+
+
Shares

गंगारामदेखि गंगासम्म

गुरुले एक हातमा कपाल अनि अर्को हातमा पानी लिन लगाउनुभयो । कपाल विसर्जनको मन्त्र गुरुजीले पढेर ल बगाइदिनुस् भन्नुभयो । मैले नदी बगेको पट्टि उल्टो फर्केर फुत्तै फालिदिएँ । कपालसँगै क्यान्सर बगाइदिएँ जस्तो लाग्यो । मन हलुका भयो ।

गीता मैनाली गीता मैनाली
२०८१ फागुन ३ गते २२:१६

सन् २०२३ जनवरी २५ देखि मेरो बास प्रायःजसो भारतको गंगाराम हस्पिटलमा हुने गरेको थियो । अर्थात् तीन वटा जनवरी महिनाभरी मेरो बास हस्पिटलमा नै रह्यो । यसपालि चाहिं क्यान्सर रोगका हरेक उपचार विधि अपनाइसकेको यो शरीर इमुनोथेरापी र रेडियसन पछिको स्वास्थ्य परीक्षणका लागि गंगाराम हस्पिटल गएकी थिएँ ।

दुई महिनापछि हस्पिटल जाँदा एक महिनाअघि नै गीतिका मलहोत्रालाई क्यान्सरले स्वर्गलोक लगिसकेछ । उनी मेरो ६ नम्बर बेडसँगै रहेको ५ नम्बर बेडकी छिमेकी साथी थिइन् । उनी असाध्यै राम्री, मिलनसार विद्वान् थिइन् । यसपालि हस्पिटलमा जाँदा किन किन उनको यादले नरमाइलो लाग्यो ।

जुन दिन हस्पिटलले मलाई क्यान्सर मुक्त रिपोर्ट दियो, त्यसै दिन यता भरतपुर क्यान्सर हस्पिटलमा ज्योतिष एवं साहित्यकार कल्पना अधिकारीको क्यान्सरले कालको रूप धारण गरेको समाचार सामाजिक सञ्जालमा देखें । रिपोर्ट हातमा लिने बित्तिकै फेसबुकको भित्तामा कल्पनालाई श्रद्धाञ्जली दिएँ ।

दुई वर्षसम्म क्यान्सरसँग घमासान युद्धपछिको जितमा विजयोत्सव मनाउन घरमा आमा हुनुहुन्नथ्यो । न त हाम्री गीतेले क्यान्सर जिती भनेर चोकमा हल्ला गर्दै सबैलाई चिया खुवाउने गोपी दाजु हुनुहुन्थ्यो । विजयोत्सव विनाको जीत शून्य प्रायः अवस्थामा थिएँ म ।

हरेक दिन मेरो हालखबर बुझ्ने अमेरिका निवासी गुरु बहिनी कृपा भण्डारीले फोनमा भनिन्– ‘गीता दिज्यु, यसपालिको महाकुम्भ १४४ वर्षपछि आएको रे ! हामी पनि जाउँ न वाई डुब्की लगाउन !’ त्यसोभए आउन त जाउँ भनें ।

कृपा आउने निश्चित भयो । यता हाम्रा गुरुजी कालीबाबा बम्बईमा दश महाविद्याको यज्ञमा हुनुहुन्थ्यो । यज्ञ समापनपछि कालीबाबा महाकुम्भ स्नानमा जाने कुरा सुनेकी थिएँ । तर मिति थाहा थिएन । बाबासँगै रहनुभएका बाबुराम खरेल दाजुलाई फोन गरेर महाकुम्भ यात्राबारे जानकारी लिएँ र उहाँहरूको प्लेन टिकट पठाइदिन भनें ।

उहाँहरूले चार हजारमा लिएको टिकट त्यस दिन १८ हजार पुगेछ । दिल्लीबाट प्रयागराजसम्मको दुई वटा टिकट बुक गरें । जनवरी २२ तारिख कृपा दिल्ली आइपुगिन् । २४ तारिख साँझ कालीबाबा पनि दिल्ली आश्रममा पुग्नुभयो ।

२५ जनवरीमा कालीबाबासँगै बाबुराम खरेल, पवन वीर सिंह, अर्जुन जैन, अमेरिकाबाट कृपा, नेपालबाट गीता, आसामबाट ज्योत्सना र हैदरावादबाट प्रेमलता माताजी समेत आठ जनाको टोली महाकुम्भ स्नानका लागि जहाजमा बस्यौं ।

