३ फागुन, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।
खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ । पुलिसले ११औं पटक फाइनल खेल्न लागेको हो भने ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।
पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर फाइनल पुगेको हो ।
बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो । क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गरेको ब्ल्याक बुल्सले पाँच पटकको आहारारा पोखरा गोल्डकप विजेता थ्री स्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।
पुलिसले २४ मध्ये २३ संस्करण खेलेको छ र आहारारा पोखरा गोल्डकपमा कीर्तिमान बनाउने अवसर छ । पुलिसले फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख १ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी स्कुटर प्राप्त गर्नेछ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार र अवार्ड प्राप्त गर्नेछन् ।
सर्वाधिक गोलकर्तामा ब्ल्याक बुल्सका साइदजमोल दाभालातजोनोभ र साभकातजोन सात्तोरोभ छन् । दुवैले २-२ गोल गरेका छन् । ब्ल्याक बुल्सका अन्य ३ खेलाडीले पनि एक-एक गोल गरेका छन् । यस्तै पुलिसबाट उज्वल राई, विवेक पाण्डे, राम वाजी र सन्जिव लामाले एक-एक गोल गरेका छन् ।
प्रतिक्रिया 4