
५ फागुन, काठमाडौं । चीनका ३० वर्षीय युनान वाङको चर्चा पछिल्लो पटक संसारभरि चुलिएको छ । वाङले त्यस्तो के काम गरे र उनको चर्चा चुलिएको होला ? प्रश्न स्वाभाविक आउँछ ।
वाङले एउटा यस्तो बिजनेस स्टार्टअप आइडिया फुराए, जसले उनलाई छोटो समयमा सय हुँदै हजार, लाख, करोडपति बनायो र अहिले उनी डलर अर्बपतिको सूचीमा पर्न सफल भएका छन् ।
खासमा वाङ ‘बबल टी’ बेचेर अर्बपति बन्न सफल भएका हुन् । उनले ‘गुडमी’ ब्रान्डको बबल टी बेच्दै आएका छन् । उनी उदीयमान अर्बपति बनेका हुन् ।
चीनको बढ्दो बबल टी बजारमा वाङले बलियो उपस्थिति जनाइरहेका छन् । उनको कम्पनी गुमिङ होल्डिङ्सले हालै हङकङमा जारी गरेको प्रथम सार्वजनिक निष्कासन (आईपीओ) मार्फत २३ करोड ३० लाख अमेरिकी डलर बराबर रकम संकलन भएर नयाँ रेकर्ड कायम भएको छ ।
हङकङ स्टक एक्स्चेन्जमा उनको कम्पनीको आईपीओले उचाइ लिँदा वाङको हिस्साको मूल्य १ अर्ब १० करोड डलर बराबर भएको छ । त्यसबाट करोडपति वाङ एकैचोटि अर्बपति क्लबमा उक्लिन सफल भएका छन् ।
गुमिङ होल्डिङ्सको आईपीओ प्रतिकित्ता १.३ डलरमा बिक्री भएको छ । यो अन्य कम्पनीका सेयर मूल्यको दाँजोमा प्रतिकित्ता ६.४ प्रतिशतले धेरै हो ।
आईपीओको सफलतासँगै वाङको कम्पनीले बबल टी बजारमा उत्कृष्ट पर्फर्मेन्स गरेको छ । यसबाट आगामी तीन वर्षभित्र उनको कम्पनीले ७१ अर्ब डलर बराबर आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।
गोल्डम्यान स्यास ग्रुप इन्कर्पोरेटेड र यूबीएस ग्रुप एजीको नेतृत्वमा वाङ र उनको समूहले गुडमी ब्रान्ड अन्तर्गतको बबल टीले लगानीकर्ताहरूलाई आकर्षित गर्ने दाबी गरिरहेका छन् ।
गुडमी बबल टीको अनौठो रणनीति जसले साना सहर र उदीयमान साना सहर लक्षित गर्ने गर्छ जहाँ यस्तो पेय (बबल टी) सहजै उपलब्ध हुँदैन ।
चीनका बबल टी अर्बपति युनान वाङ को हुन् ?
अर्बपति बन्ने वाङको यात्रा करिब १५ वर्षअघि सुरु भएको थियो । जुनबेला उनले आफू जन्मिएको झेइजियाङ प्रान्तको डाक्सी सहरमा पहिलो बबल टी स्टोर सञ्चालन गरेका थिए । यो सांघाई नजिकैको सहर हो ।
२ लाख हाराहारी जनसंख्या रहेको एउटा सानो सहर डाक्सीमा उनले आँट गरेर बबल टी स्टोर खोलेका थिए । सुरुवातका केही दिन त वाङको स्टोरमा बबल टी खाने एक जना ग्राहक पनि हुन्थेनन् । उनको स्टोरमा बबल टी खान ग्राहक विरलै आउँथे । आएका दिन उनले दिनको १ सय युआन बराबरको बबल टी बेच्थे ।
तर, वाङ यतिमै हार मान्नेवाला थिएनन् । जस्तोसुकै कठिन परिस्थिति सहेर पनि उनले बजारमा उपस्थिति जनाइरहे । त्यसपछि उनको बबल टीबारे बिस्तारै चर्चा हुन थाल्यो ।
वाङको मिहिनेतले एकदिन रङ ल्यायो । उनी बजारमा यसरी उत्रिए कि हाल उनको गुडमी बबल टीको चीनमा १० हजार स्टोर सञ्चालनमा छन् ।
अतिप्रतिस्पर्धी बजारमा मिहिनेतले सफलता हात पारेका वाङको कम्पनी सन् २०२३ मा कुल बिक्री र स्टोर संख्याका आधारमा फ्रेस बबल टी बेच्ने चीनकै दोस्रो ठूलो ब्रान्ड बनेको थियो ।
२०२३ को अन्तिममा वाङको गुडमीले बबल टी बजारमा ९.१ प्रतिशत हिस्सा ओगट्न सफल भएको थियो । यो चीनको उत्कृष्ट पाँच बबल टी ब्रान्ड बनेको थियो । गुडमीले बबल टीमा मूल्य युद्ध सुरु गरेको वाङले त्यसबेला बताएका थिए ।
वाङका अभिभावक पनि म्यानमार सीमा नजिक एउटा सानो व्यापार गरेर बसेका छन् । उनले २०१० मा झेइजियाङ साई–टेक युनिभर्सिटीबाट विज्ञान र इन्जिनियरिङमा स्नातक पूरा गरेका थिए । त्यही वर्ष उनले बबल टीको पहिलो स्टोर खोलेका थिए ।
प्रतिक्रिया 4