
प्राचीन इतिहास अनुसार, बनारसका राजा राम सेतो दुबीको समस्याबाट संक्रमित भएपछि राज्य त्याग गरी जंगल पसेका थिए । रोगबाट ग्रसित राजाले बनजंगलका पात एवं कन्दमुल खाएर सहज मृत्यु पर्खिरहेका थिए ।
कोला नामक रुखको पात खाएपछि उनलाई सेतो दुबी सन्चो भएको किंवदन्ती छ । पछि त्यही घना जंगलमा आफूलाई जस्तै रोग लागेकी अर्की राजकुमारीलाई उनले देखेको भनिन्छ । त्यसपछि बनारसका राजालाई उक्त रोगको औषधी उपचारको ज्ञान भइसकेकाले त्यही अनुरुप राजकुमारीलाई पनि सन्चो गराएको इतिहास पढ्न पाइन्छ ।
राज्य त्याग गरी जंगल पसेका राजा र त्यही जंगलमा भेटिएकी राजकुमारी बीच पछि विवाह भएको थियो । उनीहरुले पछि त्यहीँ राज्य विस्तार गरेका थिए र कोला रुखबाट रोग निको भएका कारण उक्त राज्यको नाम पनि कोलिया राज्य भएको थियो ।
कोलिया राज्य पूर्वमा नारायणी नदी, पश्चिममा रोहिणी नदी, उत्तरमा महाभारत पर्वत श्रृंखला र दक्षिणको सिमाना कहाँसम्म थियो भन्ने प्रष्ट प्रमाण छैन । दक्षिणमा घनाह जंगल भएका कारण त्यो दिशाको सिमाना पत्ता लाग्न सकेन ।
२०६६ पुस महिनामा पुरातत्व विभागले सार्वजनिक गरेको मुखपत्रमा रामग्रामलाई कोलिया राज्यको राजधानी भनिएको छ । लुम्बिनी विकास कोषका अनुसार रुपन्देहीको देवदहलाई प्राचीन कोलिया राज्यको राजधानी भनिएको छ ।
देवदह र बुद्धको सम्बन्ध
देव र दह दुई अक्षरबाट बनेको शब्द देवदहले देवताहरुको पोखरी भन्ने बुजाउँछ । अहिले देवदह रुपन्देहीको पूर्व भेगमा रहेको छ । तत्कालिन कोलिया राज्यका छ वटा जनपदहरुमध्ये देवदह एउटा हो । देवदहमा स्वयम् बुद्धले पनि स्नान् गरेको जनविश्वास रहँदै आएको छ ।
कपिलवस्तुका राजा सिंहहुनले देवदहका राजा अञ्जनकी बहिनी कञ्चनासँग विवाह गरेका इतिहास छ । त्यसैगरी देवदहका राजा अन्जनले कपिलवस्तुका राजा सिंहहुनकी बहिनी जशोधारासँग विवाह गरेका थिए ।
देवदहकी राजकुमारी कञ्चनाको कोखबाट शुद्दोदनको जन्म भएको थियो । यस अर्थमा राजा शुद्दोदनको मावली देवदह थियो भन्ने तथ्य केलाउन सकिन्छ । त्यसैगरी देवदहका राजा अञ्जन र कपिलवस्तुकी राजकुमारी जशोधाराको कोखबाट मायादेवी र प्रजापति गौतमीको जन्म भएको थियो ।
यसरी देवदहका शाक्य र कपिलवस्तुका शाक्यबीच वैवाहिक सम्बन्ध चल्दै आएको थियो । यो परम्परालाई शुद्दोदनले पनि निरन्तरता दिएका थिए । पछि राजा शुद्दोदनले मायादेवी र प्रजापति गौतमीलाई विवाह गरेको थिए । राजा शुद्दोदन र मायादेवीको कोखबाट सिद्दार्थ गौतमको जन्म भएको थियो । यसरी देवदह क्षेत्र भगवान बुद्दको मावली पर्दछ ।
गौतम बुद्धकी आमाको निधनपछि उनको स्यार सुसार कान्छी आमा प्रजापति गौतमीले गरेकी थिइन् । गौतम बुद्धको वाल्यकाल जीवन केही वर्षसम्म देवदहमै वितेको थियो र यसरी देवदह गौतम बुद्धसँग प्रत्यक्ष रुपमा जोडिन्छ ।
बुद्धले स्नान गरेको ठाउँ
देवदहको घोडाहाबाट करिब एक किलोमिटर उत्तर तर्फ गयौँ भने जंगलको विचमा एउटा सुन्दर, शान्त दह रहेको छ । देवदह भ्रमण आउँदा गौतम बुद्धले उक्त पोखरीमा स्नान गरेका थिए भन्ने जनविश्वास रहँदै आएको छ ।
लुम्बिनी विकास कोषले आफ्नो आधिकारिक वेवसाइटमा पनि यही दहमा बुद्धले स्नान गरेको कुरा उल्लेख गरेको छ । त्यसैगरी देवदहमा रहेका अन्य दहहरुमा पनि भगवान एवं साधुहरुले स्नान गर्ने गरेका कारण यस ठाँउको नाम देवदह रहन पुगेको हो ।
