+
+
Shares
सरकारी सेवा अनुभूति–३ :

लाइसेन्स नवीकरण गर्ने सजिलो ‘मन्त्र’

सरकारी कार्यालयमा हाकिम दाहिना भए भने के–के हुन सक्दोरहेछ भन्ने मेरो लागि त्यो अध्ययनको विषय थियो । त्यसैले मैले त्यो सब स्वीकार गरें । यद्यपि मलाई ‘विशेष मान्छेले पाउने’ यस्तो सेवा पाउँदा ग्लानि भइराखेको थियो ।

दीपक ओली दीपक ओली
२०८१ फागुन ३ गते २२:१८

यातायात कार्यालय जानुपर्ने दिन आउनासाथ आम सेवाग्राहीलाई त्यहाँको ‘टक्सिक’ जस्तो लाग्ने वातावरण (भीडभाड, लामो लाइन, आजै काम नहुने डर र अनपेक्षित रूपमा सहयोग गर्न आइपुग्ने सहयोगीहरूको ताँती) ले मनलाई पहिल्यै अत्याइसकेको हुन्छ ।

‘जे–जसो परोस्, केही पैसा कतै दिएर मिल्छ भने मिलाइहालौं र काम सकेर हिंडिहालौं’ भन्ने आम सेवाग्राही मानसिकता पहिल्यै बुझ्न सकिन्छ । हामी सेवाग्राही पनि घूस खुवाउन शुरुमै एक खाले मानसिक तयारी गरेर घरबाट हिंड्छौं । यस अर्थमा सरकारी कार्यालय सही नहुनुमा हामी सेवाग्राही पनि कहीं न कहीं जिम्मेवार छौं ।

पाँच वर्ष अगाडिको कुरा हो, मेरो लाइसेन्स (सवारी अनुमतिपत्र) रिन्यु गर्नुपर्ने थियो । म यातायात कार्यालय, एकान्तकुना कम्पाउण्डमा पुग्न पाएकै थिएन, धेरै जना सहयोगीहरूले सहयोग लिन अनुरोध गरिसकेका थिए ।

उनीहरू सबैको खुल्लम-खुल्ला ‘अफर’ थियो कि ५००/७०० दिनुहोस् आजको आजै नयाँ लाइसेन्स लिएर जानुहोस् । नत्र यताउता भौंतारिन, लामो लाइन बस्न र हप्तौं कुर्न तयार हुनुहोस् । मलाई आफैं काम गर्न मन लाग्ने भएकोले सिधै भित्र गएँ ।

त्यहाँ रु.१० का डाक्टर रहेछन्, यातायात कार्यालयले नै ठेक्का दिएर राखेका । डाक्टर गज्जबका रहेछन् । एक हातले १० रुपैयाँ लिएर अर्को हातले ‘तिम्रो सबै स्वास्थ्य ठिक छ, तिमी अब ५ वर्षसम्म राम्रो गरी सवारी चलाउन सक्छौ’ भन्ने प्रमाणपत्र दिने रहेछन् ।

गज्जब लाग्यो र त्यो प्रक्रिया पूरा गरें । अगाडि बढेपछि मेरो आँखाको दृष्टि चेकजाँच गरियो । रंगीन जालीभित्र पसेका अंक पढ्न लगाइयो । पढें र पास पनि भएँ । अगाडि बढेपछि नागरिकता प्रतिलिपि बनाउन बिर्सिएको रहेछु, त्यसैले प्रतिलिपि निकाल्न बाहिर गएँ ।

फेरि पनि मलाई सहयोगीहरूले आफ्नो क्षमता बताए । आउनुहोस्, कागजात मलाई दिनुहोस् म तपाइँको काम आजै सकिदिन्छु । तपाइँ आफैं जानुभयो भने कम्तीमा दुई हप्ता लाग्छ । म फेरि पनि नबोली भित्र छिरें । त्यसपछि मलाई पैसा तिर्ने लाइनमा बस्न भनियो ।

लगभग ४५ मिनेटको रस्साकस्सीपूर्ण लाइनको उभ्याइपछि मेरो पालो आयो । पैसा हातमा बोकेर कागजात प्वालबाट भित्र छिराइदिएँ । त्यसपछि अर्कोपट्टिको लाइनमा जान भनियो । अर्को लाइनमा बसेको २० मिनेट जति पछि मेरो नाम बोलाइयो ।

राम्रा प्रणालीहरू आफैं जडान हुँदैनन्, जनताको निरन्तर प्रयास र खबरदारीले मात्रै त्यो सम्भव छ । नत्र सधैं ‘सोर्स र फोर्स’ नै हावी भैरहने छ । त्यो अफिसमा मेरो मान्छे भएकोले मेरो काम त सजिलै भयो भनेर नाक ठड्याउने र ‘गर्व’ गर्ने दिन रहिरहन्छन्

