
१ फागुन, काठमाडौं । अछामको बयलपाटा अस्पतालको सेवा निरन्तरता माग्दै संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ ।
अछामबाट संघीय संसद्मा प्रतिनिधित्वि गर्ने प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव लगेका हुन् ।
कुँवरका अनुसार अछाम जिल्लाको साँफेबर नगरपालिका-७ स्थित बयलगडमा यो अस्पताल रहेको छ । २०६५ सालदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय र पोसिबल हेल्थ अमेरिकाको न्याय हेल्थ नामक गैरसरकारी संस्थाबीच सम्झौतामा अस्पताल सञ्चालन हुँदै आएको छ । तर, पछिल्लो समय नेपाल सरकारले अनुदान नदिँदा समस्या भएको ध्यानाकषण पत्रमा उल्लेख छ ।
‘१५ वर्षदेखि अनवनत रुपमा सुदुरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले सेवा पाउँदै आएकोमा विगत दुई वर्षदेखि नेपाल सरकार र प्रदेश सरकारबाट अनुदान अभावका कारण सेवा लिंदै आएका जनताहरू उक्त अस्पतालको सेवाबाट बन्चित हुने अवस्था आएकाले उक्त अस्पतालको सेवा निरन्तरताका लागि यो ध्यानाकर्षण प्रस्ताव गरिएको छ’ पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण प्रस्तावमा सांसदद्धय दयालबहादुर शाही र पुष्पबहादुर शाहले हस्ताक्षर गरेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको स्पष्टीकरण माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाह पनि अछामबाटै संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य हुन् । नेकपा एमालेका सांसद दयालबहादुर शाही बाजुराबाट संघीय संसद्मा प्रतिनिधित्व गर्छन् ।
प्रतिक्रिया 4