+
+
Shares

रैथाने भाका सुसेल्ने वसन्तको ‘मयाली’ स्वाद

अमृत सुवेदी अमृत सुवेदी
२०८१ फागुन ३ गते १६:३२

आफूँ बाँचेको समाज र भूगोलबाट शब्दहरु लिए । शब्दहरुमा आफ्नै माटो र संस्कृतिको सुगन्ध  दिए । आफैं खेलेको, हुर्केको डाँडापाखा, नदीनाला र गामवेसीका सुसेली संगीतमा मिसिए । जनजीवनका सुस्केरा र उत्सवहरुलाई गीतमा भाकाहरुमा उने । जो हरदम, आफ्नै भूगोल र त्यहीका लोकको संस्कृतितिर फर्किएर सिर्जना गरे । अनि बल्ल नेपाली लोकसंगीतको क्षेत्रमा बेग्लै नाम बनाए, वसन्त थापा ।

वसन्त तिनै गायक हुन्, जो हर गीतहरुमा शब्द, लय, संगीत र आवाजमा मात्रै होइन्, दृश्यहरुमा भिन्न तर मौलिक सुनिन्छन् । हर गीतहरुमा आफ्नै रस्तीबस्तीको मौलिक भर्छन् । कहिले ‘वारी घुम्टे, पारी गाजा’मा उभिन्छन्, कहिले ‘माछा मीठो असला दरमखोलाको’ भन्दै ठाउँसँगै उत्पादनलाई पनि ब्रान्डिङ गर्छन् । कहिले ‘आलु मीठो तालाखोलाको’ भन्दै स्थानीय रैथाने स्वादलाई गीतमार्फत देशविदेशमा पस्किन्छन् ।

बागलुङ पुग्ने र झम्झिनेहरुले गुनगुनाइरहन्छन्, ‘बागलुङ बजारमा बागको शालिक’ । ‘नजाउ है सानु पधेंरीमा’ गीतबाट होस् वा धेरै हेरिनेमा रेकर्ड बनाएको ‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको’ गीतमा होस्, वसन्त आफ्नै गामठामबाट टाढा छैनन् । अर्मपर्म–मेलापात, रोधी र गामवेशीकै चित्रलाई विचित्रसँग गीतमार्फत उजागर गरेका छन् ।

बागलुङको गलकोट नगरपालिका– ७, मल्मका वसन्त बजार र चर्चाको पछाडि दौडने सर्जक होइनन्, उनी त आफ्नै ठेट शब्द, मौलिक भाकामा रैथाने स्वाद पस्किएर बजारको ध्यानाकर्षण गराउने गायक हुन् । थापा भन्छन्, ‘मसँग त्यस्तो के छ र ? जुन हाम्रो गाउँ/समाज, संस्कार/संस्कृतिमा छैन । म फर्किने त्यतै हो, त्यही नै त हो मेरो पाठशाला ।’

२०५९ सालतिर ‘नीलो फेवाताल’ गीतबाट सांगीतिक यात्रा थालेका वसन्तले नेपाली लोकसंगीतको क्षेत्रमा बेग्लै पहिचान बनाएका छन् र पस्किरहेका छन्, गीतमा मौलिक स्वाद । वसन्त कहिले पञ्चबाजामा त कहिले, ठाडोभाका, कहिले यानीमाया त कहिले सालैजोसँगै पोखिए र लोकसंगीतको क्षेत्रमा पनि वसन्त ल्याए । त्यसो त आधुनिक र चलिचित्रका गीतमा पनि उनले उस्तै लोकको धुनलाई नै उनेका छन् ।

स्थान विशेषका गीतलाई पनि सबै ठाउँका जनजिब्रोमा झुण्डिने गरी पस्कनु वसन्तको खासियत हो । आफ्नो गायकीबाट भिन्न परिचय बनाएका उनले शब्द, संगीतमा पनि रोजाइमा पर्ने सर्जक हुन् । उनले गीतलाई माया–प्रेमसँगै परम्परा र ग्रामिण आत्मियताले प्राण भर्ने गरेका छन् । सर्जक रमेश बिजी नेपाली लोकसंगीतमा लोकको रैथाने, मौलिक भाकाको पर्यायवाची नाम नै वसन्त थापा बनिसकेको बताउँछन् ।

