थियो, जसले स्थानीय बासिन्दामा जागरूकता र आवाज उठाउने आत्मविश्वास बढाएको थियो ।

किन खुले मधेशमा धेरै रेडियो ?

मधेश बहुभाषिक, बहुसांस्कृतिक क्षेत्र हो । यहाँ विभिन्न समुदायका आवाजलाई प्रतिनिधित्व गर्न रेडियोको आवश्यकता महसुस गरियो । मधेशका ग्रामीण क्षेत्रमा सञ्चारका अन्य माध्यमहरू सीमित भएकाले रेडियो स्थानीय समुदायका लागि सूचनाको प्रमुख साधन बन्यो । मधेश आन्दोलनहरूका कारण यहाँका मुद्दाहरू उठान गर्न स्वतन्त्र माध्यमको रूपमा रेडियो महत्वपूर्ण रह्यो ।

काठमाडौं लगायत अन्य क्षेत्रबाट सञ्चालित रेडियोहरूले मधेशका आवाजलाई समेट्न असफल भएपछि तराई मधेशका २२ जिल्लामा पहिलो मधेश आन्दोलनपछि धेरै एफएम रेडियोहरू स्थापना भए । तीमध्ये धेरैजसो रेडियोहरू आन्दोलनलगत्तै स्थापना र सञ्चालनमा आएका कारण सामग्री निर्माण र प्रसारणमा चेक एण्ड ब्यालेन्सको अभाव देखियो ।

नयाँ सञ्चालित रेडियोहरूमा पर्याप्त जनशक्ति र व्यवस्थापनको ज्ञानको कमी थियो । रेडियोको प्रभाव र जिम्मेवारीको उचित ज्ञान नहुँदा केही हदसम्म रेडियोहरूबाट द्वन्द्वलाई बढावा दिने सामग्री प्रसारण भए । तर, यसले मधेशमा रेडियोको जिम्मेवारीपूर्ण पत्रकारिताको महत्वबारे चेतना पनि फैलायो ।

एफएम रेडियोको प्रारम्भिक दिनमा, यसले ग्रामीण भेगका मानिसहरूको जीवनशैली र आवश्यकता सम्बोधन गर्न विशेष ध्यान दिएको थियो । स्थानीय भाषामा सञ्चालित कार्यक्रमले समुदायसँग नजिकको सम्बन्ध कायम गर्‍यो ।

एफएम रेडियोहरूले मधेश आन्दोलनको समयमा महत्वपूर्ण भूमिका खेल्यो । काठमाडौंकेन्द्रित मिडियाले हिंसात्मक आन्दोलनको रूपमा चित्रण गर्ने प्रयास गरे पनि स्थानीय एफएम रेडियोहरूले मधेश आन्दोलनको यथार्थलाई प्रस्तुत गरेर आन्दोलनलाई गलत व्याख्या हुनबाट जोगाएका थिए ।

एफएम रेडियोको प्रभावकारी भूमिकाले समुदायमा वैचारिक जागरण ल्याएको छ । रेडियोहरूले सूचना, शिक्षा लगायत मनोरञ्जनका कार्यक्रम मार्फत समाजमा सकारात्मक प्रभाव पारिरहेका छन् । विभिन्न समुदायबीचको समन्वय, स्वास्थ्य सचेतना र महिला सशक्तीकरण जस्ता मुद्दामा रेडियोका कार्यक्रमहरूले महत्वपूर्ण प्रभाव पारेका छन् ।

मधेश आन्दोलनको क्रममा रेडियोहरूको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । यो आन्दोलनले मधेशको सामाजिक र राजनीतिक असन्तोषलाई प्रकट गर्‍यो । यस क्रममा रेडियोहरू जनताको आवाजको रूपमा देखा परे । आन्दोलनका बेला मुख्यधारका सञ्चारमाध्यमले पर्याप्त स्थान नदिंदा स्थानीय रेडियोहरूले सत्य–तथ्य र मधेशी जनताको पीडा प्रसारण गरे । रेडियो आन्दोलनका सन्दर्भमा मधेशी जनताको आशा, डर र अनुभवलाई व्यक्त गर्न बलियो माध्यम बनेको थियो ।

