+
+
Shares

वीर अस्पतालको निर्देशक बन्न क-कसको दौडधुप ?

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको कार्यकल सकिनै लाग्दा नयाँ निर्देशकका आकांक्षीहरू शक्तिकेन्द्रको दौडधुपमा लागिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १७:२२
बायाँबाट डा. दिलिप शर्मा, डा. समाज गौतम, डा. अनुपमा कार्की र डा. सन्तोष पौडेल।

२ फागुन, काठमाडौं। वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको कार्यकल सकिन लागेसँगै निर्देशकका लागि केही आकांक्षी चिकित्सक राजनीतिक भेटघाटको दौडधुपमा रहेका छन्। डा. पौडेलको कार्यकाल आगामी आइतबार (फागुन ४) मा सकिँदैछ ।

डा. पौडेलले आफैँ पनि दोहोरिने इच्छासहित शक्तिकेन्द्र धाइरहेका छन् । ‘दुई वर्षमा केही काम सुधारका गरेको छु । अझै वीरको स्वास्थ्य सेवा सुधार गर्ने कार्ययोजना छ,’ डा. पौडेलले अलाइनखबरसँग भने, ‘एक कार्यकाल पुनः दोहोर्‍याउन पाए हुन्थ्यो भन्ने अपेक्षा छ ।’

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रुपमा समेत काम गरिसकेका डा. दिलिप शर्माको सम्भवना बलियो रहेको छ । वीर अस्पतालकै कलेजो रोग विभागमा कार्यरत डा. शर्माले चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारको रुपमा काम गरिसकेका छन् ।

यस्तै अर्को सम्भावित अनुहारमा हाडजोर्नी विशेषज्ञ डा. समाज गौतम छन् । अस्पतालका सहायक निर्देशकसमेत रहेका उनले आफ्नो दाबी गरेको बुझिएको छ । कांग्रेस निकट रहेका डा. गौतमलाई निर्देशक बनाउनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सकारात्मक रहेको उच्च स्रोतले बतायो ।

वीर अस्पतालको उपनिर्देशक भइसकेकी छाला रोग विशेषज्ञ डा. अनुपमा कार्की पनि निर्देशक बन्नेमा दौडधुपमा लागेकी छिन् । अस्पतालको निर्देशक सत्तारुढ दल नेकपा एमालेकै कोटाबाट बनाउनुपर्नेमा दलनिकट चिकित्सकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोड दिइरहेको बुझिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट उपकुलपति र रेक्टर, रजिस्ट्रारमा माओवादी केन्द्रको कोटाबाट नियुक्त गरिएकोले निर्देशक एमालेबाट हुनुपर्ने एमाले निकट चिकित्सकले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

कांग्रेस नेता पौडेलले नेतृत्व गरिरहेको मन्त्रालय अन्तर्गतको नियुक्तिमा प्रधानमन्त्री ओलीले चासो नदेखाएमा वीर अस्पतालको नेतृत्व डा. समाजले पाउने सम्भावना बढी देखिन्छ ।

उच्च स्रोतका अनुसार वीरको निर्देशक पार्टीगतगत कोटाका आधारमा हुने हुँदा कसले पाउँछ भन्नेमा अहिले निश्चित भइसकेको छैन । यद्यपी चार जना आंकक्षी शक्तिकेन्द्रकहाँ धाइरहेका छन् ।

एमालेको कोटामा पर्दा प्रधानमन्त्रीको क्याबिनेट चिकित्सक समेत भइसकेकाले डा. शर्मा वा दोहोरिने आंकक्षा राखेका डा. पौडेलले प्राप्त गर्ने सम्भावना रहन्छ । कांग्रेस कोटामा पुग्दा डा. गौतमले जिम्मेवारी पाउने सम्भावना रहेको आंकलन गरिएको छ। डा. गौतम १०औं तहका कर्मचारी हुन् । डा. कार्की प्रोफेसर र उपनिर्देशक समेत भइसकेकाले वरिष्ठताको हिसाबले पनि उनको दाबी छ।

‘अहिलेसम्म वीरमा दुई जना महिलाले निर्देशकको जिम्मेवारी पाउनुभएको छ। न्याम्सको पदाधिकारीमा कुनै पनि महिला समावेश नभएकाले वीरको निर्देशक डा. कार्कीलाई बनाउनुपर्ने राय पनि आएको छ,’ उच्च स्रोतले भन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?