 

पैसा हातमा लिएर गएँ तर उनीहरूले मलाई ६ नम्बर कोठामा जानु भने । मैले ‘किन– के भयो र ?’ भनें । उनीहरूले हामीलाई थाहा हुँदैन भन्दै मेरो कागजात प्वालबाट बाहिर छिराइदिए । फेरि के पुगेन भन्दै पूर्वतर्फको कोठा नम्बर ६ मा गएँ । त्यहाँको लाइन छोटो थियो ।

पछि बुझें आफैं काम गर्छु भनेर ‘जान्ने पल्टने’ म जस्ता सेवाग्राहीले ६ नम्बर भएर गुज्रनुपर्ने रहेछ । मेरो पालो आएपछि त्यहाँका कर्मचारीले मेरो कागजात लिए र केही नहेरिकन ‘दुई हप्तापछि आउनू’ भने । म छक्क परें । सोधें, ‘के भएको छ र दुई हप्तापछि आउनुपर्ने ? यो तेस्रो पटक रिन्यु गर्ने बेलामा कुन महान् गल्ती भेटियो र दुई हप्ता लाग्ने हो ?’

उनले मेरो कागजात ‘भेरिफिकेसन’ गर्न समय लाग्ने बताए । ‘पहिला–पहिला रेन्यु गर्दा त केही गर्नु नपरेको’ मैले बताएँ । ‘अरूले के गरेन मलाई थाहा हुँदैन । हामी नियम अनुसार काम गर्छौं । हामीलाई धेरै डिस्टर्ब नगर्नुस्’, उनले कडक स्वरमा भने ।

त्यसपछि बाहिर गएँ । अघिदेखि सहयोगको ‘अफर’ गर्ने भाइलाई भेटें । देख्नासाथ उनले भने– ‘देख्नुभो नि, तपाइँको काम हुँदैन भन्ने मलाई पहिल्यै थाहा थियो । दुई हप्तापछि बोलाएको होला होइन, ६ नम्बर कोठाबाट ?’ मलाई जे भएको थियो उनी त्यही भन्दै थिए ।

उनले भने, ‘हामीले काम गरेपछि त्यो ६ नम्बर कोठामा जानै पर्दैन । अझै पनि बिग्रेको केही छैन । ७०० रुपैयाँ बढी दिनुहोस् । आजै नयाँ लाइसेन्स लिएर जानुहोस् ।’

मलाई उनको कुराले छक्क पार्‍यो । ६ नम्बर कोठा त सिधा–साधा सेवाग्राहीलाई ठिक लगाउने कोठा रहेछ भन्ने थाहा भयो । त्यो मात्रै होइन कि हजारौं सेवाग्राहीले सेवा लिने त्यो कार्यालयमा सीधै काम गर्न जाने सेवाग्राही त नगन्य हुने रहेछन् भन्ने थाहा पाउँदा झन् पीडा महसुस भयो ।

आफू नजिकै बस्ने र दुई हप्तापछि लाइसेन्स तयार हुँदा पनि फरक नपर्ने बताउँदै म भित्र पसें । ६ नम्बर कोठामा पुरानो लाइसेन्स दिएँ र फर्कन लागें । तर किन–किन त्यस कार्यालयको प्रमुखलाई नभेटिकन फर्कन मन लागेन । त्यसैले सोध्दै–खोज्दै तीन तला माथिको प्रमुखको कोठामा पुगें ।

प्रमुखको कोठामा सोफामा केही सेवाग्राहीहरू बसेका थिए भने प्रमुख एक जना प्रहरी अधिकृत (डीएसपी) सँग कुराकानीमा मस्त थिए । उनीहरूको लामो खुसामद देखेर कुनै गोप्य लेनदेनमा बार्गेनिङ भइराखेको हो कि भन्ने मलाई लाग्यो ।

जेहोस्, अब मौनता तोड्नै पर्छ भन्ने सोचेर म सोफाबाट उठेर उनको टेबल नजिकै गएर उभिएँ । नजिकै गएर उभिएको २/३ मिनेट हुँदा पनि कुनै खालको सोधनी नआएपछि मैले ‘सर ! सर !’ भनेर बोलाउने प्रयास गरें ।

मेरा प्रयासहरूका बाबजुद पनि उनले मलाई सुनेनन् वा सुन्ने प्रयास गरेनन् । हुन त अक्सर नेपालका सरकारी अफिसमा मानिसहरू आइरहने–गइरहने, जसले–जसरी पनि कुनै पालो विना बोल्न–सोध्न सक्ने खालको वातावरण हुन्छ ।

