२ फागुन, पोखरा । नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकपको सर्वाधिक सफल टोलीमा पर्छ । पुलिस र मनाङ मर्स्याङ्दीले सर्वाधिक ६ पटक उपाधि जितेका छन् । तर पुलिससामु सातौंपटक उपाधि जितेर कीर्तिमान बनाउने अवसर आएको छ ।
अहिले पोखरामा भइरहेको २४औ संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबले शनिवार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
१२ टोली सहभागी प्रतियोगितामा १० खेलपछि अब २ टोली मात्र उपाधि होडमा आइपुगेका छन् । दुवै टोली फाइनलसम्म आइपुग्दा लयमा देखिएका छन् ।
जसले जितेपनि विशेष
फाइनल खेल पोखरा रंगशालमा शनिबार दिउँसो २:३० बजे सुरु हुनेछ । पुलिस र ब्ल्याक बुल्स जसले जितेपनि आहारारा पोखरा गोल्डकपमा नयाँ कीर्तिमान बन्नेछ ।
पुलिसलाई फाइनल जित्दै कीर्तिमान रच्ने अवसर छ । पुलिसले उपाधि जितेमा कीर्तिमानी ७ पटक उपाधि जित्ने क्लब बन्नेछ । यसैगरी ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै च्याम्पियन बन्नेछ भने आहाराराले नयाँ विजेता पाउनेछ । त्यसैले जसले जितेपनि आहारारा पोखरा गोल्डकपका लागि त्यो विशेष हुनेछ ।
यस्तै संकटा क्लबले २ पटक उपाधि जित्दा आयोजक सहारा क्लब, एपीएफ र त्रिभुवन आर्मी एफसी समान १ पटक च्याम्पियन बनेका छन् । यस्तै अफ्रिकन युनाइटेडले एक पटक उपाधि जितेको छ ।
पुलिसले पहिलो र दोस्रो संस्करणमा लगातार उपाधि जितेको थियो भने त्यसपछि तीन संस्करणमा लगातार फाइनलमा पराजित भएको थियो । २०६३ मा सहभागी नभएको पुलिसले २०६४ देखि २०६६ सम्म लगातार तीन पटक जितेर उपाधिमा ह्याट्रिक गर्यो ।
पछिल्लो पटक पुलिसले २०७४ सालमा उपाधि जितेको थियो । यस्तै २०७६ मा पनि फाइनल पुगेको पुलिस मनाङसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
फाइनलका लागि दुवै टोली तयार
शुक्रबार भएको प्रि म्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्सका प्रशिक्षक र कप्ताले फाइनलका लागि तयार भएको जनाएका छन् । नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा तयार रहेको बताए । ‘मानसिक रूपमा हामी तयार छौँ । हामी ११औं पटक फाइनल खेल्दैछौं र सातौंपटक च्याम्पियन बन्ने लक्ष्यमा छौं’ घिमिरेले भने ।
घिमिरेले फाइनलसम्म आउँदा तीन खेल राम्रो भएको र त्यही स्पिरिट फाइनलमा पनि कायम राख्ने बताए । ‘हामीले ३ खेलमा राम्रो खेलेर आएका छौँ । टिम स्पिरिट राम्रो छ’ घिमिरेले भने, ‘हाम्रो टिम योङ छ र नयाँ खेलाडीहरु छन् । फाइनलका लागि तयार छौं ।’
पुलिसका प्रशिक्षक चेतन घिमिरेले उज्वेकिस्तानको टिम टेक्निकल्ली र ट्याक्टिकल्ली राम्रो रहेको बताए । प्रशिक्षक घिमिरेले युवा खेलाडी भएपनि आफ्नो टिममा विश्वास रहेको र सातौं पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा रहेको बताए । ‘म मेरो खेलाडीमा विश्वास गर्छु। हामी तयार छौं । जितकै लाग्ने खेल्ने र इतिहास बनाउने यो सुनौलो अवसर छ हाम्रो लागि’ उनले आत्मविश्वासका साथ भने ।
