
५ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखक झुक्किएका छन् । कुन विधेयक छलफलमाथि छलफल हुन लागेको हो भन्नेबारे गृहमन्त्री झुक्किएका हुन् ।
सोमबारको बैठकमा नेपाल प्रहरी विधेयकमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव अगाडि बढाउने चौथो कार्यसूची थियो । यसअनुसार सभामुखले प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री रमेश लेखकलाई समय दिए ।
गृहमन्त्री लेखकले रोष्ट्रममा पुगे र ‘नागरिकता ऐन संशोधन विधेयकमाथि सामान्य छलफल गरियोस्,’ भन्ने प्रस्ताव राखे ।
त्यसपछि सभामुखले सांसदहरूलाई बोल्न समय दिनुपर्ने थियो ।
‘माननीय सदस्यहरू अब नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात, विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ ।’
यति भनेर सभामुख घिमिरेले छलफलमा भाग लिन चाहने सांसदहरूले सभामुखको ड्याससँगै बसेका कर्मचारीलाई ५ मिनेटभित्र नाम उपलब्ध गराउन अनुरोध गरे ।
छलफलमा भाग लिने तीन मिनेट समय निर्धारण गरिएको पनि उनले जानकारी गराए । तर, सभामा गृहमन्त्रीले नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
गृहमन्त्री झुक्किएको थाहा पाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो शब्द सच्याउन सभामुखलाई आग्रह गरे ।
‘माननीय गृहमन्त्रीज्यूले नागरिकता विधेयक भन्नुभएको छ । त्यसलाई प्रहरी विधेयकको रूपमा भनेर छलफल गराइयोस् भन्ने अनुरोध गर्न चाहन्छु,’ खतिवडाले भने ।
त्यसपछि सभामुख घिमिरेले ‘त्यस्तो छ ?’ भनेर संसद् सचिवालयका कर्मचारीहरूलाई सोधे । कर्मचारीहरूले ‘केही मिस्टेक’ भएको बताएपछि सभामुख घिमिरेले उच्चारणमा त्यस्तो भएको भन्दै सच्याउन सुझाव दिनुभएकोमा सांसद् खतिवडालाई धन्यवाद दिए ।
‘प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव मानेरै त्यही विधेयकमाथि छलफल गराइने कुरा म अनुरोध गर्न चाहन्छु’ सभामुख घिमिरेले भने ।
प्रतिक्रिया 4