अहिले तिनै गायक वसन्तले अर्को गीत ल्याएका छन्, ‘मयाली’ ।

यता आउन गित गाउन एउटा मिठो मयाली

चिनिनौ र ? म त गलकोटे ठिटो मयाली

‘मत गलकोटे ठिटो’ भन्दै ‘मयाली’ भाका पस्किएका वसन्तले फेरि पनि आफ्नो भूगोल र माटोको सुगन्ध छरेका छन् ।

वारी घुम्टे पारी गाजा तल दरम मयाली

चाहे हुन्छ, गाय हुन्छ के को शरम मयाली

आञ्चलिक शब्द, मौलिक भाकाले मात्रै होइन, बाजा र दृश्यले पनि ढोरपाटन उपत्यकाको पेरिफेरीमा घुमाउँछ भने पहिरन र नाचले पनि गीतलाई सुन्दर बनाएको छ । घरैजसो जापान भासिएपछि ‘एक घर, एक सदस्य जापान’ रहेको ठाउँको रुपमा चर्चा भइरहने गलकोटका वसन्तले यहीँ बसेर त्यही गलकोटलाई गीतमार्फत चिनाइरहेका छन् ।

वसन्तको सिर्जनालाई गलकोटकै रस्तीबस्तीबाट अग्लिएकी देवी घर्तीको साथले पनि जिवन्त बनाएको छ । उनको आवाजमा आञ्चलिक थेगोलाई पनि गीतको अन्तरामा वसन्त झनै मीठो सुनिएका छन् ।

माथिबाट बगि आयो उत्तर गंगा मयाली

बारै मास् कामको धन्दा छैन रंग मयाली

बेरी आए पटुकीमा मकै भट्ट मयाली

तिमी आको थाहै पाइन पर्थें चट्ट मयाली

वसन्त यो गीतले रैथाने भाकाको स्वादमात्रै चखाएको छैन, ढोरपाटन, उत्तरगंगा र बोबाङ गाउँ पनि घुमाउँछ । ढोरपाटन बुकीसँगै त्यहाँको प्राकृतिक तथा जीवनशैलीलाई पनि गीतले उजागर गरेको छ । बर्सेनि हजारौं पर्यटकको रोजाइमा पर्ने ढोरपाटन उपत्यकाका पनि आफ्नै दुख र पीडा छन् तर वसन्तले त्यहाँका दुखलाई होइन, पहिचानलाई दृश्यमा देखाएका छन् ।

बुर्तिबाङमा सुनेको ट्युनिङले रन्थनाएपछि जन्मिएको ‘मयाली’

आफ्नै भूगोलतर्फ फर्किएर एकपछि अर्को मौलिक सिर्जनाले एउटा ‘ब्राण्ड’ बनाइसकेका वसन्त घरदेश र परदेशमा रोजाइमा पर्ने सर्जक हुन् । बागलुङमा त छुट्ने कुरै भएन ।

करिब ६ वर्षअघि उनी बागलुङकै बुर्तिबाङमा प्रस्ततिका लागि पुगेका थिए । त्यहाँ एउटा भाकामा पञ्चेबाजा घन्किरहेको रहेछ । ‘त्यहीँ पञ्चेबाजाको बिटले यति मन हर्‍यो कि मलाई रन्थनाइदियो । त्यहीँ बाजामा गाइएको थियो मयाली भाका,’ वसन्तले गीतको पृष्ठभूमि सम्झिए, ‘प्रेमी–प्रेमिका, मया भन्नु, माया वा मायालु भन्नु र मयाली भन्नु एउटै हो तर मलाई मयाली भन्ने शब्द निकै मीठो लाग्यो ।’

बाजामा गीत गाउँदा थको र अन्तरा सकिएसँगै मयालु भनेर टुंग्याउने लोक शैलीले उनलाई प्रभावित पार्‍यो । ‘मोबाइलमा रेकर्ड गरिएन तर दिमागमा त्यो रेकर्ड भइराखेको थियो,’ वसन्तले सुनाए, ‘यो पुरानो स्मृति वा सम्पत्तिलाई नयाँ पुस्तासँग जोड्ने जमर्को मैले गरेको हुँ ।’

त्योबेला उनले देखेको मायाली भाका गाउने शैली वा संरचना पनि वसन्तले खुलाए । गीतको एउटा लाइन मयाली भन्दै गाउँने अनि पञ्चेबाजामा ताल लगाउने र फेरि अर्को लाइन मयालीबाटै सकेर बाजाको ताल लगाउने गरिएको थियो ।

