
हामीले कहिल्यै सोचेका थियौं- बगैँचा सजाउन अन्यत्रबाट ल्याइएको एउटा सामान्य वनस्पति कुनै दिन यति भयावह रुपमा फैलेला ? आफ्नो सोख पूरा गर्न ल्याइएको वनस्पति यहाँका रैथाने वनस्पति, पर्यावरण र सम्पूर्ण प्रकृतिमाथि नै खतरा बन्ला ?
मलाई लाग्छ, मानिसले त्यति परसम्म सोच्दैन । जसको कारण प्रकृतिले प्रत्येक जीवहरुलाई दिएको उत्पत्ति र फैलावटको सिमानाभन्दा पर जीवजन्तु र वनस्पतिको ओसारपसार मानव सभ्यताको अभिन्न अंग बनेको छ । तर मानिस लगायत सम्पूर्ण जनावर तथा बोट-बिरुवा सबैको आ-आफ्नो प्राकृतिक वितरणको दायरा हुन्छ ।
यसको अर्थ जुन ठाउँको वातावरणमा हुर्कन सक्ने अनुकूलन क्षमता प्रजातिले हासिल गर्छन्, त्यस्ता प्रजातिहरु उक्त स्थानमा प्राकृतिक रुपमै उत्पति हुन्छन् वा त्यहाँको वातावरण अनुकूल आफूलाई बदल्दै जान्छन् र स्थापित हुन्छन् । त्यसैले उत्पत्तिस्थलमा प्रजाति रैथाने हुन्छ र त्यसभन्दा अन्यत्र गएपछि वाह्य प्रजाति बन्दछ ।
उदाहरणको लागि सिस्नु, ऐंसेलु जस्ता वनस्पतिको प्राकृतिक वितरणको दायरा एसिया महादेशलाई मानिन्छ । जुन हाम्रा रैथाने प्रजाति हुन् । तर कालो वनमारा, निलो गन्धे जस्ता वनस्पतिको उद्भव दक्षिण अमेरिकालाई मानिन्छ । त्यसैले कालो वनमारा, निलो गन्धे जस्ता वनस्पतिहरु हाम्रा लागि वाह्य प्रजाति हुन् ।
तर, अहिलेको विश्वव्यापीकरणको समयमा एक ठाउँको मान्छे अर्को ठाउँ पुग्ने र आफूसँगै विभिन्न वस्तुहरु ओसारपसार गर्ने हुँदा थुप्रै बोट-बिरुवा तथा जनावरहरु हामीसँगै चाहेर होस् या नचाहेर उनीहरुको उत्पति स्थानभन्दा बाहिर ल्याइए र कालान्तरमा उक्त प्रजाति वाह्य वातावरणमा पनि स्थापित हुन सफल भए । जुन कुरा प्राकृतिक हिसाबले छोटो समयमै हुन असम्भवप्राय: छ ।

जब अन्यत्रबाट ल्याइएका बाह्य प्रजातिहरु अन्य प्रजातिका लागि हानिकारक बन्छन्, तिनलाई वाह्य मिचाहा प्रजाति भनिन्छ । जस्तै: आलु हाम्रो रैथाने वनस्पति नभएर वाह्य प्रजाति हो । तर त्यसले परिस्थितिकीय प्रणालीमा नकारात्मक असर पार्दैन । निलो गन्धे पनि वाह्य प्रजाति नै हो तर त्यसले पारिस्थितिकीय प्रणालीमा नकारात्मक असर पार्छ । त्यसैले निलो गन्धे वाह्य मिचाहा प्रजाति हो ।
वाह्य मिचाहा प्रजाति स्वभावत: उग्र हुन्छन्, यिनीहरुको नयाँ ठाउँमा स्थापित हुने र प्रजनन क्षमता बढी हुन्छ । त्यस कारण रैथाने प्रजातिमाथि तत्काल हावी हुन्छन् । त्यस्ता प्रजातिहरु ज्यादातर फैलिएर हाम्रो जैविक विविधता, परिस्थितिकीय प्रणाली र मानव स्वास्थ्य तथा सेवा-सुविधाहरुमा समेत गम्भीर प्रभाव पार्छन् । जसका कारण विश्वलाई नै वार्षिक लाखौंको आर्थिक तथा वातावरणीय क्षति व्यहोर्न परिरहेको छ ।
