२ फागुन, काठमाडौं । यही फागुन ११ गते बुटवलमा हुन लागेको शाइन रेसुंगा राष्ट्रिय १० हजार मिटर रन प्रतियोगिताको गूडविल एम्बासडरमा कीर्तिमानी नेपाली धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धरलाई नियुक्त गरिएको छ ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागिएको प्रतियोगितामा सद्भावना दुत नियुक्त गरिएकोमा आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् ।
उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नमा सबै जना लाग्नुपर्ने पनि बताएका छन् ।
‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रियस्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला/पुरुष खुल्ला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ ।
खुल्लातर्फको महिला/पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो ।
खुल्लातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4