+
+
Shares
उहिलेका कुरा :

आमाहरूका दुःख र बाहरूको इज्जत

यो लाज र इज्जत पनि गज्जबकै कुरा रहेछ। बा, दाइहरूले त्यही काम गर्दा जाने इज्जत आमा दिदीहरूले गर्दा चैं नजाने। आमा, भाउजूहरूले भारी बोकेर धान्दिनुपर्ने।

रेवतीराज त्रिपाठी रेवतीराज त्रिपाठी
२०८१ फागुन ३ गते २२:०२

तीसको दशकमा गाउँलाई शहरसम्म जोड्ने बाटो थिएन। गाउँमा कोही बिरामी पर्‍यो भने बोकेरै अस्पताल दौडाउनुपर्दथ्यो। तर कोही बिरामी परेको छ अस्पताल लैजानुपर्छ भन्ने सुन्नु मात्र पर्दथ्यो छिनभरमा पचासभन्दा बढी छिमेकी जम्मा भइसक्थे। कसैलाई बोलाउनै नपर्ने।

टेलिफोन नभएको बेला के तत्वले जोडेको हुन्थ्यो गाउँलाई यसरी छिमेकीलाई जिउँदाको जन्ती अनि मर्दाको मलामी भन्नुको अर्थ त्यसमै झल्कन्थ्यो। जति झगडा गरे पनि बोलचाल बन्द भए पनि पहिले काँध थाप्न उही आइहाल्थ्यो। झगडा गर्नु र मिल्नुको आफ्नै समाजशास्त्र थियो। सँगै बस्दा लात्ती लाग्छ, अँगेनाका दाउरा पनि नठोसी बल्दैनन् भनिन्थ्यो र हुन्थ्यो पनि त्यस्तै। तनलाई कष्ट भए पनि मनलाई आनन्द। सानो खेतबारी, एकहल गोरु, एक–दुइटा गाई–भैंसी र दुई–चार वटा बाख्रा–भेडा परिवारका आधारभूत कुरा थिए।

गाउँमा बाटो नपुग्नुको अर्थ गाउँको उत्पादन शहरसम्म पुर्‍याउन र शहरबाट नुनतेल गाउँसम्म पुर्‍याउन बोकेरै लैजानुपर्थ्यो। यो बोक्ने काम बा, दाइहरूको होइन आमा, दिदी, भाउजू र बुहारीहरूको भागमा पर्दथ्यो। बा, दाइहरू त दौरा–सुरुवालमा ठाँटिएर छाता ओढेर झर्नुहुन्थ्यो शहरतिर। बा, दाइहरूलाई त लाज लाग्थ्यो त्यस्तो भारी बोक्न। इज्जत जान्थ्यो रे भारी बोक्दा। यो लाज र इज्जत पनि गज्जबकै कुरा रहेछ। बा, दाइहरूले त्यही काम गर्दा जाने इज्जत आमा, दिदीहरूले गर्दा चैं नजाने। आमा, भाउजूहरूले भारी बोकेर धान्दिनुपर्ने।

प्रायः बाहुन, क्षेत्री समुदायमा छोरो मान्छे घरका झिनामसिना काममा अल्झिने होइन भनिन्थ्यो। घरको दैनिक गर्नुपर्ने नियमित चुलो–चौको, घाँस–दाउराको कामलाई हाम्रोतिर लुतेधन्धा भनिन्थ्यो। यस्ता लुतेधन्धा महिला र विशेषगरी बुहारीहरूको जिम्मामा हुन्थे। छोरोमान्छे त सभामा जानुपर्छ रे कुरा सिक्नुपर्छ रे! त्यसै भन्नुहुन्थ्यो आमाहरू आफैं।

आमा, भाउजूहरूलाई मेलापात, घाँस–दाउराको लागि वन जान अबेर हुन्थ्यो। कति त पतिको खुट्टाको जल नखाई अन्न नखाने, पतिले नखाई भात नखाने हुँदा मेलापात जान अबेर भयो भन्दै भुटभुटिन्थे।