संघर्षपूर्ण दिनहरू

देशभरका रेडियोहरूलाई सशक्त बनाउँदै मधेशका रेडियोहरूले आफ्नो विशिष्टता कायम राख्दै श्रोताहरूको विश्वास जित्नुपर्ने चुनौती रहेको छ । यो चुनौतीलाई अवसरमा परिवर्तन गर्न सकेमा, रेडियोले समाजलाई अझ धेरै परिवर्तन र प्रगतितर्फ डोर्‍याउनेछ

मधेशमा रेडियो सञ्चारको सुरुआती दिनहरू सजिला थिएनन् । आर्थिक अभाव, उपकरणको कमी, जनशक्तिको अभाव र सरकारले दिएको न्यून प्राथमिकताका कारण रेडियोहरूलाई अगाडि बढ्न कठिन भयो । यसका अतिरिक्त, मधेशी समुदायमा साक्षरताको कमी र सञ्चारमाध्यमप्रतिको प्रारम्भिक शंका पनि चुनौती बन्यो । यी समस्याहरूको बाबजुद, सामुदायिक रेडियोहरूले स्थानीय विषयवस्तुमा आधारित कार्यक्रमहरू उत्पादन गरेर जनताको मन जित्न सफल भएका थिए ।

पछिल्लो केही वर्षयता मधेशमा सञ्चालित रेडियोहरूको अवस्था दयनीय बन्दै गएको छ । रेडियोले मधेशमा रहेका विभिन्न समस्याहरूलाई केन्द्रित गरेर कार्यक्रमहरू उत्पादन गरेको पाइँदैन । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६०० रहेको छ ।

मधेश प्रदेश नेपालको ६.५ प्रतिशत क्षेत्रफल ओगट्ने सबैभन्दा सानो प्रदेश हो । मधेश प्रदेशमा मुख्य रूपमा मैथिली ४६ प्रतिशत, भोजपुरी २१ प्रतिशत, बज्जिका १७ प्रतिशत, नेपाली ५ प्रतिशत र थारू, उर्दू तथा अन्य ७ प्रतिशत बोल्ने गर्दछन् ।

मधेश प्रदेशमा रहेका रेडियोहरूले स्थानीय भाषामा कार्यक्रमहरू उत्पादन गर्नुको साटो धेरैजसो समाचारमूलक कार्यक्रम काठमाडौं उपत्यकाबाट सञ्चालित विभिन्न नेटवर्कबाट प्रसारित कार्यक्रमहरू रिले स्टेशनको रूपमा दिने गरेको पाइन्छ । मधेश प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिकर्ममा निर्भर रहेको छ । मधेश नेपालको कृषि उत्पादनको मेरुदण्डको रूपमा रहे पनि स्थानीय रेडियोहरूले कृषिलाई प्राथमिकीकरण गरेर नियमित रूपमा कृषि र कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गरेको पाइँदैन ।

नेपालका अन्य प्रदेशहरूसँग तुलना गर्दा मधेश प्रदेशको मानव विकास सूचकांक ०.५१ मात्र रहेको छ, जुन सबैभन्दा कम दर हो । गरिबीको दर २३ प्रतिशत रहेको यस प्रदेशमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायका लागि प्रदेशमा सञ्चालित रेडियोहरूले विशेष कार्यक्रमहरू निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।

किन बन्द हुँदैछन् रेडियोहरू ?

