+
+
Shares

चितवनको गाजर र चुकन्दर जर्मनी निर्यात   

रासस रासस
२०८१ फागुन ४ गते १३:००

४ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मनी निर्यात हुन थालेको हो ।

जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अर्ग्यानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए । उनका अनुसार यस वर्ष १५ फागुनदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ ।

यहाँको २० बिघा अग्र्यानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले भने, ‘१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ । यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात सुरु गरिएको हो ।’

जर्मनी जाने गाजरको प्रतिकिलो २० रुपैयाँ र चुकन्दर प्रतिकिलो ५० रुपैयाँ तोकिएको संघका सदस्य छविलाल न्यौपानेले जानकारी दिए । संघमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मनी निर्यात हुने गरेको उनले बताए ।

उनले भने, ‘अर्ग्यानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य सागसब्जी उत्पादन गरिँदै आइएको छ ।’ यहाँ उत्पादित कृषिउपज जर्मनीसँगै चितवन, पोखरा, काठमाडौँलगायत अन्य जिल्लामा बिक्री हुँदै आएको छ ।

गाजर र चुकन्दर नेपालको ‘अग्र्यानिक भेन्चर’ नामक संस्थाले खरिद गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको न्यौपानेले जानकारी दिए ।

प्राङ्गारिक संघलाई कृषि विकास कार्यालय चितवनले सुरुआती समयमा आर्थिक सहयोग गरेकामा पछिल्लो समय प्राविधिक सहयोग मात्रै गर्दै आएको उनले बताए । पहिला ‘प्याकेजिङ’, ‘ग्रेडिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?