गुरुङ र मगर समुदायमा भने अलि फरक थियो त्यस्तो बन्देज थिएन। महिला र पुरुष समान रूपमा काममा सहभागी भएका देखिन्थे। महिलाभन्दा अझै पुरुषले नै गरेको देखिन्थ्यो घरको काम धेरै। बाहुन–क्षेत्री समाजमा श्रीमती सँगसँगै काम गर्नेलाई श्रीमतीको इशारामा चलेको, श्रीमतीको वशमा परेको वा अझै जोइटिंग्रेको संज्ञा दिइन्थ्यो।

घरभित्रको काममा मात्र होइन खेतीपातीको अधिकांश कामको जिम्मेवारी पनि महिलाको नै हुन्थ्यो। महिलालाई फुर्सद भएको कहिल्यै देखिंदैनथ्यो। त्यो बाहेक वर्षायामभरी खेतबारीको घाँस अनि हिउँदमा वनको घाँसदाउरा त्यो त महिलाहरूको मात्रै जिम्मेवारीको कुरा थियो। खेतीपाती थन्क्याएपछि पुरुषको दिन प्रायः चियापसल वा चौतारामा गफ चुटेर बित्दथ्यो। दुईचार माना दूध दिने भैंसी पाल्नेहरू दूध दुहेर सवेरै चिया होटल पुग्दथे। दूध बेच्ने त प्रायः बहाना हुन्थ्यो। असलमा त दूध बेचेको पैसाले बिहानभरी चिया खाने र गफ चुट्ने काम हुन्थ्यो।

आमा, भाउजूहरूलाई मेलापात, घाँसदाउराको लागि वन जान अबेर हुन्थ्यो। कति त पतिको खुट्टाको जल नखाई अन्न नखाने, पतिले नखाई भात नखाने हुँदा मेलापात जान अबेर भयो भन्दै भुटभुटिन्थे। कति दिन भात नखाई रोटी र मकै मात्र खाएर मेला जान बाध्य हुन्थे । लोग्नेहरूले घरको काममा सघाउने कुरा त परैजाओस् खाने बेलामा समयमा आएर गाँससम्म टिपिदिए धन्य हुने। फलानीको बाहुन त कस्तो जाती छन् बेलैमा आएर खाइदिन्छन् र छिटो मेलापात निस्कन पाउँछे। आफ्नाको त ठेगान नै छैन भन्थे कति आमा र भाउजूहरू। जसको श्रीमान् बेलैमा घर आएर खाना खाइदिन्थे तिनलाई ती घरका महिला त भाग्यमानी मानिन्थे।

रोजगारीमा रहेका कर्मचारी र शिक्षकलाई भने यसरी डुल्ने र हल्लिने फुर्सद हुने थिएन। हाम्रो घरमा बुबा शिक्षक भएकोले बाहिर निस्कने फुर्सद हुँदैनथ्यो। समयमै खाना खायो विद्यालय गयो अनि समयमै घर फर्क्यो। यसले गर्दा हामीलाई पनि नजानिंदो बन्देज थियो। सायद त्यसको असर हामीमा पछिसम्म पनि पर्‍यो। बाहिर हिंड्ने, डुल्ने र चिया गफमा भुल्ने बानी परेन। अहिले पनि अफिसमा काम सकिएपछि कति बेला घर पुगौं जस्तो लाग्छ। काम परेर ढिलो हुँदा पनि कताकता गल्ती पो गरियो कि जस्तो अनुभूति हुन्छ।

घरको काममा रौं बराबर योगदान नभए पनि फुर्ति चैं लोग्ने मानिसकै ठूला। जेठ–असारमा एक डेढ महिना र धान थन्क्याउने बेला एक हप्ता काम गर्‍यो वर्षभरी हल्लिएर गफ गरेर खायो। दिनभरी डुल्यो अनि व्यवहार चलाएको रे, व्यावहारिक काममा हिंडेको रे! होइन भनेर कसले पो भनिदिने?