सञ्चालन अनुमति लिएका कतिपय रेडियोहरू सञ्चालनमा नै आएका छैनन् भने विगत केही वर्षयताका वर्षहरूमा विभिन्न कारणले गर्दा मधेश प्रदेशमा मात्रै १९ वटा रेडियोको प्रसारण बन्द भएका छन् । विज्ञापनको कमी, सरकारी सहयोगको अभाव र आर्थिक स्रोतको न्यूनताले रेडियो सञ्चालन कठिन बन्दै गएको छ ।

डिजिटल युगमा छिर्दै गर्दा एफएम रेडियोहरूले अनलाइन माध्यमहरूसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेका छन् । स्थानीय सरकारसँग अपेक्षित सहकार्य हुन नसक्दा पनि स्रोत खुम्चिइरहेको छ । सरकारले तोकेको उच्च कर, लाइसेन्स नवीकरण शुल्क जस्ता आर्थिक बोझका कारण पनि रेडियोहरू बन्द भइरहेका छन् ।

नेपालको कुल जनसंख्याको २०.४५ प्रतिशत जनसंख्या ओगटेको मधेश प्रदेशमा करीब १३ लाखभन्दा बढी जनता बहुआयामिक गरिबीको रेखामुनि जीवन जिउन बाध्य छन् । मधेश प्रदेशमा मधेशी र त्यसमा पनि मुस्लिम, दलित तथा जनजाति लगायत समुदायहरूको मुख्य बसोबास रहेको छ । नेपालमा विभिन्न प्रकारका असमानता, शोषण र विभेदका स्वरूपहरू रहेको पृष्ठभूमिमा एफएम रेडियोले उनीहरूको आवाजलाई मूलधारमा ल्याउन थोरबहुत प्रयास गरेको भए पनि अपेक्षा अनुसार सारथि बन्न सकेको छैन ।

तथ्यांक अनुसार मधेश प्रदेशका ३७.२ प्रतिशत परिवारले रेडियो प्रसारणबाट सूचना तथा मनोरञ्जन प्राप्त गर्ने गरेको भए पनि पछिल्ला दिनमा मधेश प्रदेशमा स्मार्टफोन प्रयोग गर्नेको संख्या ७४.२ प्रतिशत पुगेको छ । जसले गर्दा धेरै जसो व्यक्तिले अनलाइनको माध्यमबाट रेडियो सुन्ने प्रचलन बढेकोले रेडियोहरूले आफ्ना उत्पादनलाई डिजिटल पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

राजनीतिक र अन्य स्वार्थ समूहको दबदबा

देशका विभिन्न स्थानमा सञ्चालित एफएम रेडियोहरू कुनै न कुनै रूपमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूबाट प्रभावित भएका छन् । कतिपय रेडियोले कुनै विशेष राजनीतिक विचारधारालाई प्रवद्र्धन गर्ने सामग्री प्रसारण गरेको पाइन्छ । मधेशका रेडियोहरूमा राजनीतिक प्रभाव अस्वाभाविक छैन ।

रेडियोहरू राजनीतिक दलहरूको प्रचारप्रसारको उपकरणको रूपमा पनि प्रयोग भए । कतिपय रेडियो स्टेशनहरू पार्टीविशेषको मुखपत्र झैं देखिन पुगे, जसले निष्पक्षतामा प्रश्न खडा गरेको छ । यस प्रकारको राजनीतिक प्रभावले रेडियोको निष्पक्षता र विश्वसनीयतामा असर पुर्‍याएको छ ।

मधेशमा एफएम रेडियोहरूले सामाजिक परिवर्तन र समुदायको आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान दिएका थिए । यद्यपि, व्यावसायिकता, निष्पक्षता र जिम्मेवारीपूर्ण प्रसारण सामग्रीका दृष्टिकोणबाट अझै धेरै सुधार आवश्यक रहेको छ

यस्तो अवस्थामा, एफएम रेडियोहरूले आफ्नो सम्प्रेषण निष्पक्ष र स्वतन्त्र बनाउन आवश्यक छ । राजनीतिक दबाबबाट स्वतन्त्र रहेर, समुदायको वास्तविक आवाजलाई प्रस्तुत गर्नेतर्फ ध्यान दिनुपर्छ । व्यावसायिकता र व्यावसायिक मापदण्डको पालनामा थप जोड दिनुपर्छ । किनकि केही रेडियोहरूले राजनीतिक पूर्वाग्रह राखेर सामग्री पस्किइरहेको आरोप पनि लाग्ने गरेको छ ।

