
५ फागुन, पोखरा । तनहुँको बन्दीपुर गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरूले दोषीलाई कारबाही गर्दै शान्तिसुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगर्दासम्म सेवा प्रवाह गर्न असमर्थ रहेको बताएका छन् ।
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दिपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले सचिवमाथि कुटपिट गरेका छन् ।
वडाध्यक्ष गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका थिए ।
उक्त घटनाप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आफूहरूमाथि सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन् ।
‘राष्ट्रसेवामा समर्पित र प्रतिवद्ध राष्ट्रसेवक कर्मचारी वडा सचिवमाथि कार्यकक्षमै घाँटी निचोरी मुक्का प्रहार गरी घाइते बनाएको साथै ज्यान मार्ने धम्कीसमेत दिएको निन्दनीय घटनाप्रति यस कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको छ,’ कर्मचारीले विज्ञप्तिमार्फत भनेका छन्, ‘राष्ट्रसेवक कर्मचारीहरुमाथि यस अघि पनि समय समयमा यस्ता अमानवीय, निन्दनीय घटनाहरु तथा हर्कतहरु निरन्तर रूपमा हुँदै आएका छन् ।’
शान्तिपूर्ण, विधिपूर्ण तटस्थतापूर्ण कार्य गर्ने वातावरण नभएको र आफ्नो जीउज्यान माथिको गम्भीर खतराको रुपमा लिएको उनीहरूले बताएका छन् ।
‘कर्मचारीको सुरक्षाको प्रत्याभूति र दोषी उपर कारबाही नभएसम्मको लागि कार्यालयमा अति आवश्यक सेवा प्रवाह बाहेकका अन्य सम्पूर्ण सेवा प्रवाहका कार्य गर्न असमर्थ रहेको अवगत गराइन्छ,’ उनीहरूले विज्ञप्तिमार्फत बताएका छन् ।
यसैगरी तनहुँका कर्मचारी संघ, संगठनहरुले पनि दोषीलाई कारबाही गर्न माग गर्दै प्रशासनदेखि प्रहरी कार्यालयसम्मलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिक्रिया 4