+
+
Shares

स्वाइनी स्वर : कर्णालीका तीन महिलाले सुनाए संघर्षका कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते २२:०५

५ फागुन, सुर्खेत । खस भाषामा स्वाइनीको अर्थ हो, महिला । सोमबार कर्णालीका तीन फरक क्षेत्रका स्वाइनीहरु एकै थलोमा जम्मा भए र आ–आफ्ना संघर्षका कथा सुनाए । कर्णाली उत्सव : कुडा कर्णालीमा महिला आन्दोलन थिममा बोल्न निम्त्याइएका थिए, लक्ष्मीकुमारी बस्नेत, दिलमाया शाही र पुना कामी ।

सुर्खेतकी लक्ष्मी कर्णाली प्रदेशबाट निजामती सेवातर्फ पहिलो महिला सचिव हुन् । उनी हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिव छिन् । जुम्लाकी दिलमाया पत्रकारिता गर्छिन् ।

कालीकोटकी पुना स्थानीयस्तरमा अभियन्ताका रुपमा चिनिएकी छिन् । कर्णालीमा महिला आन्दोलन (स्वाइनी स्वर) मा तीन प्रेरणादायी महिलासँग संवाद गर्दैै थिइन्, द स्टोरी किचनकी जया लुइँटेल ।

हाल नेपाल सरकारकी सचिव लक्ष्मी बस्नेत २०६३ सालमा ११७ पदमध्ये ३६ जना महिला अधिकृतमा पास हुँदा कर्णालीबाट उनी एक्ली थिइन् ।

‘त्यतिबेला छोरी घरबाट धेरै टाढा जानु हुँदैन भन्ने मान्यता थियो, म काठमाडौंमा बसेँ, २०६७ मा एकैपटक सहसचिव पास भएँ, सहसचिव भएपछि विभिन्न मन्त्रालयमा बसेर काम गर्ने अवसर पाएँ,’ उनी भन्छिन्, ‘शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा काम गर्दा द्वन्द्वपीडित महिलाहरुसँग नजिक रहेर काम गर्ने, उनीहरुका दुःख बुझ्ने मौका पाएँ ।’ पछिल्लो समय हरेक क्षेत्रमा महिला नेतृत्व अघि बढेको देख्दा उनी खुसी छिन् ।

दिलमायाले जुम्लामा निर्भिक पत्रकारको पहिचान बनाएकी छिन् । जुम्ली समाजमा महिला, विशेषगरी बालिकाले भोग्नुपरेका विभिन्न दुव्र्यवहारविरुद्ध उनी कलम मात्र चलाउँदिनन्, तिनको न्यायका लागि प्रहरी प्रशासनसमक्ष दबाब दिन समेत पुग्छिन् । उनको साहसिक पत्रकारितालाई कदर गर्दै नेजा पुरस्कार प्रदान गरिएको थियो । १४ वर्षकै उमेरमा बिहे गरेकी दिलमायाले पछौटेपनमा व्याप्त समाजमा बसेर पत्रकारिता गर्नुका संघर्ष सुनाइन् ।

‘महिला तथा बालबालिका कार्यालयले पारालिगल कमिटी बनाएर मलाई अध्यक्ष बनायो, यो कमिटीले घरेलु हिंसाको विषयमा सचेतना दिइन्थ्यो,’ दिलमाया भन्छिन्, ‘मैंले काम गर्दा मसँग आउने घरेलु हिंसामा परेका आमाहरुले हिंसा लुकाउनुहुन्थ्यो । काम गर्दा चोट लागेको भन्नुहुन्थ्यो । परिवारको बेइज्जत हुन्छ भनेर हिंसा लुकाएको पाएँ । विस्तारै मैले आफ्नै जीवनमा पनि हिंसा खेपेँ ।’

पारालिगल कमिटीमा महिला हिंसाका घटना देखेपछि दिलमाया पत्रकारितातर्फ आकर्षित भइन् । पत्रकारिताकै माध्यमबाट समाज सुधार गर्नुपर्छ भन्ने निष्कर्षमा पुगिन् ।

दिलमायाको बुझाइमा अन्यायमा परेका महिला र बालबालिकालाई न्याय दिन र सशक्त बनाउन राज्यले जति काम गर्नुपथ्र्यो, त्यति भएको छैन । ‘महिलाहरु घरभित्रै बस्नुपर्छ, लजाउनुपर्छ भन्ने मान्यता समाजमा अहिले पनि छ,’ उनी भन्छिन्, ‘यसले महिलालाई सामाजिक क्षेत्रमा काम गर्न केही चुनौती छ । पत्रकारिताका माध्यमबाट पनि समाजलाई धेरै योगदान पुर्‍याउन सकिन्छ ।’

अभियन्ता पुना कामीले सशस्त्र द्वन्द्वका बेला महिलामाथि हुने ज्यादतीविरुद्ध कालीकोटमा बसेर काम गरेको अनुभव सुनाइन् । ‘घरभित्र गोली आउन थालेपछि हामीले राज्य पक्षको बन्दुक खोस्यौं । महिलाले द्वन्द्वमा धेरै पीडा भोगे, तर अझैं न्याय पाएका छैनन्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?