+
+
Shares

भ्वाइसको ‘ब्याटल राउण्ड’मा छानिए ६४ जना, सप्ताहन्त एपिसोड कस्तो रह्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १३:१२

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को ब्याटल राउण्डका लागि ६४ जना ट्यालेन्ट छनोट भएका छन् । पछिल्लो सप्ताहन्तमा सम्पन्न ब्लाइन्ड अडिसनबाट एकजना कोचको समूहमा १६ जना ट्यालेन्ट छनोट भए ।

डिजिटल अडिसनबाट छानिएका ६० हजार आवेदकमध्येबाट छनोट १२० जनाभन्दा धेरैले ब्लाइन्ड अडिसनमा भाग लिएका थिए । आउँदो सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ । थप प्रतिस्पर्धात्मक हुने भएकाले आउँदो चरण निकै रोचक हुने पक्का छ ।

ब्याटल राउण्ड सकिएपछिको नकआउट चरणमा एकजना कोचबाट ९ जनाले प्रतिस्पर्धा गर्नेछन् । कूल ३६ जनाले नकआउटमा प्रतिस्पर्धा गर्नेछन् । ‘ब्लाइन्ड अडिसनमा पुगेका सबैजना ट्यालेन्ट अदभूत रहे’ निर्देशक लक्ष्मण पौड्यालले भने, ‘यसपटक धेरैजना ग्रामिण क्षेत्रबाट आएका मौलिक आवाज थिए ।’

कस्तो रह्यो पछिल्लो सप्ताहन्तको ब्लाइन्ड अडिसन ?

पछिल्लो सप्ताहन्त प्रसारित एपिसोड ९ र १० को प्रतिस्पर्धा पनि रोचक बने । एपिसोड ९ को सुरुवात भोजपुरका २७ वर्षीय सुदेश राईले महेश थुलुङ्गको गीत ‘आकाशैमा चिल घुम्यो’ गाएर गरे ।

यस एपिसोडमा ८ जना प्रतिस्पर्धीले प्रस्तुति दिए, जसमा ३ जनाले चारै कोचको कुर्ची घुमाउन सफल भए । कालिकोटकी अन्जुली हमाल, पाँचथरका मिङ्सो केरुङ लिम्बु र बाजुराका मन नेपालीले चारै कोचको कुर्सी घुमाउन सफल भए ।

अन्जुली हमालले उदितनारायण झाको ‘पुरा भयो सपना मेरो’ गीत प्रस्तुत गरेर चारै कोचको मन जितिन र उनले कोच खेमको टिम चयन गरिन् । संगीतमै केही गर्ने सोचले भ्वाइसमा आएकी अन्जुलीले कोच खेमको टिमलाई रोजिन ।

चारैवटा कुर्सी घुमाउन सफल अर्का प्रतिस्पर्धी हुन्, पाँचथरका २२ वर्षीय मिङ्सो केरुङ लिम्बु । सुनिता थेगिम र नरेन लिम्बुको गीत ‘भागी जाने सल्लाह’ गाएर उनले कोचको मन जिते । कोचको रुपमा उनले टीम उदय सुब्बालाई रोजे ।

दोहोरी साँझमा गीत गाउँदै आएका बाजुराका २३ वर्षीय मन नेपालीले पनि चारै कोचको कुर्ची घुमाए । बाजुरादेखि काठमाडौँ आएर संगीत सिक्दै दोहोरी साँझमा गीत गाउँदै आएका मनले प्रमोद खरेलको गीत ‘तैँ मोरीको माया छ’ गाएर सबैलाई चकित परेका थिए । उनले कोचमा खेमको टिमलाई रोजे ।

यो एपिसोडमा छनोट हुनेमा सोलुखुम्बुकी मुना खड्का र नवलपरासीका अरविन्द पौडेल क्षेत्री रहे ।

एपिसोड १० मा पनि रोमाञ्चक प्रस्तुति देखियोे । ८ प्रतिस्पर्धीले प्रस्तुति दिँदा १ जनाले चारै कुर्सी घुमाए । एपिसोडको सुरुवात भारतको उत्तराखण्डमा बस्दै आएका कमलजित सिंहले गरे । उनले रामचन्द्र काफ्लेको गीत ‘हिमाल चुलीमा’ गाएर चारै कोचको कुर्सी घुमाउन सफल भए ।

भारतबाट नेपालमा संगीतमा केही गर्छु भन्ने सोचले आएका कमल आफैमा गीतकार पनि हुन् । नेपाली राम्रोसँग बोल्न पनि नसक्ने उनले गायकीले सबैलाई चकित पारे । उनले कोच राजुलाई चयन गरे ।

यस एपिसोडमा छनोट हुने अन्य प्रतिस्पर्धीमा सागर हमाल, ताशी फिन्चो मोक्तान, बिराट तामाङ, अर्पणा आचार्य, मणिसुन्दर लिम्बु र रुबेन राई थिए । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ हिमालय टिभी एचडीमा प्रसारण भइरहेको छ । आगामी एपिसोडलाई दर्शकले उत्साहसहित प्रतीक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?