स्थानीय समुदायसँग बलियो सहकार्यको खोजी

एफएम रेडियोहरूले स्थानीय अल्पसंख्यक समुदायका मुद्दालाई पर्याप्त स्थान दिनुपर्छ । बहस र पैरवीका कार्यक्रमहरूलाई प्राथमिकता दिनसक्दा मात्र यी समुदायका समस्या ओझेल पर्ने छैनन् । यसका लागि दक्ष रेडियोकर्मीको क्षमता अभिवृद्धिका विविध उपायहरू खोजिनुपर्छ । कुनै पनि राजनीतिक वा आर्थिक दबाबबाट स्वतन्त्र रहेर रेडियोले निष्पक्ष समाचार र विचार सम्प्रेषण गर्नुपर्छ । आधुनिक प्रविधिको प्रयोग गरेर कार्यक्रम उत्पादन र प्रसारणको गुणस्तर बढाउन सकिन्छ ।

समाज परिवर्तनको संवाहकका रूपमा पनि रेडियोको भूमिका महत्वपूर्ण छ । जातीय विभेद, लैंगिक असमानता, दाइजो प्रथा, बालविवाह जस्ता समस्याहरू हटाउने दिशामा रेडियोहरूले सकारात्मक बहस तथा सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । यसले समाजमा सकारात्मक सोचको विकास गरी सामाजिक न्यायलाई प्रवद्र्धन गर्न मद्दत पुर्‍याइरहेको छ ।

तर, रेडियोहरू अझ प्रभावकारी हुनका लागि केही सुधार आवश्यक छन् । वित्तीय रूपमा दिगोपन, प्रविधिको स्तरोन्नति, दक्ष जनशक्तिको विकास, गुणस्तरीय सामग्री उत्पादन, सरकार तथा गैरसरकारी निकायहरूसँग सहकार्य आदि विषयमा थप ध्यान दिनुपर्ने देखिन्छ ।

सरकार र शासन व्यवस्थामा जनताको साझेदारी तथा सहभागिता संस्थागत गर्न नेपालको संविधान २०७२ अन्तर्गत निर्माण भएको संघीय ढाँचाले स्थानीय तह अन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका रहेकोमा मधेश प्रदेशमा नै १३६ वटा स्थानीय तह रहेका छन् । यी स्थानीय तहहरूसँग एफएम रेडियोहरूले सोचे अनुरूप साझेदारी र सहकार्य गर्न सकेका छैनन् ।

एफएम रेडियोहरूले स्थानीय तहसँग प्रभावकारी रूपमा सहकार्य गर्न नसक्नुमा धेरै प्रकारका चुनौती रहेका छन् । स्थानीय तहमा सञ्चार नीति स्पष्ट नभएकाले रेडियोहरूसँग कसरी सहकार्य गर्ने भन्ने अन्योल छ । स्थानीय सरकारले एफएम रेडियोलार्ई प्राथमिकतामा नराख्दा रेडियोहरूलाई अपेक्षित सहयोग प्राप्त भएको छैन । कतिपय स्थानीय तहहरूले रेडियोहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिई आफ्नो पक्षमा प्रयोग गर्न खोजेका कारण सहकार्य कमजोर देखिएको छ । सामाजिक सञ्जाल, केबल टेलिभिजन जस्ता माध्यमहरूको विकासले स्थानीय सरकार रेडियोमा कम निर्भर हुन थालेका छन् ।

खोजी जीवन्त रेडियोको

रेडियोहरूले समुदाय र श्रोताको रुचि र चाहनालाई सम्बोधन गर्न सक्नुपर्छ । यसको लािग पहिलो शर्त गुणस्तरीय सामग्रीको उत्पादन र प्रसारण हो । श्रोतासँगको अन्तरक्रियालाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको सहायता लिन सकिन्छ ।

