
विद्युतको पहुँच तथा इन्टरनेटको विकाससँगै नेपालमा अनलाइनबाट हुने अपराधका घटनाहरू बढ्दै गएका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफममार्फत हुने यस्ता घटनाको न्यूनिकरणका लागि डिजिटल शिक्षा आजको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् ।
‘सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
‘भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको कार्यक्रममा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाहरुको तथ्यांक, रोकथाम तथा न्यूनिकरणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाका उजुरी आयोगमा आउने गरेको जानकारी दिइन्। प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमुलक र सूचनामुलक जानकारी हासिल हुने गरेपनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएको पराजुलीले बताइन्।
सुरक्षित इन्टनरनेटको प्रयोग सम्बन्धी सचेनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्।
राष्ट्रिय बालअधिकार परिषद्का सदस्य–सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको शिकारमा धेरै बालबालिका परिरहेको बताइन्। अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर हुँदा इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्ने धारणा उनले राखिन्।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्तिहरुलगायत पत्रकार समेत अनलाइन हिंसामा परेको सन्दर्भकारे चर्चा गरिन् ।
उनले प्रविधिको सदुपयोग सम्बन्धमा चनाखो हुँदै हिंसामा परिहाले सम्बन्धित निकायमा उजुरी गरी पीडकलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिइन् ।
आइवर्ट नेपालका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिला पनि प्रभावित हुने क्रम बढेको बताए। उनले समाज परिवर्तनका लागि योगदान दिने पत्रकार नै यस्तो हिंसामा पर्नुले अनलाइन हिंसाको अवस्था भयावह बताए।
भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसामा महिला, बालिका, किशोरी मात्र होइन, बालकहरू पनि परिरहेको तथ्याङ्कले देखाएको बताए।
उनले इन्टरनेटको सही प्रयोगबारे जनचेतनामुलक कार्यक्रम र साइबर हिंसा गरे हुने सजायँ र उजुरी गर्ने निकायबारे सबैलाई जानकारी गराउने पर्ने भनाइ राखे।
आइवर्ट नेपालका उपाध्यक्ष दिपाञ्जली लामाले ‘अनलाइन दुर्न्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरिन् ।
उनले कार्यपत्रमा नेपाल प्रहरी साइबर व्यूरोका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क प्रस्तुत गरिन्। बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सन् २०२३ मा कोशी र बागमती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्याङ्क लामाले प्रस्तुत गरिन्।
सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेका देखाएको छ । जसमध्ये ३८.६० प्रतिशत बालिकालाई र ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट यौनजन्य सन्देश आएको बताएका थिए।
३४ प्रतिशतले अश्लील फोटो र अन्य दुर्व्यहार हुने भिडियो आउने गरेको उल्लेख गरेका थिए । नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन् । यस्तै अनलाइन हिंसा तथा अपराधमा ८ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ।
कार्यशालामा साइबर ब्युरोकी सावित्रा कार्कीले पछिल्लो समय बढेको साइबर हिंसाका स्वरुप र सचेतनाका उपायका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
प्रतिक्रिया 4