वाह्य मिचाहा प्रजातिहरु नेपालमा मात्र होइन, विश्वभरि नै जैविक विविधता, कृषि र अर्थतन्त्रको लागि समस्याको सूचीमा अग्रपंक्तिमा पर्छन् । विश्वभर रैथाने जैविक विविधता ह्रास वा नाश हुनुको दोस्रो मुख्य कारणको रुपमा वाह्य मिचाहा प्रजातिहरूलाई मानिन्छ । त्यसैले दिगो विकासका लागि मिचाहा प्रजातिको रोकथाम र व्यवस्थापन अपरिहार्य छ, जुन कुरा संयुक्त राष्ट्र संघको जैविक विविधता महासन्धिका लक्ष्यहरुमा पनि समावेश गरिएको छ ।
वाह्य मिचाहा प्रजातिहरु वातावरणीय रुपमा मात्रै होइन, आर्थिक तथा सामाजिक सबै हिसाबले हाम्रा लागि अनुपयोगी छन् । तर भनिन्छ, संसारका हरेक वनस्पतिको केही न केही उपयोग भने छ ।
त्यसैले, नेपालमा भित्रिएका केही मिचाहा प्रजातिको थोरैतिनो फाइदा स्थानीयले लिएको पाइन्छ । जसको कारण यी वनस्पतिहरु प्राकृतिक स्रोतका रुपमा स्थापित भइरहेका छन् र स्थानीयहरुले त्यसलाई सघाइरहेका छन् । जस्तै: दक्षिण अमेरिकाको रैथाने वनस्पति कालो वनमारा, जुन सन् १९२४ तिर शोभनीय बिरुवाको रुपमा भारत हुँदै सन् १९५० को दशकतिर भारतबाटै नेपाल भित्रिएको मानिन्छ । उक्त वनस्पति पूर्वी नेपालका पहाडी भेगहरुमा बाख्राको लागि हिउँदे घाँस तथा सोत्तरको रुपमा प्रयोग गरिन्छ ।
पाँचथर जिल्लामा स्थलगत अध्ययनका क्रममा एकजना स्थानीयले हामीसँग कालो बनमारा आफ्नो बुंगुर पालनको मुख्य आधार (सोत्तर) भएको कुरा बताउनुभएको थियो । उहाँले हामी त्यसैको अध्ययन टोली भन्ने थाहा पाएर त्यसलाई नहटाइदिन आग्रह गर्नुभएको थियो ।
त्यसैगरी कोशीटप्पु वन्यजन्तु आरक्ष छेउछाउका वस्तीहरुमा त विश्वकै अति हानिकारक लहरे बनमारा र सेतो बनमारालाई गाईवस्तुको हिउँदे आहाराको रुपमा प्रयोग गर्ने गरेको पनि भेटियो । कोशी बगरमा घाँस काट्दै गरेकी रमिला देवीले (नाम बदलिएको) भन्नुभएको कुरा अझै सम्झना छ, ‘चिसोमा अरु घाँस सुक्छ तर वनमारा सजिलै पाउन सकिन्छ, अनि जंगली जनावरको डर र आरक्षको निषेधका कारण जंगल भित्र पस्न सकिँदैन । त्यसैले बनमारा काटेर नै गाई-बाख्रा पाल्छौं ।’ त्यस्तै, धेरै ठाउँमा वनमारालाई काटेको घाउ निको पार्न पनि प्रयोग गर्ने गरिएको भेटिन्छ ।
यसैगरी कतिपय ठाउँमा त विश्वकै अति खराब १०० मिचाहा प्रजातिको सूचीमा पर्ने काँडे वनमारा अनि जलकुम्भी समेतलाई शोभनीय बिरुवाको रुपमा बगैँचामै रोपेको अनि कतिपय नर्सरीले उक्त बिरुवा बिक्री-वितरण गर्ने गरेको पनि पाइन्छ ।
यति मात्र नभएर चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बीसहजारी ताल र तराईका धेरै सिमसार क्षेत्रहरुमा जलकुम्भी फुलेपछि त्यसको सौन्दर्यको मजा लिने, फोटो खिच्ने अनि टिकटक बनाउनेको भिड पनि देख्न सकिन्छ । र, टिकटक बनाउनेहरुले उक्त बिरुवालाई आफैँले सार्नको लागि लैजाने गरेको पनि पाइन्छ ।