दिनको एक बजे जहाज उड्यो । प्रयागराज एयरपोर्टमा निरन्जनी अखाडाको तर्फबाट कालीबाबाको भव्य स्वागत भयो । माला र दोसल्ला हामीले पनि पायौं । त्यो रमाइलो उत्सवमा आमालाई सम्झिएँ । मन एकतमासको भयो ।

हामी सबै जना गोलो भएर दाहिने हत्केलामा पानी लिएर नदीमा उभियौं । गुरुजीले संकल्प मन्त्र पढ्नुभयो । हामीले त्यसैलाई दोहोर्‍यायौं । सबै डुप्की लगाउन थाले । मैले एक वर्ष अगाडि किमो दिंदा जरैदेखि उखेलिएको कपालको गुजुल्टो लगेकी थिएँ । त्यसको जानकारी गुरुजीलाई गराएँ

हामीलाई लिन आएका चार वटा गाडीमध्ये गुरुजीको गाडी पहिला र कृपा, बाबुराम दाजु, पवनजी र म बसेको गाडी पछाडि गुड्दै थियो । हाम्रो गन्तव्य सेक्टर ९ निरञ्जनी अखाडा थियो । अखाडाले कालीबाबाको लागि भीआईपी पासको व्यवस्था गरेर चार वटा गाडी पठाएको रहेछ ।

पहिला त लाइनमै गाडी गुड्दै थियो । हामी गाडीको सिसाभित्रबाट बाहिरको दृश्यावलोकन गर्दै रमाउँदै थियौं । एकसय किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको नदी किनारका टेन्ट, पण्डाल बस्तीको झिलिमिली र पार्किङमा राखिएका गाडी आँखाले नभ्याउने त्यो दृश्यले मन त्यसै त्यसै उत्साहित हुँदैथियो ।

प्रयागराज प्रवेशद्वारमा पुगेपछि गाडी, मोटरसाइकल र मान्छेको जाम खुलाउन सुरक्षाकर्मीलाई हम्मे–हम्मे परिरहेको देख्यौं । हामी बसेको गाडी पवनजीले हाँक्नुभएको थियो । प्रहरीलाई सघाउन ड्राइभर राखेर पवनजी उत्रिनुभयो ।

त्यो भीडमा भीआईपीलाई प्राथमिकतामा राखेर गाडी पास गराउँदै गर्दा कताबाट मोटरसाइकल आएर हाम्रै गाडी अगाडि तेर्सियो । तीन वटा गाडी पास भयो । हामी बसेको गाडी लाइनबाट छुट्यो । सुरुमा त बाहिरको दृश्य हेरेर रमाउँदै थियौं । हाम्रो गाडी तीन घण्टासम्म त्यहीं अड्कियो ।

त्यो भीड, हर्नको आवाज त्यही माथि पिसाबले च्यापेर कृपा नीलो–कालो हुन थालिन् । मलाई बेस्कन भोक र तिर्खाले सताउन थाल्यो । हामीलाई लिन गएका अखाडाका दुई जना भाइहरूले कताबाट हो समोसा र पानीको बोतल लिएर आए । मैले खाएँ तर कृपाले खाइनन् ।

ती भाइहरूले गाडी छुटाउन प्रहरीलाई धेरै आग्रह गरे । उनीहरूको बिन्ती सुन्नुको सट्टा प्रहरी इन्स्पेक्टरले गाडी ब्याक गर्न लगाएर कडा स्वरले चाबी माग्न थाल्यो । म एकपटक सिसा खोलेर प्रहरीलाई आग्रह गरुँ भनेको बाबुराम दाजुले तपाईं चुप लागेर बस्नुस् बहिनी, यहाँ हामी बोल्न हुन्न भन्नुभयो ।

रातिको नौ बजिसक्यो । एकछिन पछि दाजुले गाडीको ढोका खोलेर लगेज निकाल्दै ल हिंड्नुस् बहिनी त्यही पर दुई किलोमिटरको बाटो हो । एक्कैछिनमा पुगिन्छ भन्न थाल्नुभयो । म गाडीको ढोका खोलेर हाम्रै गाडीको पछाडि भीड नियन्त्रण गर्दै गरेको इन्स्पेक्टरतिर गएँ ।

मैले उसलाई गएर भने– ‘एक्सक्युज मि सर ! उसले मेरो सेतो कपाल उम्रँदै गरेको मुडुलो टाउकोतिर हेर्‍यो । सर मैं क्यान्सर पेसेन्ट हुँ । कालीबाबा महाराजजीके साथ आई हुँ । महाराजजीका चार गाडी में तीन पास हो गए । हमारी एक गाडी छुट गया । सर में ये रास्ता नही चल सक्ती हुँ ।’