महिलाले नै घर धानीदिनुपर्ने भएकोले छोरो चौध पन्ध्र वर्ष लागेपछि घर धानीदिने बुहारीको खोजी हुन थाल्थ्यो। विवाह नै छोराको लागि नभएर परिवारको लागि हुने हुँदा रोजाइ पनि केटाको नभएर परिवारको हुन्थ्यो।

मैले सानोमा पटक पटक सुनेको आहान “पहाड खानु स्वास्नीको भर, मधेश खानु गोरुको भर”। यो भनाइबाटै महिलामाथि परिवार कसरी निर्भर हुन्थ्यो भन्ने प्रष्ट हुन्छ। उतिबेला यो भनाइमा अन्तरनिहित अर्थ बुझ्न सक्ने क्षमता थिएन अनि यो भनाइ अपमानजनक छ भन्ने समेत हेक्का थिएन। कति अपमानजनक थियो यो अभिव्यक्ति। कति अवहेलनाजन्य व्यवहार थियो सम्पूर्ण मातृवर्गप्रति आमा, भाउजू, दिदी, बहिनी र छोरीहरूप्रति। यो भनाइ प्रकारान्तरले महिलालाई परिवारको सदस्यको रूपमा होइन श्रम गर्ने एक मानव यन्त्रको रूपमा लिइन्थ्यो भन्ने कुराको ज्वलन्त प्रमाण हो। यो काम र जिम्मेवारी आमाहरू सहज रूपमा स्वीकार्नुहुन्थ्यो। बिहेपछि दिदीहरू घर आउँदा आँखाभरी आँशु हुन्थे। आमा दिदीलाई भन्नुहुन्थ्यो आइमाई समुद्र हो कस्तै परे पनि सहनुपर्छ। मलाई पछि–पछि लाग्न थाल्यो होइन सहन पनि कति सकेको?

यो अपमानजनक अभिव्यक्तिले अहिले पो मलाई चिमोटिरहन्छ। जसको अभावमा घर घर जस्तो रहँदैन, एकदिन घर चल्दैन, जस विना चुलोमा आगोसम्म बल्दैन, जसको अभावमा घर फोहोरले हेर्न लायक हुँदैन, अनि जसको अभावमा जिन्दगी नामको रथ नै गुड्दैन उसैको तुलना पशुसँग— योभन्दा कृतघ्नताको नमूना के हुन सक्ला?

महिलाले नै घर धानीदिनुपर्ने भएकोले छोरो चौध–पन्ध्र वर्ष लागेपछि घर धानीदिने बुहारीको खोजी हुन थाल्थ्यो। विवाह नै छोराको लागि नभएर परिवारको लागि हुने हुँदा रोजाइ पनि केटाको नभएर परिवारको हुन्थ्यो। पुरुषप्रधान समाजमा केटाको इच्छा र चाहनाको कदर त हुँदैनथ्यो भने झन् महिलाको इच्छाको कुरा त धेरै परको कुरा भयो। रजस्वला हुनु अगाडि विवाह गर्नुपर्छ भन्ने धार्मिक, सामाजिक मान्यता अनि कानूनी बन्देजको अभावले गर्दा केटाकेटी चौध–पन्ध्र वर्षका हुँदा विवाह हुनु त स्वाभाविक नै मानिन्थ्यो त्यसबखत।

अझ घर धान्ने बुहारीको खाँचोले गरिएको विवाहमा केटाभन्दा केटी पाको उमेरका हुनु अस्वाभाविक थिएन। एकातिर छोरीमान्छे सयमा एक–दुईले मात्र विद्यालय देख्न पाउँथे भने विद्यालय भर्ना भएकाको पनि ६–७ कक्षामा पढदा नै विवाह भएपछि पढाइको निरन्तरताको संभावना रहने नै भएन। बेलैमा विवाह गरेका मध्ये भाउजूले घर धान्दिएर उच्च शिक्षाको लागि शहर पसेर जागिर खाएका अधिकांश दाजुहरूले दोस्रो विवाह गरेका भेटिन्थे।

छोरीहरूलाई पनि विद्यालय पठाउनुपर्छ, पढाउनुपर्छ भन्ने मान्यता विकास नभएकैले होला परको कुरा गर्नै परेन बुबा शिक्षक भएको मेरै घरको कुरा गर्दा मभन्दा आठ वर्ष जेठी दिदीलाई बाले विद्यालय कहिल्यै लैजानुभएन। कसैले दिदीलाई किन विद्यालय नपठाएको भनेर भनेको सुनिएन। दिदीको मुख्य काम भनेको बाख्रा चराउने र बिहान–बेलुका घाँस–दाउरा गर्ने हुन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?