+
+
Shares

एमाले निकट कर्मचारीको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, राति ११ बजेपछि मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १५:०६
अध्यक्षका दाबेदारद्वय रेवन्त गौतम र भवानी दाहाल । उनीहरुबीच निर्वाचनबाट नयाँ कार्यसिमिति चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन एक दिन लम्बिइसकेको छ ।

२ फागुन, काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ ।

सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेकाबेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजेपछि मतदान सुरु गर्ने योजना छ ।

संगठनको अध्यक्षमा रेवन्त गौतमभवानी दाहालले दाबी गरेका छन् । गौतम समर्थक निर्वाचनबाट कार्यसमिति चयन गर्नुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा कार्यसमिति घोषणा गर्नुपर्ने पक्षमा छन् । यसमा सहमति नजुट्दा संगठनको महाधिवेशन एक दिन लम्बिसकेको छ ।

निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन माघ ३० गतेदेखि फागुन १ गतेसम्म गर्ने तालिका थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्दै सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए ।

तर अधिकांश प्रतिनिधिहरु निर्वाचनमा जानुपर्ने पक्षमा उभिएपछि सहमति जुट्न सकेन । त्यसैले महाधिवेशन लम्बिएकाले आजबाट बबरमहलको कार्की ब्यांक्वेटमा निर्वाचन कार्यक्रम सुरु गरिएको छ ।

निर्वाचन तालिका अनुसार उम्मेदवारहरुले दरखास्त दिने समय आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म तोकिएको छ । पहिलो नामावली प्रकाशन साँझ ६ बजेदेखि ७ बजेसम्म हुने छ ।

उम्मेदवारी फिर्ता लिने समय साँझ साढे ७ बजेदेखि १० बजेसम्म छ । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । लगत्तै मतदान सुरु गर्ने योजना छ ।

हेर्नुहोस् निर्वाचन तालिका–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?