त्यसैले वाह्य मिचाहा प्रजातिका सीमित फाइदालाई हेरेर स्थानीय मात्रै होइन, नीति-निर्माताहरु समेत यसलाई उपयोग गर्नुपर्ने कुराको वकालत गर्छन् ।
विज्ञानले मिचाहा प्रजातिको नकारात्मक पक्षलाई मात्र जोड दिन्छ भन्ने आरोप पनि लाग्दै आएको छ । तर स्थापित तथ्य के हो भने, यसको फाइदाको तुलनामा बेफाइदा ज्यादा छ । हामी बिस्तारै मिचाहा प्रजातिसँग अनुकूलन हुँदै गरेको भए पनि (औषधिको रुपमा, सोत्तर र घाँसको रुपमा प्रयोग गर्ने गरेर) हाम्रो पारिस्थितिकीय प्रणाली भने अनुकूलन भइरहेको छैन ।
मिचाहा प्रजातिले गर्दा जंगलको पुनरुत्पादन क्षमतामा गिरावट आएको छ । उदाहरणको लागि, काँडे वनमाराको झ्याँङमुनि रैथाने प्रजातिका बिरुवाको पुनरुत्पादन देखिँदैन वा एकदमै न्यून हुन्छ । यसले भोलिका दिनमा पाका रुखहरु सुकेर गए भने ती प्रजातिका रुख नै लोप हुने अवस्था आउन सक्छ । अन्ततः हाम्रा वनहरू हरियो मरुभूमिमा (देख्दा हरियो तर काम लाग्ने केही नभएको) परिणत हुने खतरा बढेर गएको छ ।
मिचाहा प्रजातिले गर्दा नै आगलागीको प्राकृतिक दर र मात्रामा परिवर्तन आएको छ । कृषि क्षेत्रमा लागत बढेसँगै उत्पादन घटेको छ । साथै तालतलैया, घाँसे मैदानहरु मिचाहा प्रजातिको अतिक्रमणमा परी यसले प्रदान गर्ने सेवा-सुविधामा कमी आएको छ । त्यस कारण मिचाहा प्रजातिको नाफाको बारेमा सोच्दा घाटाबारे पनि मनन गर्न जरुरी छ ।
अस्ट्रेलियाको रैथाने प्रजाति मसलाले मिचाहा बनेर दक्षिण अफ्रिकाका धेरै देशको स्थानीय जैविक विविधतालाई असर पारिरहेका थुप्रै तथ्यहरु पढ्न पाइन्छ । हाम्रो देशमा पनि त्यहाँबाटै भित्र्याइएको मसलालाई चाँडै बढ्ने काठको रुपमा रोप्ने व्यापक प्रचलन छ । खुसीको कुरा, नेपालमा अझै मसलाको प्राकृतिक पुनरुत्पादन र फैलावट देखिएको छैन । तथापि, यसको खेती गरिएका तराईका विभिन्न जिल्लाका जमिनमा सुख्खापन बढाएको स्थानीयहरू बताउँछन् ।
कति मिचाहा प्रजाति हाम्रा औषधि भएका छन्, कति घाँस त कति शोभायमान वनस्पति अनि कति काठ दाउरा । तर जुन-जुन रुपमा प्रयोग भए पनि ती वनस्पतीहरुले गर्ने हानिको तुलनामा लाभ ज्यादै न्यून हो ।
अध्ययनहरुका अनुसार, पूर्वी नेपाल जसलाई हामी मिचाहा प्रजाति भित्रने द्वार पनि भन्छौं, यहाँ यस्ता प्रजाति सबैभन्दा पहिला देखापर्ने गरेको पाइन्छ । त्यसैले यहाँका मानिस यस्ता मिचाहा प्रजातिहरूसँग स्वभावतः छिट्टै अभ्यस्त हुन्छन् ।