देवदहमा अहिले पनि कयौँ दहहरु लुकेर बसेका छन् । उक्त दहहरुबाट कोलिया राज्यको दरबारमा पानी आपूर्ति तथा सिचाँईको समयमा प्रयोग गर्ने गरिन्थ्यो । यी पोखरीहरुलाई संरक्षण गर्न सके अहिले पनि सिँचाइका लागी प्रयोग गर्न सकिन्छ । चुरे क्षेत्रमा हुने आगलागी नियन्त्रण गर्न पनि ती दहहरु प्रयोगमा आउन सक्छन् ।
देवदहको शित्तलनगर गेटमा २ किलोमिटर दक्षिणमा दुई वटा मन्दिर रहेका छन् । एउटा मन्दिरको नाम बैरीमाई हो भने अर्को मन्दिरको नाम कन्यामाई ।
बैरीमाई मन्दिर देवदह राज्यकी जेठी राजकुमारी मायादेवीको सम्मानस्वरुप बनेको मन्दिर हो । यसको वास्तविक नाम बढीमाई हो, पछि स्थानीयले बैरीमाई नाम प्रचलनमा ल्याएका थिए ।
बैरीमाई मन्दिरसँगै अर्को कन्यामाई रहेको छ । प्रजापति गातमीको सम्झनामा बनेको मन्दिर कन्यामाई हो ।

कन्यामाई मन्दिरमा लोकेश्वरले एउटा हातमा कमलको फुल समातेको मुर्ति फेला परेको थियो । त्यसैगरी यी दुई वटा मन्दिरमा बुद्धसँग सम्बन्धित कयौँ मुर्ति शिलालेख भेटिएका छन् तर यसको अध्ययन तथा संरक्षणमा कसैको ध्यान पुगेको छैन ।
पुरातत्वविद् रामबहादुर कुँवरले लेखेको इम्पोर्टटेन्ट आर्कियोलोजिकल साइटस् अफ देवदहमा उल्लेख भए अनुसार यहाँ भेटिएका इट्टाहरु कपिलवस्तुमा रहेको कुदन स्तुपासँग मिल्छन् ।
यी मन्दिरहरुमा केही भाँडाहरु पनि भटिएको र यो ठाउँमा ठूलै मानवस्ती रहेको अनुमान गर्न सकिने कुरा पुरात्तवविद् कुँवरले लेखेका छन् । कुनै प्राकृतिक प्रकोपमा परि यहाँको वस्ती पुरिएको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।
कन्यामाई मन्दिरदेखि एक किलोमिटरको दक्षिणपूर्वको दूरिमा ऐतिहासिक पाकरी वृक्ष रहेको छ । यो वृक्ष सदावार हरियो रहिहन्छ ।
स्थानीयको विश्वास अनुसार यो वृक्षमा कुनै पनि चराले गुण बनाउँदैन । हाँगाहरु पनि आलौकिक आकारका रहेका छन् । त्यहीमध्ये एउटा हगा हात्तिको सुढ जस्तो छ । पाकरी वृक्षदेखि दुई किलोमिटर दक्षिण तर्फ भवानीपुरमा मायादेवी माइती मन्दिर अवस्थित छ ।

यो मन्दिरको नामले नै मायादेवीको मन्दिर भन्ने बझाउँछ । यहाँ एउटा पिपलको फेदमा प्राचीन बुद्धकालीन कुवा रहेको छ । विभिन्न देवी देवताहरुका मुर्तिहरु पनि यहाँ भेटिएका छन् । त्यसैगरी यहाँ एउटा भाच्चिएको अवस्थामा सम्राट अकोशकालीन स्तम्भ पनि छ ।
कोलिया राज्यको पुरातात्विक महत्व र यससँग जोडिएको देवदह क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छन् । बुद्धको मावली पक्षसँग सम्बन्धित यो स्थानको समुचित अध्ययन, प्रवर्द्धन तथा संरक्षण गर्न सके नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आकर्षणको केन्द्र बन्न सक्छ ।
त्यसैले देवदहजस्ता एतिहासिक क्षेत्रहरूको अध्ययन विकास र प्रबर्द्धन गर्न आवश्यक छ । यसको संरक्षण गर्नका लागि स्थानीय समुदाय, सरकारी निकाय, तथा गैरसरकारी संस्था बीच समन्वय आवश्यक छ ।
यस क्षेत्रमा रहेका पोखरी, मन्दिर, र अन्य ऐतिहासिक संरचनाहरूको पुनरुत्थान गरी भावी पुस्ताका लागि सुरक्षित राख्नु नै आजको आवश्यकता हो ।
(रुपन्देही, देवदहका स्थायीवासी खत्री अहिले नेश्नल ल कलेजमा कानून पढिरहेका छन्)
प्रतिक्रिया 4