‘मयालीको शैली नै त्यस्तै रहेछ । मौलिकता नमर्ने गरी नयाँ शब्द, भाका र बाजालाई परिमार्जित गर्दै नयाँ पुस्तासम्मलाई जोड्ने जमर्को गरेको छु,’ उनले भने, ‘हेरौं, लोकपारखीले कतिको साथ दिनुहुन्छ तर म यस्तै मौलिक सिर्जना चाहिँ पस्किने हरदम प्रयत्न गरिरहने छु ।’

बागलुङबाट काठमाडौं फर्किएपछि पनि वसन्तलाई मयाली शब्दले छोडेन र उनले यसबारे बुझ्न, अध्ययन गर्न थाले । खास यो बागलुङ ढोरपाटन क्षेत्रतिर विवाह, व्रतवन्धलगायतका कार्यहरुमा मयाली गाइने थापाले थाहा पाए ।

त्यहाँ बाजामा गुञ्जिएको बिटमात्रै ल्याउँ कि गाउने शैली नै ल्याउँ भनेर आफैंभित्र मन्थन छलिरहेको थियो । समयले पनि परिवर्तन माग्दो रहेछ,’ वसन्तले भने, ‘नयाँ पुस्ताले मन पराउने साउण्डहरु त्यसमा राखिएको छ । ८० प्रतिशत पञ्चे तथा मौलिक बाजा नै प्रयोग गरिएको छ ।’

मयालीलाई त्यही शैलीमा प्रस्तुत गरेको भए बुझ्नलाई पनि कठिन हुन सक्ने भएकाले त्यसलाई सरल र दृश्यात्मक गराइएको वसन्तले बताए । ‘जस्तो यानीमायालाई पनि जस्ताकोतस्तै बाहिर ल्याउँदा धेरैले नबुझ्ने हुँदो रहेछ, अहिले मैले बुवासँग यानीमायाबारे अध्ययन गरिरहेको छु,’ वसन्तले मयालीको मरिमार्जित शैलीबारे प्रस्ट पार्न खोजे ।

मयालीबारे त्यहीभेगका सर्जक थपप्रसाद पुनलाई पनि उनले स्रोत व्यक्तिका रुपमा मानेका छन् । त्यही ठाउँको मौलिक भाका भएकाले उनले भिडियो पनि प्रेमको कथादेखि ढोरपाटन उपत्यका, त्यहाँको दैनिकी, उत्तरगंगा नदी, बोबाङ गाउँलाई देखाएका छन् ।

‘हाम्रो माटो, हाम्रो भूगोल, प्रकृति यस्तो छ है भनेर भिडियोमा देखाउन खोजिएको पनि हो,’ वसन्तले गीतको मर्म बोले, ‘सुरुदेखि नै मोटोकै गीत लेख्छु, यहीँको कथा भन्छु भनेर लागियो ।’

दरमखोलाको माछादेखि ताराखोलाको आलुसम्मलाई उनले गीतमा ब्रान्डिङ गरे । उनी भन्छन्, ‘अहिले दरमखोलामा माछा पाउन गाह्रो छ, ताराखोलामा आलु । अहिले सिधै बिक्री भएर पोखराको बजारमा पुग्छ,’ वसन्तले गर्वका साथ भने, ‘आफूसँग भएको चिज बेच्नका लागि विज्ञापन पनि हो ।’

देशको एकमात्र सिकार आरक्षमा विदेशी पर्यटक सिकार गर्न जान लालायित हुन् । तर, वसन्त भने गीतको भाकासहित दृश्य कैद गर्न क्यामरा लिएर अन्य कलाकारसहितको समूह लिएर पुगे । ‘धेरै फिल्मभित्र गीत अटाउँछ, हामीले गीतमा फिल्म अटाउन सक्नुपर्छ भनेर भिडियोमा प्रयत्नमात्रै गरेका छौं,’ वसन्तले भने ।

उनले कहिले धुन समाउन त कहिले शब्दहरु समाउन विभिन्न गाउँबस्ती घुमिरहन्छन् । लोकगीत संगीतलाई नै पूर्णकालीन बनाएर साधना गरिरहेका छन् । वसन्तले कसैले खर्च गरेर ल यो गीत बनाएस् भनेर काम गरेका होइनन्, उनले त आफैंले लगानी गरेर मौलिक लोकजीवनकै सुस्केरा र भाकाहरुलाई गीतमार्फत ल्याइराखेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?