यस्तै पुलिसका कप्तान राम वाजीले पुलिस टिम पहिले र अहिले धेरै फरक भएको र यस पटक उपाधि जित्नु टिमका लागि महत्वपूर्ण हुने बताए । ‘पहिला पुलिसका स्टार खेलाडीहरु थिए । अहिले फेरिएको छ । नयाँ खेलाडीहरु छन् तर युवा जोश छ’ वाजीले भने, ‘चुनौती छ तर हामी तयार छौं । इतिहास बनाउने अवसर छ’ । वाजीले पलिसको एउटै रणनीति नहुने र प्रशिक्षकले चेन्ज गरेर खेलाइरहेको बताए ।
पुलिसका लागि फाइनलका आशिष राई र सुजन मगर हुने छैनन् । नेपाल युथ टिमबाट मैत्रीपूर्ण खेल खेल्न काठमाडौं गएकोले सेमिफाइनलमा पनि दुई खेलाडी थिएनन् । यी दुई खेलाडी नहुँदा फाइनलमा केही असर हुने तर धेरै फरक नपर्ने कप्तान वाजीले बताए ।
‘उनीहरु नहुँदा केही फरक त पर्छ तर धेरै असर गर्दैन । अरु खेलाडीका लागि पनि राम्रो अवसर हुनेछ । हाम्रो स्पिरिट राम्रो छ त्यही अनुसार खेल्नेछौं’ उनले भने ।
ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले फाइनल खेल ५०-५० प्रतिशत हुने बताए । ‘फाइनल खेल सधैँ ५०-५० हुन्छ । हामीले पहिलो भन्दा दोस्रो खेलमा राम्रो प्रदर्शन गर्यौं । फाइनलका लागि तयार छौं र राम्रो गर्ने प्रयास गर्नेछौं’ उनले भने ।
अब्दुलाजिजले पुलिस टिमको खेल हेरेको र स्टार खेलाडी नरहेपनि फास्ट गेम रहेको बताए । ‘पुलिसका ठूला स्टार खेलाडी छैन । तर उनीहरु फास्ट र टेक्निकल्ली गेम खेलिरहेका छन् । फाइनल खेल राम्रो हुनेछ ।’ यसैगरी ब्लयाक बुल्सका कप्तान जाखिनगिर अख्मादोभले फाइनलका लागि तयार रहेको र राम्रो खेल हुने बताए ।
यस्तो छ फाइनल यात्रा
पुलिसले फाइनलसम्म आइपुग्दा ३ खेल खेलेको छ भने ब्ल्याक बुल्सले २ खेल खेलेको छ । पुलिस र ब्ल्याक बुल्सले आफ्नो सबै खेल निर्धारित समयमै जितेको थियो ।
पुलिसले २४औं संस्करणको उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो । त्यस खेलमा उज्वल राईले गोल गरेका थिए । यस्तै पुलिसले क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले पराजित गर्दा कप्तान राम वाजी र विवेक पाण्डेले गोल गरेका थिए ।
सन्जीव लामाको एक मात्र गोलमा पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर ११औं पटक पोखरामा फाइनल पुगेको हो ।
पुलिसले तीन खेल जित्दा ४ गोल गरेको छ भने कुनै गोल खाएको छैन । पुलिसले सुरुको तीन गोल कर्नरबाट गरेको थियो । त्यसमा पनि दुई कर्नर सिधै गोलमा परिणत भएको थियो ।
विभागीय टिम भएकोले पुलिसले अधिकांश समय सँगै प्रशिक्षण गर्ने हुँदा त्यसले फाइदा पुग्ने पुलिसका प्रशिक्षक चेतन घिमिरेले बताए । ‘निश्चय पनि हामी ९ महिनाजति सँगै प्रशिक्षण गर्छौं । यसले गर्दा पनि सजिलो हुन्छ । म्याच सिचुएसन अनुसार तयारी गर्छौँ । डेड बलमा पनि हामीले राम्रो प्राक्टिस गरिरहेका थियौं र त्यो देखिएको पनि छ’ उनले भनेका छन् ।
