+
+
Shares

कर्णाली करिडोर कालोपत्र गर्न ४ अर्ब बढीको ठेक्का

बाजुराको पिलीचौरदेखि बाजुराको कुवाडीसम्म २३ किलोमिटर ७०० मिटर र कुवाडीदेखि हुम्लाको सर्केगाँड गाउँपालिका-१ तुम्चासम्म २७ किलोटिमर ३०० मिटर गरी ५० किलोमिटरको ठेक्का लागेको हो ।

प्रकाश सिंह प्रकाश सिंह
२०८१ फागुन ४ गते ७:२२
कडा चट्टान छिचोल्दै निर्माण भएको कर्णाली राजमार्ग ।

४ बाजुरा, फागुन । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रेका लागि पहिलोपटक ठेक्का भएको छ । सडक विभाग, उत्तर-दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिले ५० किलोमिटर कालोपत्रेका लागि फागुन २ गते ठेक्का आह्वान गरेको हो ।

कार्यलयले २ पिस गरेर ठेक्का गरेको उत्तर-दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिका प्रमुख तुलाराम शर्माले बताएका छन् ।

बाजुराको पिली चौरदेखि बाजुराको कुवाडीसम्म २३ किलोमिटर ७०० मिटर र कुवाडीदेखि हुम्लाको सर्केगाँड गाउँपालिका-१ तुम्चासम्म २७ किलोटिमर ३०० मिटर गरी ५० किलोमिटरको ठेक्का गरेको शर्माले बताए ।

दुवैपिस गरेर ४ अर्ब २३ करोडमा ठेक्का गरेको छ । तीन वर्षमा काम सक्ने गरी ठेक्का आह्वान भएको हो । कर्णाली करिडोरको यो क्षेत्र कालीकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सरिसल्लासम्म १२३ किलोमिटर रहेको छ । यो सडकको ट्रयाक भने नेपाली सेनाले खोलेको थियो ।

‘यो वर्ष ५० किलोमिटर कालोपत्रेका लागि ठेक्का गरेका छौंं, अर्को वर्ष कालीकोटको खुलालुदेखि बाजुराको पिली चौरसम्म ६० किलोमिटरको ठेक्का गर्ने कार्यलय प्रमुख शर्माले भने ।

गत वर्ष ६० किलोमिटर सडक सुधारका लागि ठेक्का गरेर काम भइरहेकाले यो वर्ष अगाडि भाग कालोपत्रेका लागि ठेक्का गरेको वताए । यो सडकखण्डको बाँकी रहेको हुम्लाको तुम्चादेखि सरिसल्लासम्मको १३ किलोमिटरको पनि ठेक्का आगामी वर्षमा गर्ने कार्यलयले बताएको छ ।

यो सडक सरकारले गौरवको आयोजनासँगै त्रिदेशीय मार्गका रुपमा लिएको छ । यो मार्गले भारत र चीन छुन्छन । यो सडक २०६४ सालमा कालीकोट-हुम्ला-जुम्ला सडक आयोजनाले सुरु गरेको थियो । काममा ढिलासुस्ति हुने भएपछि यो सडक निर्माणको जिम्मा नेपाली सेनालाइ दिइएको छ । सेनाले २०७१ चैतबाट काम सुरु गरेको थियो ।

लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटतालगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । सेनाले ट्रयाक खोली सकेपछि २०८० पुस १५ गते सडक विभागलाई कालीकोट खुलालुदेखि ११२ किलोमिटर जिम्मा दिएको थियो । ११ किलोमिटरमा भने अहिले पनि सेनाले काम गरिहेको छ ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत कडा चट्टान छिचोल्दै निर्माण भएको सडक ।

सडक विभागलाई सेनाले जिम्मा लगाएपछि सडक विभाग, उत्तर-दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना नामाकरण दिएर सडक स्तोरउन्नती सँगै कालेपत्रेको काम सुरु गरेको हो ।

सेनाले कर्णाली करिडोरअन्तर्गत हुम्ला, कालीकोट र बाजुराको बीचमा दर्जनौ चट्टान फोरिंदै छिचोलेर कर्णाली करिडोर बाटो निर्माण गरेको हो । हुम्ला जाने एक मात्रा सडक बाटो यही कर्णाली करिडोर हो । कर्णाली करिडोर सडकको निर्माण तथा स्तरउन्नोतिको गतिले बाजुरा कालीकोट, मुगु र हुम्लाका स्थानीयमा आफ्नो जीवन फेरिने आस मात्रै बढाएको छैन, निकै खुसियाली पनि ल्याएको छ ।

चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ । विपन्नताले चौतर्फी निराशामा पारेको बाजुराको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणको गतिले आशा जगाएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । ‘यही सडकले हाम्रो जीवन फेर्ने आस छ,’ बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीका मिलन बुढाले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि महिनौं हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो, अबको पुस्ताले सुख पाउनेछ, मल्लले थपे ।’

यस सडकलाई बाँके तथा नेपालगञ्जको रुपडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म पर्‍याउने लक्ष्य छ । यो सडक मार्ग बाजुरा र कर्णाली क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास छ । ‘यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य सेतु यही सडक हुनेछ,’ बाजुरा प्रदेशसभा ‘क’ का सांसद नरेश शाहीले भने ।

यस सडकबाट पूरै बाजुरा सडक सञ्जालमा गाँसिने छ । रारा जाने पर्यटकलाई यो मार्गले यात्रा सजिलो बनाइदिनेछ ।

सडक खोलिसकेपछि बनेको कर्णाली राजमार्गको बजार ।

लेखकको बारेमा
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?