
काठमाडौं । चैत ८ देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’लाई डोल्पाको शे फोक्सुन्डो ताल लगायतका कर्णालीका आकर्षक लोकेसनमा छायांकन गरिएको छ ।
महिला संवेदनाको कथावस्तुको फिल्मले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ । फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई लक्ष्य गरेर निर्माण गरेको जनाइएको छ । यसको पटकथा ४ वर्षअघि लेखिएको हो ।
आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको फिल्मको कथा पटकथा, संवाद, गीत र निर्देशन ऋष्रिाज आचार्यको छ ।
‘कर्णाली काटौंला’ बोलको गीतमा रवि ओड र इन्द्रकला राईको स्वर छ, जुन अहिले चर्चामा छ । आरबी मूभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छन् । निर्मातामा आचार्य र प्रकाश ज्ञवाली छन् । यस सन्दर्भमा निर्देशक आचार्यसँग संक्षिप्त संवाद यस्तो छ :
‘द्रौपदी’ कस्तो फिल्म हो ?
‘द्रौपदी’ कति ओजिलो अनि कति ओजस्वी शब्द छ, कति गह्रौ टाइटल छ, यसैबाट पनि फिल्मले गम्भीर बिषय उठान गरेको छ भन्ने बुझिन्छ । हामीले महाभारतमा पढेको, हेरेको जुन पात्रको नाम छ, त्यसर्थ पनि फिल्ममा गहन कुरा छ भन्ने बुझ्नपर्छ । टाइटललाई मैले न्याय दिने कोसिस गरेको छु ।
यो फिल्म किन हेर्ने ?
विषय गम्भीर छ । अहिलेसम्म नगरिएको विषयलाई उठान गरेको छु । सदरमुकामबाट ३ दिन पैदल हिँडेर पुगिने शे फोक्सुन्डो लगायतका आकर्षक कर्णालीका ठाउँमा फिल्म खिचिएको छ । ती दृश्यले नै दर्शकलाई आनन्दित तुल्याउने छ । नेपाल चिनाउने , नेपालको सुन्दरता चिनाउने काम समेत फिल्मले गर्ने छ । वास्तविक नेपाल काठमाडौ मात्र होइन, बरु त्यहाँको जनजीवन हेरेपछि यो पनि नेपाल हो भन्ने लाग्छ ।
फिल्ममा किन नयाँ कलाकारलाई लिनुभयो ?
चरित्र चित्रण वास्तविक लागोस भनेर नयाँ पात्र छनोट गरिएको हो । पात्र कथामा मज्जाले डुबेका छन् । २ महिनाको कार्यशाला गरेर छायांकन गरिएकोले काम गज्जब गरेका छन् । फिल्म हेर्नुभयो भने यी पात्रबाहेक अन्य पात्र या चिनिएका अन्य अनुहार राखेको भए कथालाई न्याय हुँदैन रैछ भन्ने बुझ्नुहुन्छ ।
फिल्मको बक्सअफिस प्रस्तुतिलाई लिएर कत्तिको आशावादी हुनुहुन्छ ?
नेपाली दर्शकलाई अझै धेरैले पलाएको देशप्रेम, अर्गानिक खानेकुराको मोह, संस्कृतिप्रति झुकाव, विदेशमा बसेर आफ्नो भाषा, भूगोलप्रतिको माया, मौलिक नेपाली फिल्मप्रति दर्शकले दिइरहेको अपार माया बढ्दै गरेको हेर्दा द्रौपदी सहि समयमा रिलिज हुन लागेकोले आशावादी छु ।
दर्शकलाई के भन्न चाहनुहुन्छ ?
नेपाली फिल्मप्रति दर्शकको माया र चासोलाई यसले निराश तुल्याउँदैन । ४ वर्षको अध्ययनसहित निर्माणमा २ वर्षको मिहेनतमा बनेको फिल्म हो । वास्तविक नेपाली फिल्मको स्वाद यसमा पाउनुहुनेछ ।
प्रतिक्रिया 4