न समय लिएर भेट्ने खालको चलन छ न त सेवाग्राहीका समस्या ध्यान दिएर सुन्ने वा सुन्न सकिने वातावरण नै हुन्छ । होहल्लाको बीचमा गर्नेले काम गरिरहन्छन् र नगर्नेहरू गफ हानेर र घुमेर जागिर पकाइरहन्छन् ।

केही सरकारी कार्यालयका कर्मचारीहरूको कुरालाई विश्वास गर्ने हो भने हरेक सरकारी कार्यालयमा लगभग ३० देखि ५० प्रतिशत कर्मचारीले मात्रै राम्ररी काम गर्ने र बाँकी चाहिं राजनीति, मिटिंग, काज मिलाएर, लेनदेन लगायत कामहरूमा समय दिएर आफ्नो जागिर खान्छन् ।

अनि पछि बढुवा र पुरस्कारको लागि भने प्रायःजसो यस्तै कर्मचारीको नाम सिफारिशमा पर्ने गर्छ । किनकि हाकिमलाई खुसी पार्न चाहिने सबै खाले कला यिनीहरूले सिकेका हुन्छन्, शिवाय जनताको काम गर्न । राजनीतिमा लागिसकेपछि नेताहरूको प्रिय त हुने नै भए ।

यो सोर्स फोर्स भनसुन र कसैको निगाहामा ‘गर्व’ गर्ने काम धेरै देशमा अहिले लाज लाग्दो कुरा भइसकेको छ । याद राखौं, मैले ठूलो मान्छे चिनेको छु भन्नु कुनै गर्वको कुरा होइन । लाइनमा बसेर सेवा लिनु कुनै लाजमर्दो कुरा होइन, बरु सभ्य नागरिकको पहिचान हो । हामी कहिले यहाँ पुग्ने ?

नेपालका सरकारी कार्यालयहरूमा एक खाले हाकिमहरू यस्ता पनि देखेको छु जो कार्यालयलाई आफ्नो रवाफ र शान देखाउने थलो सम्झन्छन् । जसले गर्दा ध्यान सेवा प्रवाहको गुणस्तरमा भन्दा यस्ता देखावटी कुराहरूमा बढी केन्द्रित हुन्छ । कुनै कार्यालयका एक हाकिमले एक पटक मेरै अगाडि टेबलको जारमा भएको पानी हालेर खानको लागि आफ्नो टेबलको घण्टी थिचे ।

कतै पुगेको परिचर केही ढिला गरी आए र पानी भरिदिए । तर उनलाई हाकिमले राम्रोसँग मन लगाएर काम नगर्ने हो भने भोलिबाट अफिस नआए हुन्छ भने । मानौं कि जागिर उनको खल्तीबाट दिइएको थियो ।

हामीले नेदरल्याण्डका प्रधानमन्त्रीले आफूले चिया पोखेपछि आफैं ‘मोप’ ल्याएर सफा गरेको देखेका छौं । विदेशमा बैंकका सीईओले आफ्नो कोठा, टेबल आफैं सफा गर्नुपर्ने सुनेका छौं । तर नेपालमा भने यस्तै देख्न पाइन्छ प्रायःजसो ।

खैर, हाम्रो पुरानै कुरामा आऔं । हाकिम साहेब कुनै कारणवश आफू बसेको कुर्सीबाट उठे र केही चिजबिज खोज्न लागे । खै किन हो, डीएसपी साहेब शान्त र सिरियस मूडमा चुप थिए । मैले त्यही बेला पारेर एउटा अनौठो माग गरें ।

‘सर मलाई एउटा मन्त्र चाहियो’

‘मन्त्र ?’ हाकिम झस्किए ।

हो सर ‘मन्त्र’

‘के मन्त्र भन्नुहुन्छ तपाईं ?’ उनले अप्ठ्यारो महसुस गर्दै जिज्ञासा राखे ।

सर, यो कार्यालयमा दुई खाले सेवा शुल्क र व्यवस्था रहेछ । सेवाग्राहीले आफैंले सेवा लिन चाहँदा शुल्क केही कम्ती तर समय दुई हप्ता भन्दा बढी लाग्ने रहेछ । अनि बाहिरका सहयोगी मार्फत सेवा लियो भने शुल्क केही बढी तर सेवा आजको आजै पाइने रहेछ ।

भर्खर पनि बाहिरका सहयोगीहरूले ७०० रुपैयाँ दिएमा आजै काम हुने भन्दैछन् तर मेरो लाइसेन्स नवीकरण गर्न अर्को दुई हप्तापछि आउनु भनेर तपाइँको कर्मचारीले बिदा दिए ।
म कानुनको विद्यार्थी पनि भएकोले र यो कुरा सबैलाई जानकारी दिन सकियो भने उनीहरूले पनि आ–आफ्नो सुविधा र क्षमता अनुसारको सेवा लिन पाउँछन् भन्ने कामनाको साथ आजको आजै सेवा पाउने मन्त्र के हो र २/३ हप्तापछि सेवा

