+
+
Shares

‘नसर्ने रोग सुषुप्त महामारीको रूपमा फैलिइरहेको छ’

नेपालमा नसर्ने रोग सुषुप्त महामारीको रूपमा फैलिइरहेको छ । मुटु तथा रक्तनली सम्बन्धी, मधुमेह, दीर्घ श्वास–प्रश्वास तथा क्यान्सर जस्ता नसर्ने रोग नेपालमा पनि मृत्युको प्रमुख कारण बन्नु चिन्ताको विषय हो ।

डा. मेघनाथ धिमाल, नसर्ने रोग विज्ञ डा. मेघनाथ धिमाल, नसर्ने रोग विज्ञ
२०८१ फागुन २ गते १०:५५

नेपालमा मृत्युका लागि जोखिम कारकलाई मुख्यतया तीन श्रेणीमा बाँड्न सकिन्छ—वातावरणीय, मेटाबोलिजमसँग सम्बन्धित र व्यवहारजन्य कारण । वातावरणीय कारणहरूमा वायु प्रदूषण, दूषित पानी र वातावरणीय परिवर्तनका कारण उत्पन्न हुने रोगहरू पर्दछन्, जसले श्वास–प्रश्वास सम्बन्धी रोग र अन्य स्वास्थ्य समस्या निम्त्याउँछन् ।

मेटाबोलिजमसँग सम्बन्धित कारकमा उच्च रक्तचाप, मधुमेह र मोटोपन लगायत अवस्थाहरू समावेश छन् जसले हृदयघात, स्ट्रोक र अन्य गम्भीर रोगको जोखिम बढाउँछन् । त्यसैगरी, व्यवहारजन्य कारकमा धूम्रपान, मदिरा सेवन, असन्तुलित आहार र शारीरिक गतिविधिको अभावले स्वास्थ्यमा नकारात्मक असर पार्दै दीर्घकालीन रूपमा मृत्युदर वृद्धि गर्ने भूमिका खेल्दछन् ।

१९९० देखि २०२१ सम्मका तथ्यांक संकलन गरी प्रकाशन गरेको ‘ग्लोबल बर्डेन अफ डिजिज २०२१’ नामक अध्ययन अनुसार विश्वभरि मृत्युका प्रमुख तीन कारणहरूमा मुटु सम्बन्धी रोग २८.६१ प्रतिशत, श्वासप्रश्वास सम्बन्धी संक्रमण तथा क्षयरोग १६.५ प्रतिशत र क्यान्सर १४.५ प्रतिशत छ ।

त्यसैगरी दक्षिणएशियामा मुटु सम्बन्धी रोग २४.७४ प्रतिशत श्वासप्रश्वास सम्बन्धी संक्रमण तथा क्षयरोग २०.८ प्रतिशत र श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगले १०.३८ प्रतिशत मृत्युका प्रमुख तीन कारण देखिएका छन् । पछिल्लो समय मुटु सम्बन्धी रोग अधिक बढेको देखिन्छ जुन १९९० मा प्रति लाख ५४.९३ थियो भने २०२१ मा यो दरमा वृद्धि भएर ८८.७६ प्रति लाख पुगिसकेको छ । जुन चिन्ताको विषय हो ।

सन् १९९० मा श्वास–प्रश्वास सम्बन्धी रोग विशेषगरी क्षयरोग र तल्लो श्वासनलीको संक्रमण मृत्युको प्रमुख कारकतत्व थियो । तर पछिल्लो समय क्षयरोग र तल्लो श्वासनलीको संक्रमणका कारणले मृत्यु हुने संख्यामा कमी आए पनि कोरोना महामारीको समयमा श्वास–प्रश्वास सम्बन्धी रोगको दरमा अचानक वृद्धि देखिएको छ ।

मृत्युलाई प्रभाव पार्ने प्रमुख जोखिम तत्वमा क्रमशः उच्च रक्तचाप, धूमपान र रगतमा उच्च मधुमेह पर्छन् । उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढ्दै जानुमा शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान र जीवनशैली, वायु प्रदूषण लगायत कारण हुन् ।

दीर्घ श्वास–प्रश्वासका लागि धूमपान प्रमुख कारण हो । यस्तै गरी वायु प्रदुषण, घरको धुवाँ, रासायनिक पदार्थ मिसिएको धुवाँको मुस्लोले श्वास–प्रश्वासको रोग बढिरहेको छ । श्वास–प्रश्वासको रोगमा लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धुवाँ तथा वायु प्रदूषणमा रहने व्यक्ति (ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन् ।