बोली नटुङ्गिंदै ओही गाडी हे क्या ? हाँ जी सर । चलो गाडीके अन्दर बैठ जाओ । ए रास्ता खुल्ते ही मै आपको छोडदुंगा । थ्याङ्क्यु सर भनेर गाडीमा बसें । कृपा पनि भित्र छिरिन् । बुङ बुङ धुलो, माहुरीको गोलो जस्ता मान्छे अनि गाडीको हर्न हामी त ढोका खोल्ने बित्तिकै आत्तिइसकेका थियौं ।

दाजु हामीलाई फकाउँदै हुनुहुन्थ्यो । त्यहीं पर हो बैनी जाउँ हिंड्नुस् । हामी दुईमा आफ्नै ज्यान घिसार्ने आँट थिएन । एउटा लगेज दुई वटा गह्रौं झोला थिए । बाबुराम दाजुले कुरा नबुझ्दा गोपी दाजुको याद आयो । गुरुजीले हामी छुटेकालाई एक कल फोन नगरेकोले आमाको याद आयो । कृपा न्युयोर्कमा हिउँ परेकाले तीन दिनसम्म जहाजको यात्रापछि भारत आइपुगेकी थिइन् । उनलाई जेट ल्याक थियो ।

हामी दुवैको मन खुम्चिएर यति सानो भएछ कि गाडीमा अँगालो हालेर बेस्कन रोयौं । बाबुराम दाजुलाई उताबाट फोन आयो । पवनजी गाडी लिएर हामीलाई लिन आइसक्नुभएछ । त्यत्ति नै बेला यता हाम्रो गाडी छुट्यो । हाम्रो घुँक्क-घुँक्क रुवाइको आवाज बन्द भयो तर आँखाबाट आँशुको बलिन्द्र धारा रोकिएन ।

पाँच किलोमिटर पार गरेपछि निरञ्जनी अखाडाको पार्किङमा गाडी रोकियो । हामी पुगेको खबर पाएर ऊ पर भीआईपी रुमको अगाडि गार्डेनमा कालीबाबासँगै थुप्रै मान्छे बाहिर निस्केको देख्यौं । अनि हामी छुटेकोमा झन् चित्त दुख्यो । ट्वाइलेट खोज्ने निहुँले हामी अर्कै बाटो लाग्यौं । जाँदा जाँदा ट्वाइलेट कहीं पाएनौं । भीआईपी एरिया सकेपछि बल्ल लाइनै ट्वाइलेट देख्यौं र फ्रेस भयौं ।

अनि जुन बाटो आएको त्यही बाटो फर्कियौं । हामी त धेरै पर पो पुगिसकेका रहेछौं । त्यो बीचमा बाबुराम दाजु, पवनजी लगायत सबै जना आमीलाई खोज्न हिंड्नुभएछ । दाजु र गुरुजीले पनि कति धेरै फोन गर्नुभएछ । ब्यागमा फोन थियो हामीले घण्टीको आवाज नै सुनेनौं ।

मनको शुद्धी महाकुम्भको अवसर पारेर गंगामा डुब्की लगाएर गरें । यतिबेला मेरो तन र मन स्वस्थ एवं पवित्र छ भन्ने सकारात्मक भाव मनमा पैदा भयो । खुसी हुने बहाना फर्किंदा बाटोभरी हामी हाँसेको हाँस्यै भयौं ।

भीआईपी रुमको करिडोरमा पुग्ने बित्तिकै पवनजीले सोध्नुभयो– ‘कहाँ चली गएथे ?’ जवाफमा ट्वाइलेट भनें । ट्वाइलेट तो अन्दर ही थे भन्दै रुमभित्र पस्न आग्रह गरे । त्यसदिन हाम्रै कारणले दुःख पाउनेमा पवनजी पर्नुभयो । कोठामा छिरेर गुरुजीलाई दर्शन गर्‍यौं र पछाडि भुईंमा ओछ्याइएको म्याटमा बस्यौं ।

सबै जना सोफामा बसेका थिए । त्यति बेला हामीभित्र रिसराग सबै मरिसकेको थियो । तर एकछिन अगाडि आफ्नै बचकना मनको द्वन्द्व सम्झेर कता कता लाज र सरमले गर्दा गुरुजीको अगाडि बस्ने आँट आएन । कोठामा थ्रीस्टार होटलको सुविधा थियो ।

