
५ फागुन, काठमाडौं । यूएन (संयुक्त राष्ट्रसंघ)को शान्ति मिसनमा जानका लागि भन्दै सशस्त्र प्रहरी प्रहरीका ८ जना सुरक्षाकर्मीले रकम बुझाएको खुलेको छ ।
रकम बुझाएर फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनका जान लागेको खुलेपछि यस विषयमा सशस्त्र प्रहरीको हेडर्क्वाटरले गोप्य रुपमा आन्तरिक छानबिन गरिरहेको छ । सशस्त्रका डीएसपी नवराज बोहराको अध्यक्षतामा सात सदस्यीय समिति बनाएर छानबिन गरिएको छ । उक्त समितिले २१ पुसमा प्रतिवेदन बुझाएको थियो ।
आठ जना सशस्त्र प्रहरी कर्मचारीले एफपीयू मिसनका लागि रकम बुझाएको विवरणसहितको प्रतिवेदन पेश गरिएको छ । जसमा १५ नम्बर हेडर्क्वाटर काभ्रे दरबन्दी भएका वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदीले १ लाख, पशुपति बाहिनी मुख्यालयमा कार्यरत हवल्दार राजकुमार लामाले १ लाख ५० हजार, सशस्त्र हेडर्क्वाटरमा कार्यरत हवल्दार ईश्वर कार्कीले ८० हजार रुपैयाँ बुझाएको खुलेको छ ।
त्यसैगरी २२ नं. गण हेडर्क्वाटर गुहेश्वरी भक्तपुरमा कार्यरत हवल्दार बेदबहादुर तामाङले १ लाख ५० हजार, सोही ठाउँमा कार्यरत सहायक हवल्दार कमल बानियाँले २ लाख, सशस्त्र हेडर्क्वाटरको डग ह्यान्डलर शाखामा कार्यरत सहायक हवल्दार कुमार आले मगरले १ लाख ५० हजार, १९ नं. गुल्म हेडर्क्वाटर नुवाकोटमा कार्यरत सहायक हवल्दार शंकर थापाले १ लाख ५० हजार र २२ नं. गण हेडर्क्वाटर गुहेश्वरी भक्तपुरमा कार्यरत जवान यज्ञ खत्रीले १ लाख ५० हजार रुपैयाँ बुझाएको खुलेको छ ।
उनीहरुमध्ये भीमप्रसाद, राजकुमार र ईश्वरले प्रहरी हवल्दार टुकबहादुर थापामार्फत आफूलाई असई बताउने व्यक्तिलाई रकम बुझाएको खुलेको छ । सशस्त्र हवल्दार टुकबहादुरकै राष्ट्रिय वाणिज्य बैंकको खातामा उनीहरुले ३ लाख ३० हजार रुपैयाँ हालेका थिए । त्यसपछि टुकबहादुरले उक्त रकम आफूलाई असई बताउने व्यक्तिलाई पठाएको देखिएको छ ।
बाँकीले उनै टुकबहादुरमार्फत आफूलाई असई बताउने व्यक्तिसँग सम्पर्क गरी सोझै ती व्यक्तिलाई रकम बुझाएको आन्तरिक छानबिनबाट देखिएको छ ।
आफ्नो संगठनका आठ सुरक्षाकर्मीले मिसनका लागि रकम बुझाएको खुलेपछि सशस्त्र प्रहरी कार्यालयले यसबारे गोप्य रुपमा अनुसन्धान गरिरहेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले यो विषयमा छानबिन भइरहेको बताए । ‘रकम बुझाएको सूचना पाएपछि छानबिन सुरु गरेका छौं । रकम बुझाउने आठै जना अहिले हाम्रै नियन्त्रणमा छन् । यसबारे सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेका छौं’ डीआईजी न्यौपानेले अनलाइनखबरसँग भने, ‘अहिले छानबिनकै क्रममा रहेकाले यो भन्दा बढी केही बताउने अवस्था छैन ।’
आन्तरिक छानबिनबाट प्रहरीको असई बताउने व्यक्तिले ठगी गरेको खुलेपछि सशस्त्र प्रहरी हेडर्क्वाटरले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै छानबिन गरिदिन आग्रह गरेको थियो ।
२७ माघमा प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सशस्त्र प्रहरीको मानव स्रोत विभागका एआईजी वंशी दाहालले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका थिए ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग हुँदै अनुसन्धान लागि भने उक्त पत्र काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आइपुगेको थियो । अपराध अनुसन्धान कार्यालयले उक्त विषय छानबिन गरेर ठगीको आरोपमा एक जनालाई पक्राउ समेत गरेको छ । प्रहरीको असई बताउने व्यक्ति असई नभएको खुलेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ का २६ वर्षीय दिनेश सापकोटा छन् । उनले भने आफूलाई चितवन ब्यूरोको असई बताउने गरेका थिए । उनी प्रहरीको असई नभएर नक्कली प्रहरी रहेको खुलेको छ । अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स टोलीले उनलाई पक्राउ गरेको छ । उनीबाट अरु व्यक्ति पनि ठगिएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले सापकोटाविरुद्ध ठगीको कसुरमा पाँच दिनको म्याद थप भएको बताए ।
पक्राउ परेका नक्कली असईले यूएन मिसनमा पठाए वापत प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिने खोजेको सशस्त्रका सुरक्षाकर्मीहरुले छानबिन समितिसमक्ष बयान दिएका छन् । सापकोटाले विश्वास दिलाउन उनीहरुलाई उच्च पदस्थ व्यक्ति, राजनीतिक व्यक्तित्व र प्रहरी प्रशासनका उच्च तहका कर्मचारीहरुसँग खिचाएको तस्बिर देखाउने गरेका थिए ।
तस्बिर र उच्च तहका व्यक्तिसँग गरिएको कुराकानी तथा च्याट समेत देखाएर उनीहरुलाई विश्वासमा दिलाउने गरेको पाइएको छ ।
यता सशस्त्रले आन्तरिक छानबिन गरिरहेका व्यक्तिलाई फौजदारी कसुरको अपराधमा अनुसन्धान गर्नुपर्ने देखिए प्रहरीलाई बुझाइने प्रवक्ता न्यौपानेले बताएका छन् ।
उनलाई विगतमा चोरी तथा डाँकासम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानुनी कारबाही गरिएको थियो ।
कसले कति रकम बुझाए :
वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदी- १ लाख
हवल्दार राजकुमार लामा- १ लाख ५० हजार
हवल्दार ईश्वर कार्की- ८० हजार
हवल्दार बेदबहादुर तामाङ- १ लाख ५० हजार
हवल्दार कमल बाँनिया- २ लाख
सहायक हवल्दार कुमार आले मगर- १ लाख ५० हजार
सहायक हवल्दार शंकर थापा- १ लाख ५० हजार
जवान यज्ञ खत्री- १ लाख ५० हजार
प्रतिक्रिया 4