यस्ता रोगबाट जोगिन धूमपानदेखि टाढै रहनुपर्छ भने प्रदूषणबाट जोगिन आवश्यक छ । प्रदूषणबाट जोगिन बाहिरी वातावरणमा निस्कँदा मास्क लगाएर मात्र निस्कन आवश्यक हुन्छ । यसका साथै ग्रामीण क्षेत्रमा दाउरा तथा अन्य धुवाँ निस्कने वस्तुबाट खाना पकाउने कारणले पनि श्वास–प्रश्वासमा समस्या बढाउँछ ।

वायु प्रदूषणका प्रभावमा पनि उल्लेखनीय परिवर्तन आएको छ । १९९० को तुलनामा, विश्वभर वायु प्रदूषणका कारण हुने मृत्युदर प्रति लाख १३७.६३ बाट घटेर १०२.३९ पुगेको छ । विश्वभर यसलाई दोस्रो प्रमुख जोखिमको रूपमा मानिन्छ, त्यही दक्षिणएशिया र नेपालमा २०२१ मा वायु प्रदूषण सबैभन्दा बढी मृत्युको कारणको रूपमा देखिएको छ ।

घरायसी वायु प्रदूषण केही हदसम्म घटेको भए ता पनि यसले अझै पनि महत्वपूर्ण स्वास्थ्य जोखिमको रूपमा काम गरिरहेको छ । घरायसी वायु प्रदूषण घट्दै गएको भए पनि बाह्य वायु प्रदूषण वृद्धि हुँदै गएको छ, जसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ ।

विश्वभर वायु प्रदूषणका कारण हुने मृत्युदर प्रति लाख १३७.६३ बाट घटेर १०२.३९ पुगेको छ । विश्वभर यसलाई दोस्रो प्रमुख जोखिमको रूपमा मानिन्छ, त्यही दक्षिणएशिया र नेपालमा २०२१ मा वायु प्रदूषण सबैभन्दा बढी मृत्युको कारणको रूपमा देखिएको छ ।

यो बढ्दो वातावरणीय वायु प्रदूषणको कारण श्वास–प्रश्वास, एलर्जी, हृदय सम्बन्धी समस्या लगायत स्वास्थ्य समस्याहरू देखा परिरहेका छन् । यसले मानिसको जीवनशैली र स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । साथै, जलवायु परिवर्तनले पनि रोगहरूको फैलावट तथा भारमा वृद्धि गरेको छ ।

त्यसैले, प्रमाणमा आधारित नीतिनिर्माणका लागि थप अनुसन्धान आवश्यक छ । विगतमा नेपालमा अधिकांश मृत्यु सरुवा तथा संक्रामक रोगका कारण हुने गरेको थियो । पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको छ ।

‘बर्डेन अफ डिजिजको अध्ययन प्रतिवेदन २०१९’ मा नेपालमा हुने समष्टिगत मृत्यु, अल्पायुमा हुने मृत्यु र तिनका कारणहरू उल्लेख छ । यसका साथै प्रतिवेदनमा विभिन्न स्वास्थ्य समस्याको कारण हुने अशक्तता र मृत्यु तथा अशक्तताका जोखिम तत्वहरूको अवस्था र प्रवृत्तिहरूको विश्लेषण गरिएको छ ।

प्रतिवेदन अनुसार नेपालमा ३० वर्षको अवधिमा नसर्ने रोगका कारण हुने मृत्युदर दोब्बरभन्दा बढीले बढेको छ । सन् १९९० मा नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको भार ३१.३ प्रतिशत थियो । सन् २००० मा उक्त दर बढेर ४३.२ प्रतिशत पुगेको थियो । यस्तै, सन् २०१० मा ५९.१ र सन् २०१९ मा आइपुग्दा ७१.१ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ ।

यसले पनि नेपालमा नसर्ने रोगको सुषुप्त महामारी फैलिइरहेको देखाउँछ । मुटु तथा रक्तनली सम्बन्धी, मधुमेह, दीर्घ श्वास–प्रश्वास तथा क्यान्सर जस्ता नसर्ने रोग नेपालमा पनि मृत्युको प्रमुख कारण बन्नु चिन्ताको विषय बनेको छ ।

नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रूपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोग सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ ।

नेपालले नसर्ने रोगका कारणले अल्पायुमै हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ ।

(नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. धिमाल विश्व स्वास्थ्य संगठनको नसर्ने रोग रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूहको विज्ञ सदस्य समेत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?