+
+
Shares

युएईले नेपाली फिल्म ‘दुखी आत्मा’लाई प्रतिबन्ध लगायो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते १९:१७

काठमाडौं । मध्यपूर्वको ठूलो फिल्म बजार युएईले नेपाली फिल्म ‘दुखी आत्मा’लाई प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । युएईमा सेन्सर पास नभएपछि अर्को खाडी मुलुक बहराइनको पनि प्रदर्शन रोकिएको छ ।

निर्देशक दीपेन्द्र लामाले त्यहाँको सेन्सर बोर्डले फिल्म चलाउन अनुमति नदिएको जानकारी आफूहरूले पाएको बताए । ‘हाम्रो देशको मिडिया कन्टेन्ट क्राइटेरिया अन्तर्गत फिल्म पास भएन, यसकारण फिल्म चलाउने अनुमति छैन भनेर भन्नुभयो’ युएईका सरकारी अधिकारीहरूको भनाई उध्दृत गर्दै लामाले भने, ‘फिल्मलाई ब्याण्ड गरियो ।’

बहराइनले पनि युएईकै मिडिया कन्टेन्ट मापदण्डअनुसार फिल्म प्रदर्शनलाई नियमन गर्दै आएको छ । अर्को खाडी मुलुक कतारले भने बिना कुनै काँटछाँट सेन्सर पास गरेको निर्देशक लामाले बताए ।

‘एडल्ट’ कथावस्तुको कारण युएईले ‘दुखी आत्मा’लाई प्रदर्शन अनुमति नदिएको हो । स्थानीय वितरकले दुईपटक सेन्सरका लागि फिल्म बुझाएका थिए । सुरुमा केही दृश्य काँटछाँट गरेर ल्याउन भनिएपनि दोस्रोपटकमा पनि फिल्म पास भएन । साथीभाइ इन्टरटेनमेन्टले फिल्म वितरणको जिम्मा लिएको थियो ।

युएईले यौनजन्य, समलैंगिकता र कट्टरपन्थी विचारधाराका फिल्मलाई प्रतिबन्ध लगाउँदै आएको छ । प्रशस्तै हलिउड र बलिउड फिल्मलाई युएईले प्रतिबन्ध लगाएको छ । सम्भवतः पहिलोपटक नेपाली फिल्मलाई यसरी प्रतिबन्ध लगाइएको हो । दयाहाङ राई र आँचल शर्मा अभिनित फिल्मले यौन दुर्बलता हुने पात्रको कथा पेश गर्छ ।

यो फिल्म अस्ट्रेलियामा आउने शनिबारदेखि प्रदर्शन तयारीमा छ । जापानमा शनिबारदेखि रिलिज भएको छ । दक्षिण कोरियामा फेब्रुअरी २३ देखि रिलिज हुनेछ । अमेरिका र युरोपको वितरण अधिकारी विक्री भैसकेको छैन । नेपालमा भने फिल्म प्रदर्शन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?