पाउने अर्को मन्त्र के हो ? मलाई प्रकाश पारिदिनुहुन्थ्यो कि सर ? मैले एकै सासमा यति भनें ।

मेरो कुरा सुनेपछि हाकिम एकछिन स्तब्ध भएर मलाई हेरिरहे । उनीसँग मेरो मन्त्रवाला प्रश्नको उत्तर नभए झैं लाग्यो । ६ नम्बर कोठाको कर्तुत मैले बुझेको जस्तो उनलाई लागेको हुनुपर्छ । एकै छिनपछि हाकिमको दिमागले एउटा जुक्ति निकाल्यो ।

उनले मसँग मेरो कागजात मागे । मैले ६ नम्बर कोठामा कागजात बुझाइसकेको बताएँ । उनले मागेर ल्याउन भने । मैले त्यसै गरें । त्यसपछि उनले मेरो निवेदन फारममा रातो मसीले ‘अति जरूरी, तुरुन्त गरिदिने’ लेखेर सही गरिदिए । अनि आफ्नो एक जना कर्मचारी बोलाएर ‘सरको यो काम आफैं बसेर गरिदेऊ’ भनेर अह्राए । मलाई पनि उनको पछिपछि जानु भने ।

अनि त अति संवेदनशील र कर्मचारी मात्र जान मिल्ने कोठाको चेन गेट मेरो लागि खुल्यो । मलाई भित्र बोलाए । सायद कुनै ठूलो मान्छे वा पहुँचवाल केही सोचे होलान । मलाई भित्र लगेर एउटा कुर्सीमा बस्न भनियो । मेरो काम आफंै–आफंै एक्सप्रेस गतिमा अगाडि बढ्न लाग्यो ।

१ बजे नै बन्द हुने नगद काउन्टर मेरो लागि २ः३० मा भित्रबाटै खुल्यो । होलोग्राम, ‘भेरिफिकेशन’, फोटो खिच्ने सबै भटाभट भयो । सरकारी कार्यालयमा हाकिम दाहिना भए भने के–के हुन सक्दोरहेछ भन्ने मेरो लागि यो अध्ययनको विषय नै थियो । त्यसैले मैले त्यो सब स्वीकार गरें । यद्यपि मलाई ‘विशेष मान्छेले पाउने सेवा’ पाउँदा ग्लानि भइराखेको थियो ।

मलाई आम मान्छेले लाइनमा बसेर पाउने सेवा नै प्यारो लाग्छ । मैले सरकारी काम ढिलै हुन्छ भनेर पाउलो कोहेलोको ‘पिल्ग्रिमेज’ भन्ने किताब बोकेको थिएँ त्यही पढेर आधा घण्टा बिताएँ । आधा घण्टा नहुँदै मेरो सही लिन एक जना कर्मचारी म बसेकै ठाउँमा आए । केही छिनमै नयाँ लाइसेन्स मेरो हातमा पर्‍यो ।

यो त भयो ‘बोल्नेको पीठो बिकेको’ उदाहरण । अर्थात् देशमा एक जना बोल्न सक्नेले सरकारी सेवा लिन सकेको कुरा । तर यसरी बोल्न नसक्नेको के हुन्छ ? उत्तर हो, कामै हुँदैन । किनकि जबसम्म प्रणालीले राम्रोसँग काम गर्दैन, सरकारी कर्मचारीले कर्तव्यपरायण भएर काम गर्दैनन् बोल्न नसक्नेको काम हुन्न ।

राम्रा प्रणालीहरू आफैं जडान हुँदैनन्, जनताको निरन्तर प्रयास र खबरदारीले मात्रै त्यो सम्भव छ । नत्र सधैं ‘सोर्स र फोर्स’ नै हावी भैरहने छ । त्यो अफिसमा मेरो मान्छे भएकोले मेरो काम त सजिलै भयो भनेर नाक ठड्याउने र ‘गर्व’ गर्ने दिन रहिरहन्छन् ।

यो सोर्स फोर्स भनसुन र कसैको निगाहामा ‘गर्व’ गर्ने काम धेरै देशमा अहिले लाज लाग्दो कुरा भइसकेको छ । याद राखौं, मैले ठूलो मान्छे चिनेको छु भन्नु कुनै गर्वको कुरा होइन । लाइनमा बसेर सेवा लिनु कुनै लाजमर्दो कुरा होइन, बरु सभ्य नागरिकको पहिचान हो । हामी कहिले यहाँ पुग्ने ?

 

लेखकको बारेमा
दीपक ओली

डोल्पाको समाज, जीवन र सामाजिक द्वन्द्वबारे अध्ययनरत लेखक आर्थिक-सामाजिक विषयमा कमल चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?