उता बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्ल्याक बुल्सले क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गरेको थियो । सेमिफाइनलमा ब्ल्याक बुल्सले पाँच पटकको विजेता थ्रीस्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।
उज्बेकी टोलीले दुई खेलमै ७ गोल गरिसकेको छ भने कुनै गोल व्यहोरेको छैन । फाइनल पुग्ने दुवै टिमको समानता भनेको दुवै टिमले कुनैपनि गोल व्यहोरेका छैनन् ।
पुलिसका किपर सत्रुघन चौधरीले ३ र ब्ल्याक बुल्सका नेपाली किपर सुदिप सुनारले २ खेलमा क्लिनसिट राखेका छन् । फाइनलमा दुवै किपरका लागि त्यो लय कायम राख्न चुनौती हुनेछ ।
‘नेपाल रमाइलो लाग्यो’
ब्ल्याक बुल्स पहिलो पटक नेपालमा आएर कुनै पनि प्रतियोगिता खेलेको यो पहिलो पटक हो । त्यसमा पनि मोफसलकै चर्चित गोल्डकप आहारारामा पहिलो सहभागितामै फाइनल पुग्नु टिमको लागि अर्को विशेष क्षण हो । जसले गर्दा उज्बेकी टिम र खेलाडी निकै रमाइलो मानिरहेका छन् ।
यसअघि पनि नेपाल आएर ए डिभिजन लिगमा खेलिसकेका अब्दुलाजिज ब्ल्याक बुल्सको प्रशिक्षक छन् भने मनाङ मर्स्याङ्दीबाट लिग खेलेका साइदजमोल दाभलातजनोभ पनि ब्ल्याक बुल्सबाट खेल्न नेपाल आएका छन् ।
उज्बेकिस्तानका कूल १३ खेलाडी उक्त टिममा छन् । त्यस बाहेक नेपालकै डिपेण्डर रणदिप पौडेल र गोलकिपर विशाल केसी ब्लयाक बुल्स टिममा छन् । अर्का खेलाडी सान्जियोलिम्बु हङकङबाट आएका हुन् ।
यसअघि पनि नेपालका खेलिसकेका ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिले पोखरा रमाइलो लागिरहेको बताए । ‘नेपाल रमाइलो छ । पहिलो पटक आउँदा काठमाडौं मात्र बसेको थिएँ । पोखरा धेरै सुन्दर छ’ उनले भने, ‘नेपालीहरु पनि उज्बेकी जस्तै छन् ।’ उज्बेकिस्तानको उमेर समुहको राष्ट्रिय टिमबाट पनि खेलेका अब्दुलाजिले अर्को वर्ष पनि आउने आशा राखे ।
यस्तै कप्तान जाखोनगिर अख्मानोभले पनि नेपाल रमाइलो लागेको बताए । ‘नेपाल धेरै राम्रो लाग्यो । नेपाल एकदम मन पर्यो’ उनले भने । फाइनलमा राम्रो प्रदर्शन गर्ने समेत बताए ।
आहारारा पोखरा गोल्डकपमा अहिलेसम्मका विजेता
२०५८ : नेपाल पुलिस क्लब
२०५९ : नेपाल पुलिस क्लब
२०६० : मनाङ मर्स्याङ्दी क्लब
२०६१ : मनाङ मर्स्याङ्दी क्लब
२०६२ : अफ्रिकन युनाइटेड
२०६३ : थ्रीस्टार क्लब
२०६४ : नेपाल पुलिस क्लब
२०६५ : नेपाल पुलिस क्लब
२०६६ : नेपाल पुलिस क्लब
२०६७ : थ्रीस्टार क्लब
२०६८ : मनाङ मर्स्याङ्दी क्लब
२०६९ : थ्रीस्टार क्लब
२०७० : सहारा क्लब
२०७१ : थ्रीस्टार क्लब
२०७२ : मनाङ मर्स्याङ्दी क्लब
२०७३ : मनाङ मर्स्याङ्दी क्लब
२०७४ : नेपाल पुलिस क्लब
२०७५ : थ्रीस्टार क्लब
२०७६ : मनाङ मर्स्याङ्दी क्लब
२०७७ : संकटा एफसी
२०७८ : एपीएफ एफसी
२०७९ : संकटा एफसी
२०८० : त्रिभुवन आर्मी एफसी
प्रतिक्रिया 4