४ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सैनामैना दुधराक्ष कप क्लब स्तरिय राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिसले आर्मीलाई २५-१७, २५-१८, २५-२१ ले पराजित गरेको हो ।
पुलिसले एक महिनाको अन्तरमा जितेको तेस्रो उपाधि हो । माघ तेस्रो साता पोखरामा सम्पन्न पाँचौ टाइगर कप भलिबलमा उपाधि जितेको पुलिसले त्यसपछि पाल्पामा रामपुर महोत्सवको अवसरमा भएको पुरूष भलिबलको उपाधि पनि जितेको थियो ।
दुधराक्ष युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा तीन विभागीय टोली पुलिस, आर्मी र एपीएफसहित ७ टिमले सहभागिता जनाएका थिए ।
च्याम्पियन पुलिसले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ हात पार्यो ।
तेस्रो भएको गण्डकीले १ लाख ११ हजार १ सय ११ तथा चौथो भएको मणिमुकुन्दलले ५५ हजार ५ सय ५५ प्राप्त गर्यो ।
सफल सर्वोत्कृष्ट
पुलिसलाई च्याम्पियन बनाउने उत्कृष्ट प्रदर्शन गरेका सफल बिक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद १५ हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
अन्य विधागत विधामा पुलिस र आर्मीका खेलाडीको वर्चस्व रह्यो । पुलिसका बलराम कुँवर बेस्ट सेटर तथा चन्द्र कुँवर बेस्ट कोच घोषित भए ।
यसैगरी आर्मीका धन बहादुर भट्ट बेस्ट स्पाइकर, धनपति कुँवर बेस्ट ब्लकर र इश्वर थापा बेस्ट लिबरो घोषित भए भने गण्डकीका हिमाल सुनारी बेस्ट सर्भर चुनिए ।
व्यक्तिगत उत्कृष्ट खेलाडीहरुले ७ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया 4