स्थानीय तहले पनि रेडियोहरूसँग सहकार्यका लागि स्पष्ट नीति निर्माण गर्नुपर्छ । सामुदायिक विकासका लागि रेडियोलाई स्थानीय बजेटमा समावेश गरी विज्ञापन तथा अनुदानको व्यवस्था गर्न आवश्यक छ । स्वास्थ्य, शिक्षा, कृषि जस्ता स्थानीय कार्यक्रमहरूको प्रचारप्रसारमा रेडियोको व्यापक उपयोग हुनुपर्छ ।

संघीयताको मूल आधार नै सहभागितामूलक र समावेशी स्थानीय शासन प्रणाली हो, जसप्रति स्थानीय रेडियोहरू सचेत रहनुका साथै जनचेतना अभिवृद्धि गर्न सक्रिय योगदान दिन आवश्यक रहेको छ । संघ सरकारले अन्यायपूर्ण र असंवैधानिक ढंगले चर्को नवीकरण शुल्क र विभिन्न नामका कर असुल्न छाड्नुपर्छ ।

समाजको समुचित विकासका लागि स्थानीय रेडियो, स्थानीय जनता र स्थानीय सरकारबीचको सहकार्य र साझेदारी अपरिहार्य छ । विशेषगरी विकासको प्रक्रिया र प्रतिफलबाट पछाडि परेका विपन्न तथा वञ्चित समुदायहरूलाई केन्द्रमा राख्दै स्थानीय तह र रेडियोहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नु सक्नुपर्छ ।

अझै रेडियोलाई डिजिटल माध्यमसँग एकीकृत गर्न अनलाइन स्ट्रिमिङ, मोबाइल एप, पडकास्टिङ आदि उपायहरू अपनाउनुपर्छ जसले आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्दछ । नयाँ आम्दानीका स्रोतहरूको पहिचान, विज्ञापन र प्रायोजन कार्यक्रमहरूको विस्तार र निजी तथा सरकारी साझेदारी सुनिश्चित गर्ने रणनीतिहरू तयार गर्नुपर्छ । यसले एफएम रेडियोलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेछ र प्रसारण सामग्री उत्पादन तथा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउनेछ ।

बजारमा प्रतिस्पर्धा र स्रोतका विकल्प बढिरहेको सन्दर्भमा, एफएम रेडियोहरूले आफ्ना कार्यक्रमहरूको गुणस्तरमा सुधार र विविधता ल्याउन जोड दिनुपर्छ । डिजिटल युगमा प्रवेश पश्चात्, एफएम रेडियोहरूले आफ्नो प्रसारण मोडेललाई प्रविधिमैत्री बनाउँदै आवश्यक प्रविधि सुधार र डिजिटल प्लेटफर्महरूको विकासका लागि उपयुक्त रणनीतिहरू तय गर्नुपर्छ ।

निष्कर्ष

रेडियोहरूले विगतमा जस्तै भविष्यमा पनि समाज परिवर्तनको संवाहकको भूमिका खेल्न सक्छन्, यसका लागि सरकारी नीति, सामुदायिक सहभागिता र प्रविधिको सही प्रयोग महत्वपूर्ण छ । देशभरका रेडियोहरूलाई सशक्त बनाउँदै मधेशका रेडियोहरूले आफ्नो विशिष्टता कायम राख्दै श्रोताहरूको विश्वास जित्नुपर्ने चुनौती रहेको छ । यो चुनौतीलाई अवसरमा परिवर्तन गर्न सकेमा, रेडियोले समाजलाई अझ धेरै परिवर्तन र प्रगतितर्फ डोर्‍याउनेछ ।

मधेशमा एफएम रेडियोहरूले सामाजिक परिवर्तन र समुदायको आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान दिएका थिए । यद्यपि, व्यावसायिकता, निष्पक्षता र जिम्मेवारीपूर्ण प्रसारण सामग्रीका दृष्टिकोणबाट अझै धेरै सुधार आवश्यक रहेको छ । रेडियोको प्रभावकारी प्रयोगले मधेशी समुदायको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउन र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

लेखकको बारेमा
निमेष कर्ण

लेखक सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?