पूर्वी नेपालमा कालो बनमारा राम्रो घाँस तथा सोत्तर भए पनि पश्चिम नेपालतिर भर्खर-भर्खर देखापर्न थालेको यस वनस्पतिले गर्दा थुप्रै रैथाने घाँस तथा जडिबुटीहरु हराएको स्थानीयहरु सुनाउँछन् ।

योसँगै कालो बनमारा धेरै खाँदा वस्तुको आन्द्रा कमजोर हुने र मासु समेत तितो हुने किसानको अनुभव छ । त्यसैगरी जलकुम्भीले पोखरी लगायतका सिमसारमा बस्ने जलचर प्राणीका लागि पानीमा अक्सिजनको मात्रा घटाउनुका साथै समग्र सिमसारको स्वास्थ्यमा नकारात्मक परिवर्तन गरिदिन्छ । जलकुम्भी प्रकोपको असर पोखराका फेवाताल लगायतका तालहरुमा सहजै देख्न सकिन्छ ।
हामीले विदेशी विमानस्थलहरुमा हाम्रा झोलामा भएका वनस्पतिका फूल, फल वा अन्य जीवित वस्तुहरुको खानतलासी गर्ने, नष्ट गरिदिने र बोकेर हिँड्नेलाई कारबाही गरेको देखेका छौं । त्यसको मुख्य उद्देश्य नै यस्ता प्रजातिहरुलाई फैलन नदिनु हो । हाम्रा देशका नाकाहरुमा यस्तो कडा व्यवस्था नभएकै कारण यहाँ मिचाहा प्रजातिहरु भित्रिने र द्रुत गतिमा फैलिरहेका छन् ।
यसका साथै मानवकै असीमित चाहना अनि विदेशी वस्तुप्रतिको मोहले पनि मिचाहा प्रजाति भित्र्याउनमा ठूलो भूमिका खेल्छन् । हाम्रै रैथाने सुनगाभा र लालीगुँरास फूलको साटो जलकुम्भी अनि जंगली सूर्यमुखी जस्ता आयातित शोभनीय बिरुवा किन चाहिन्थ्यो र !
पूर्वी नेपालको झापा र मोरङ जिल्लामा चार वर्षअघि मात्र रेकर्ड गरिएको उल्टा काँडा नामक मिचाहा वनस्पतीलाई त कुनै परियोजनाले नदी कटानको समस्या हल गर्न स्थानीय सामुदायिक वनलाई वितरण गरेको जानकारहरु बताउँछन् ।
वातावरणीय प्रभावलाई बेवास्ता गरी सीमित र क्षणिक लाभलाई केन्द्रमा राखेर मिचाहा प्रजातिको प्रवर्द्धन गर्नु ठूलो मुर्खता हुनेछ । एक पटक वाह्य प्रजातिहरु स्थापित भएर मिचाहा भए भने त्यसले ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याउँछ । जुन कुरा नेपाल र बाहिर गरिएका अध्ययनहरुले स्थापित गरेको छ । त्यसैले अहिलेको अवस्थामा मिचाहा प्रजातिबाट पाइने क्षणिक सुविधालाई सर्वोपरी ठानी, यिनीहरुको उचित व्यवस्थापनप्रति हामी सचेत नहुने हो भने कालान्तरमा ठूलो मूल्य चुकाउन पर्ने निश्चित छ ।
त्यस कारण, वाह्य मिचाहा प्रजातिको उचित बुझाइ र प्रभावकारी व्यवस्थापनका लागि यसका फाइदा र बेफाइदाहरुलाई समावेश गर्ने एकीकृत दृष्टिकोण अत्यावश्यक छ । साथै वाह्य मिचाहा प्रजातिको नकारात्मक प्रभावको बारेमा, यसले वातावरण र जैविक विविधतामा पार्ने हानिको बारेमा किसानदेखि टिकटक बनाउनेसम्म जनचेतना जगाउन आवश्यक छ ।
(त्रिभुवन विश्वविद्यालयमा बोटनीमा स्नातकोत्तर गरेकी चौधरी हाल ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजमा रिसर्च एसोसिएटको रुपमा कार्यरत छिन् ।)
प्रतिक्रिया 4