+
+
Shares

हेटौंडा उपमहानगर बालमैत्री स्थानीय शासनयुक्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १९:४०

१ फागुन, हेटौंडा। बागमती प्रदेशको राजधानी शहर हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा गरिएको छ ।

सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा आयोजित घोषणा समारोहमा ताम्रपत्र अनावरण गर्दै हेटौंडालाई ‘निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषणा गरेका हुन् । हेटौंडाले तीन वर्ष लामो मिहेनतपछि बिहीवार घोषणा गर्न सफल भएको हो ।

हेटौंडा उपमहानगरपालिका मकवानपुरको चौथो बालमैत्री स्थानीय तह घोषित भएको छ । यसअघि जिल्लाको मनहरी गाउँपालिका बालमैत्री घोषित देशकै पहिलो स्थानीय तह बनेको थियो । मनहरीपछि मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री पालिका घोषणा भएका थिए ।

हेटौंडा बागमती प्रदेशको एकमात्र उपमहानगर हो । बागमतीभित्र चार वटा महानगरपालिका बाहेक सबै नगरपालिका छन् । हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० जार १ सय ९५ जनसंख्या छ । जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । घोषणाका लागि आवश्यक ५१ वटा सूचकमध्ये उपमहानगरपालिकाले ४३ सूचकमा शतप्रतिशत नतिजा हासिल गरेको नगर उपप्रमुख राजेश बानियाँले बताए ।

हेटौंडामा २ सय ६५ टोलस्तरीय र १ सय ६ वटा बालसमूह गरी जम्मा ३ सय ७१ वटा बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बाल समूह सञ्जालसहित बालबालिकाको संरचना क्रियाशील अवस्थामा छन् ।

विभिन्न संरचनागत समितिमा गरेर ९ हजार २ सय ५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको उपमहानगरका प्रवक्तासमेत रहेका १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरलाई बालमैत्री घोषणा पश्चात् दिगोपनाको लागि नगरस्तरीय पञ्चवर्षीय रणनीतिक योजना समेत तयार पारिएको उनले बताए ।

यसैगरी, हेटौंडालाई बालमैत्री घोषणा गर्दै उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले बालमैत्री घोषणा भन्दा पनि दिगोपनमा गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । उनले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउने सपना रहेको बताए । महानगरको मापदण्ड पुरा गर्न प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।

कार्यबहाक मुख्यमन्त्री श्रेष्ठले बालमैत्री घोषणालाई घोषणामा मात्र नभई व्यवहारमा पनि कार्यान्वयन गर्न वडा समितिलाई जिम्मेवार बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?