भोलिपल्ट बिहान संगम घाटसम्म जानको लागि भीआईपी पाससँगै दुई वटा गाडी र गार्ड अखाडाले उपलब्ध गराएको थियो । आधा बाटोसम्म दुवै गाडी सरर्र गयो । संगमघाट जाने दोबाटोमा पुगेपछि फेरि पनि हाम्रो गाडीलाई रोकिदियो । त्यो भीडमा गुरुजीको गाडी पनि बामे सर्दै गुडेको थियो ।

गुरुजी बसेको गाडी पछिपछि हिंड्ने भनेर हामी आफ्नो गाडीबाट ओर्लियौं । हाम्रो थैलाहरू डिक्कीमा राख्ने भनेर गुरुजीको गाडीको डिक्की खोलेर थैला राख्यौं । त्यत्ति नै बेला बाबुराम दाजुले हामीलाई धकेल्दै भित्र छिर्न भन्नुभयो । कृपा र म डिक्की थित्र छिर्‍यौं । ढोका लगाउने निहुँ पारेर दाजु पनि छिर्नुभयो । हामी त पछाडि फर्केर बस्यौं तर दाजुलाई बस्न पुग्ने ठाउँ थिएन । बाबुराम दाजुले लुगाको पोकोमा शिर राखेर हाम्रो खुट्टापट्टि शरीर तेर्स्याउनुभयो ।

कृपा र म सिसाबाट बाहिरको दृश्य देखेर डिक्कीमा भए पनि गुरुको गाडीमा बस्न पाएकोमा दङ्ग परेर हाँस्यौ । सबै जना हाँसे । बिचरा दाजु हल न चलको अवस्थामा पल्टिनुभएको थियो । तर हाम्रो लागि त्यो नै सौभाग्यको कुरा थियो ।

चौबाटोबाट घाटतर्फ लाग्ने बित्तिकै चारैतिरबाट मान्छेको भीड माहुरीको गोलो सलबलाउँदाको जस्तै दृश्य देखिन्थ्यो । विश्वमा कहीं पनि यत्ति धेरै मान्छेको भीड देख्न सम्भव छैन भन्ने निष्कर्ष हामीले निकाल्यांै । संगमबाट सात सय मिटर अगाडि हनुमान गेटमा भीआईपी पार्किङ रहेछ । गाडीबाट ओर्लेर कुँजिएको खुट्टा तन्काउँदै गेट पारि गयौं ।

हाम्रो सुरक्षा गार्ड अशोक एकछिन सबै जना यहीं बस्नुस् म नुहाउन सुविधा र सफा घाट पत्ता लगाएर आउँछु भनेर गए । एकैछिनमा आएर भने चलो चलो फिर भीड जाम हो जायगा । हामी सबै अशोकको पछि लाइनमा बामे सर्दै अगाडि बढ्यौं । घाटमा पुगेपछि किनारामा अशोक हाम्रो कपडाहरू कुरेर बसे ।

हामी सबै जना गोलो भएर दाहिने हत्केलामा पानी लिएर नदीमा उभियौं । गुरुजीले संकल्प मन्त्र पढ्नुभयो । हामीले त्यसैलाई दोहोर्‍यायौं । सबै डुप्की लगाउन थाले । मैले एक वर्ष अगाडि किमो दिंदा जरैदेखि उखेलिएको कपालको गुजुल्टो लगेकी थिएँ । त्यसको जानकारी गुरुजीलाई गराएँ ।

उहाँले छिटो ल्याउनुस् भन्नुभयो । एक हातमा कपाल अर्को हातमा पानी लिन लगाउनुभयो । कपाल विसर्जनको मन्त्र गुरुजीले पढेर ल बगाइदिनुस् भन्नुभयो । मैले नदी बगेको पट्टि उल्टो फर्केर फुत्तै फालिदिएँ । कपालसँगै क्यान्सर बगाइदिएँ जस्तो लाग्यो । त्यसपछि बल्ल मन हलुका भयो ।

शरीरको शुद्धीकरण दुई वर्ष लगाएर गंगाराम हस्पिटलले गर्‍यो । मनको शुद्धी महाकुम्भको अवसर पारेर गंगामा डुब्की लगाएर गरें । यतिबेला मेरो तन र मन स्वस्थ एवं पवित्र छ भन्ने सकारात्मक भाव मनमा पैदा भयो । खुसी हुने बहाना फर्किंदा बाटोभरी हामी हाँसेको हाँस्यै भयौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?